बैंकको लिलामी सूचनापछि रूप ज्योतिले भने– पर्याप्त स्रोत छ, तिर्न समय लाग्छ
काठमाडौँ । दाजुभाइबिच सम्पत्ति विवाद बढ्दै गएपछि ज्योति समूहका रूप ज्योति आर्थिक रूपमा अप्ठ्यारोमा पर्न थालेका छन् ।
साँवा र ब्याज नियमित गर्न नसकेपछि नेपाल बैंक लिमिटेडले कार्तिक २९ गते रूप ज्योतिको सम्पत्ति लिलामीको ३५ दिने सूचना निकालेको थियो ।
नेपाल बैंकको कान्तिपथ शाखाले उनको स्वामित्व रहेको ग्राण्डी सिटी अस्पताल र नेपाल जनरल मार्केटिङ प्रालिका नाममा रहेको सावाँ ब्याज समयमै भुक्तानी गर्न आउन र अन्यथा कानुनअनुसार लिलामी हुने सूचना प्रकाशित गरेको थियो ।
नेपाल जनरल मार्केटिङ प्रालि केही महिना अघिसम्म हिरो मोटरसाइकलको आधिकारिक आयातकर्ता तथा वितरक थियो । तर व्यवसाय गर्न नसकेको भन्दै भारतीय कम्पनी हिरोले उक्त अधिकार अहिले नेपालमा सिजी ग्रुपलाई दिएको छ ।
हिरो मोटरसाइकलको आयातकर्ता तथा वितरक सम्झौता खारेज गरेको कारण देखाइ नेपाल बैंकले सबै कर्जा चुक्ता गर्न ताकेता गरेको रूप ज्योतिले दाबी गरेका छन् । नेपाल बैंकले निकालेको लिलामीको सूचनामा आपत्ति जनाउँदै रूप ज्योतिले कर्जाबारे जानकारी गराउँदै असोज २३ गते नेपाल बैंकको सञ्चालक समितिलाई पत्र पठाएको बताएका छन् । पत्रको जवाफ नपाउँदै ऋण तिर्न सार्वजनिक सूचना जारी गर्न बैंकले दबाब दिएको ज्योतिले बताएका छन् ।
ज्योति समूहको नाममा विज्ञप्ति जारी गर्दै रूप ज्योतिले आफ्नो समूहले अहिलेसम्म ८७ करोड १६ लाख रुपैयाँ साँवा र सोको ब्याज १४ करोड ४० लाख रुपैयाँ तिरेको दाबी गरेका छन् । आफूले लिएको ऋण तिर्ने समय २०२४ को डिसेम्बर २४, २०२५ को जुलाई १५ र २०३४ को जनवरी १३ सम्म रहेको रूप ज्योतिले जनाएका छन् ।
उनले आफ्नो समूहसँग कर्जा तिर्न पर्याप्त सम्पत्ति र स्रोत भएको दाबी गर्दै त्यसका लागि केही समय लाग्ने जानकारी गराएका छन् । दाजुभाइ पद्म र रूप ज्योतिको अंश विवाद अहिले चर्केको छ । झगडाका कारण ज्योति समूहको व्यापार ओरालो लाग्दो छ ।
नेपाल बैंक लिमिटेड कान्तिपथ शाखाका प्रबन्ध गणेशकुमार खत्रीले नियमित साँवा र ब्याज तिरिरहेको कम्पनी वा व्यक्तिका नाममा बैंकले ताकेताको सूचना जारी गर्न नमिल्ने बताउँछन् । उनले भने, ‘तिरिरहेको भए बैंकले कसैको नाममा सार्वजनिक सूचना जारी गर्न सक्दैन । हामीले कानुनअनुसार गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘म सिंगल छु’ भन्ने पूर्वप्रेमी अर्जुनलाई मलाइकाले फर्काइन् जवाफ
-
५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
-
झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार
-
नेटफ्लिक्समा आयो स्कुइड गेम्सको दोस्रो सिजन
-
वरुणको बेबी जोनमाथि पुष्षा २ हाबी, कति कमायो चलचित्रले ?
-
‘बक्सिङ डे’ टेस्टमा जिम्बाबेका म्याच रेफ्री एन्डी पाइक्रफ्टको नाममा बनेको यो कीर्तिमान !