सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘अग्निदहन’ फिल्म र अभियान दुबै हो : निर्देशक लामिछाने

सोमबार, ०३ मङ्सिर २०८१, १४ : ४०
सोमबार, ०३ मङ्सिर २०८१

काठमाडौँ । निर्देशक घनश्याम लामिछानेले ‘अग्निदहन’ फिल्म र अभियान दुबै भएको बताएका छन् । 

सोमबार काठमाडौँमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले ‘अग्निदहन’ व्यावसायिक हिसाबले भन्दा पनि मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाउन निर्माण गरेको बताए । फिल्मले सन्देशको अलवा दर्शकलाई भरपुर मनोरञ्जन दिने उनको भनाई छ ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्मले दर्शकमा चेतनाको बिस्तार गर्ने निर्माण युनिटले बताएको छ ।

कार्यक्रममा फिल्मका प्रस्तुतिकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरुले फिल्म बनाएको बताए । ‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौँ । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेलाबेलामा सार्वजनिक भइरहन्छन् । हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौँ’, उनले भने ।

फिल्मकी कलाकार प्रमिला तुलाचनले आफूले ‘बोक्सी’ को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिँदै त्यो चरित्र अध्ययन गर्न सुकुम्वासी बस्ती पुगेको खुलाइन् ।

‘मैले निर्वाह गरेको चरित्र निकै चुनौतीपूर्ण थियो । समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु’, उनले भनिन् ।

अर्की कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताइन् । ‘फिल्ममा मलाई धामीले फलाम डामेको दृश्य छ । त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो । बोक्सीको आरोप लागेका महिलालाई साँच्चै धामीले त्यसरी डाम्दा उनीहरूलाई झन् कति पिडा भयो होला’, उनले भनिन् ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।

यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।

नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप