बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
सुन तस्करी

३ किलो सुन तस्करी र अपहरणमा पक्राउ परेका नुर्पुसिंगी रसुवा कांग्रेसका कोषाध्यक्ष

सोमबार, ०३ मङ्सिर २०८१, १३ : २८
सोमबार, ०३ मङ्सिर २०८१

काठमाडौँ । रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन बाटोमा ‘गायब’ भएपछि कन्टेनर चालकलाई अपहरण गर्नेमा रसुवा कांग्रेसका जिल्ला नेता संलग्न भएको भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको नुर्पुसिंगी तामाङ नेपाली कांग्रेस रसुवाको जिल्ला कार्य समितिका कोषाध्यक्ष हुन् ।

३८ वर्षीय नुर्पु रसुवाको गोसाईंकुण्ड गाउँपालिका–१ भार्खुका स्थानीय हुन् । नुर्पुसहित ४ जना मिलेर कन्टेनर चालक रामकृष्ण वाइबा र उनको मामाको छोरा निमा छिरिङ तामाङलाई अपहरण गरेर बुढानकिलण्ठस्थित शैलजा रिसोर्टमा लगेर कुटपिट गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृत भन्छन्– ‘घटनास्थलमा नुर्पुसिंगी तामाङको उपस्थिति देखिन्छ ।’

नुर्पु सहितका ४ जना कार्तिक ३० मा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–१ थुमन घर भएका बुद्धिबहादुर तामाङ, गोसाईंकुण्ड–६ धुन्चे घर भएका टेम्पा नुर्पु तामाङ र कालिका गाउँपालिका–१ राम्चे घर भएका गोपाल तामाङ छन् । आरोपीहरू सबैजना नेपाली कांग्रेसमा आबद्ध रहेको भेटिएको छ ।

बुद्धिबहादुर तामाङ रसुवा कांग्रेसको जिल्ला समिति सदस्य हुन् । उनी यसअघि पनि सुन तस्करीमा जेल परेर छुटेका थिए । ४४ वर्षीय टेम्पा नुर्पु तरुण दल रसुवाको जिल्ला समिति सदस्य हुन् । गोपाल तामाङ २०७४ को स्थानीय तह निर्वाचनमा कालिका गाउँपालिका वडा नम्बर–१ बाट वडा अध्यक्षको चुनाव लडेका थिए । नुर्पुसिंगी सहित चारै जना सुन ल्याउने समूहमा आबद्ध रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

साउन २४ मा केरुङबाट तस्कर समूहले कन्टेनरको चालक सिटभन्दा माथिको बत्तीमा सुन लुकाएर पठाएका हुन् । कन्टेनरमा अंगुर लोड गरिएको थियो । कन्टेनरमा सुन ल्याएको कुरा चालकले उनका मामाका छोरा निमा छिरिङलाई भने । निमा छिरिङले आफूले चिनेको प्रहरीका एक जना असईलाई जानकारी गराए । असई प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । असईले राजस्व अनुसन्धान विभागलाई जानकारी दिएको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।

राजस्व अनुसन्धान विभागबाट खटिएका सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले कन्टेनर काठमाडौँमा आइपुगेपछि सर्च गर्दा सुन फेला परेन । त्यसपछि रामकृष्ण र निमा ३१ दिन राजस्व अनुसन्धान विभागको हिरासतमा बसेर छुटे । राजस्वले सुन लुटेरा फेला पार्न सकेन । छुटेपछि तस्कर समूहले उनीहरूलाई अपहरण गरेका हुन् । रामकृष्णले राजस्व अनुसन्धान विभागका अधिृकतहरुसँग भनेका छन्– ‘खानी खोलाभन्दा माथि पुगेपछि ४ जना आएर सुन लुटेर भागे ।’

लुटिएको सुन निकाल्न नुर्पुसिंगीको समूहले रामकृष्ण र निमालाई अपहरण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

लुटेरा खोज्दै प्रहरी

सुन लुटेराबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । निमाले सुराक दिएका प्रहरीका असईको भूमिका पनि शङ्कास्पद देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । असईमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रसुवाबाट सुन ल्याउने समूहले रामकृष्ण र निमालाई जनही २० लाखको चेक काट्न लगाएर अपहरण मुक्त गरेको उनीहरुले प्रहरीलाई बताएका छन् । घटना बाहिरिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन ल्याउने समूहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप