बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

गेटालाई सुदूरपश्चिम प्रदेशको मेडिकल विश्वविद्यालय बनाउन सरकारलाई आग्रह

सोमबार, ०३ मङ्सिर २०८१, १३ : ४९
सोमबार, ०३ मङ्सिर २०८१

बेलायत । बेलायतमा कार्यरत वरिष्ठ चिकित्सक प्राडा चेतराज पन्तले  सुदूर पश्चिम प्रदेशमा जति सक्दो चाँडो मेडिकल विश्वविद्यालय  खोल्न सरकारलाई आग्रह गरेका छन्।  हाल बेलायतको भ्रमणमा रहेका नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा पन्तले  सुन्दर सुदूर पश्चिम कम्युनिटी युकेद्वारा गत शनिवार आयोजित एक अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवाका हिसाबले निकै पछाडि रहेको सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा सर्वसुलभ गर्न तत्काल चिकित्सा विश्वविद्यालय खोल्न आग्रह गरेका हुन् । 

वरिष्ठ नेत्र चिकित्सक प्रा पन्तले नेपाल सरकारले गत वर्ष सङ्घीय संसदमा पेस गरेको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस हुने क्रममा रहेको जनाए ।  गेटा मेडिकल कलेज प्रवर्द्धन तथा विकास समितिका पूर्व अध्यक्ष समेत रहेका प्रा पन्तले  उक्त विधेयक संसद्को यसै हिउँदे सत्रबाट पारित गरी दिन सम्पूर्ण राजनीतिक दल र सांसदहरूलाई आग्रह पनि गरे।  

नेपाल सरकारले मेडिकल कलेज स्थापना गर्न भनेर तोकेको कैलाली गेटास्थित मेडिकल कलेजलाई नै मेडिकल विश्वविद्यालय बनाउन सबै सुदूरपश्चिमवासी एकमत रहेको पनि उनले जनाए ।   

‘७२ बिगाहा  क्षेत्रमा फैलिएको गेटामा ६०० विद्यार्थीको पठन पाठन गर्न शैक्षिक भवन, प्राध्यापक निवास, प्रशासनिक भवन, अतिथि गृह, क्यान्टिन लगायतका पूर्वाधारहरू बनिसकेका छन् वा बन्ने क्रममा छन्।  विश्वविद्यालय बन्यो भने हाल सञ्चालनमा रहेको गेटा आँखा अस्पताललाई हामीले विश्वविद्यालयको आँखा विभागको रूपमा हस्तान्तरण गर्नेछौँ’ प्रा पन्तले भने।  

विश्वविद्यालयको सञ्चालन खर्च 

अहिले नेपाल सरकारले विभिन्न चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानहरूको लागि जति रकम दिने गरेको छ, त्यति नै रकम दिएमा आवश्यक थप श्रोत खोजेर सुदूरपश्चिम चिकित्सा विश्वविद्यालय सञ्चालन गर्न सकिने प्रा पन्तले जनाए।  विश्वविद्यालय बन्नासाथ विशेषज्ञ फ्याकल्टीको अभाव नहुने पनि उनले जिकिर गरे। 

विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएको एक वर्षभित्रै कम्तीमा ५० जना विद्यार्थी लिएर एमबीबीएस कक्षा सञ्चालन गर्न सकिने तथा एमबीबीएस बाहेक ‘एलाइड हेल्थ साइन्स’ अन्तर्गत ल्याब, नर्सिङ लगायत १५ ओटा  विधामा विश्वविद्यालयले आफै कक्षा सञ्चालन गर्न सक्ने पनि उनले बताए। 

‘यो विश्वविद्यालयको पाठ्यक्रम ‘कम्युनिटी बेस्ड मेडिकल एजुकेसन’ मा आधारित हुनेछ।  हाम्रा विद्यार्थी र प्राध्यापकहरू समुदायमै गएर पढ्ने छन् र सिक्नेछन्।  सुदूरपश्चिम प्रदेशका सबै जिल्ला अस्पतालहरूमा विशेषज्ञ सेवा उपलब्ध हुनेछ। अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्नुका साथै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एउटा अनुसन्धान केन्द्रको रूपमा पनि काम गर्नेछ,’  उनले भने। 

प्रा पन्तका अनुसार नेपालमा कूल शिशु मृत्यु दरप्रति हजार २५ रहेकोमा सुदूरपश्चिम प्रदेशमा प्रति हजार ५० रहेको छ ।  त्यस्तै नेपालमा ५ वर्ष मुनिका बालबालिकाको औसत मृत्यु दर प्रति हजार ३३ रहेकोमा सुदूरपश्चिम प्रदेशमा प्रति हजार ९० रहेको छ। नेपालमा प्रति एक लाखमा मातृ मृत्यु दर औसत १८६ रहेकोमा सुदूरपश्चिम प्रदेशमा भने ३०० प्रति एक लाख रहेको छ ।  

‘सुदूर पश्चिम क्षेत्रका स्वास्थ्य सूचकहरू अहिले नेपालको औसत सम्म ल्याउन पनि हामीलाई  एउटा शक्तिशाली तथा स्वायत्त चिकित्सा विश्वविद्यालय चाहिएको हो,’ उनले भने। 

सुन्दर सुदूरपश्चिम कम्युनिटी  युकेका अध्यक्ष खेम राज जोशीले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा अझै पछाडि परेको सुदूरपश्चिम प्रदेशमा चिकित्सा विश्वविद्यालय खोल्न आफूहरूले सक्दो सहयोग गर्ने वाचा गरे।  उक्त अन्तरक्रियामा विभिन्न वक्ताहरूले आफ्नो धारणा राखेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप