प्रतिजैविक प्रतिरोधका कारण बर्सेनि करिब ७ लाख जनाको मृत्यु
काठमाडौँ । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालजस्ता विकासोन्मुख देशमा प्रतिजैविक प्रतिरोधको प्रभाव अझै गम्भीर हुने जनाएको छ ।
विश्व स्वास्थ्य संगठन अनुसार सुधारका उपायहरू नअपनाएमा यो संख्या सन् २०५० सम्म १ करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति १०० ट्रिलियन अमेरिकी डलर बराबर हुन सक्ने अनुमान गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार संक्रमणको उपचारमा प्रयोग हुने औषधि, विशेषगरी एन्टीबायोटिक्स, प्रभावहीन हुँदै जानु नै प्रतिजैविक प्रतिरोध हो । यस समस्याले रोगको उपचार कठिन बनाउँदै लगेको छ । जसले मानव स्वास्थ्य, पशु स्वास्थ्य, र वातावरणमा गम्भीर असर पुर्याइरहेको मन्त्रालयको भनाइ छ । पछिल्ला केही वर्षयता प्रतिजैविक प्रतिरोध विश्वव्यापी चुनौतीका रूपमा देखा परेको मन्त्रालयले जनाएको छ ।
एन्टीबायोटिक्सको दुरुपयोग र अनावश्यक प्रयोगका कारण रोग गराउने जीवाणुहरूमा प्रतिरोध क्षमता विकसित हुँदै गएको विज्ञप्तिमा उल्लेख छ । यसले गर्दा त्यस्ता जीवाणुहरूले गराउने रोगहरूको उपचार झन् कठिन र प्रभावहीन बन्दै गएको छ ।
यो जटिल समस्याको समाधानका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा, र वातावरण क्षेत्रको सामूहिक पहल गर्नुपर्ने मन्त्रालयको आग्रह छ । यसका लागि ‘एक स्वास्थ्य’ अवधारणालाई प्रतिजैविक औषधिको उचित प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिजैविक प्रतिरोधबारे सचेतना फैलाउन र रोकथामका उपायहरू प्रोत्साहित गर्न हरेक वर्ष नोभेम्बर १८–२४ का बिचमा विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाइन्छ । यस वर्ष ‘प्रतिजैविक प्रतिरोधः बुझौँ, बुझाऔँ, आजैदेखि रोकथाममा जुटौँ ’ नाराका साथ सो सप्ताह मनाइँदै छ ।