‘ब्रेन ड्रेन’ कि ‘लेबर ड्रेन’ ?
राजनीतिक परिवर्तनका अनेकौँ शृंखलापछि पनि देशले विकासको अपेक्षित गति लिन नसकेकामा सबैलाई चिन्ता छ । सरकार र सत्तासीन नेतृत्व परिवर्तन त भयो, तर नागरिकको आर्थिक अवस्था सुधारिएन, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषय व्यापार बन्न गए । त्यसैले समाजमा मनोवैज्ञानिक अमनचयन कायम हुन नसक्दा देशको उन्नयनमा ह्रास आएको भन्दै आम नैराश्यता अकासिँदो छ ।
इतिहासको कुनै कालखण्डमा छिमेकी देश भारत र चीनभन्दा हाम्रो अवस्था निकै सबल थियो भन्ने देखिन्छ । हामीकहाँ प्रजातन्त्र आउँदा भारत र चीन क्रमशः बेलायती उपनिवेश र मन्चु वंशको अप्रजातान्त्रिक तानाशाही शासन शैलीबाट मुक्त भएको धेरै भएको थिएन ।
दक्षिण एसियाका अन्य धेरै देश उस्तै परिस्थितिबाट गुज्रिएको देखिन्छ, तर पछिल्लो तीन दशक जसरी अन्य देशले परिवर्तन र प्रगतिको बहाव निर्माण गरे, त्यसको तुलनाामा हामी अलिक दूर र दुर्गममै रहेका छौँ । यसमा स्वयं हरेक दलका आधारदेखि उच्च तहका सबै नेता सहमत भएको सुनिन्छ ।
हामीकहाँ विज्ञता पलायनभन्दा श्रमशक्तिको पलायन (लेबर ड्रेन)चाहिँ निकै पेचिलो बन्दै छ । आज देशमा सामान्य काम गर्ने श्रमशक्तिको अधिक खाँचो छ । अबको बहस ‘लेबर ड्रेन’ माथि होस् र हुनुपर्छ ।
लोककल्याणकारी राज्य निर्माण र विकासको गतिशीलता सबै राजनीतिक दलका नेता तथा वक्ताले अनवरत रूपमा उठान गरेको विषय हो । देश निर्माणका लागि अब विदेश गएर बसेका क्षमतावान् व्यक्तिलाई देशमा फर्काउनुपर्छ भन्ने सुगा रटान सबैतिर सुनिन्छ । देशको विकासले गति नलिनुमा बौद्घिक पलायन (ब्रेन ड्रेन) प्रमुख रहेको मानिन्छ । किनकि पछिल्ला केही दशकमा नेपालबाट बिदेसिनेको बहाव निकै उच्च छ ।
पछिल्लो तथ्यांकले लगभग ५० लाख नेपाली विदेशमा रहेको देखाउँछ । अहिले विभिन्न बहाना र चाहनामा दैनिक दुई हजार व्यक्तिले वैदेशिक यात्रा तयार गर्छन् । विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार, नेपालको व्यक्तिगत रेमिट्यान्स जीडीपी अनुपात संसारकै उच्च छ ।
धेरै ठुलो संख्यामा मानिस विदेश गएको सत्य हो । देशका अधिकांश उच्च शैक्षिक संस्थामा विद्यार्थीको आकर्षण र चापमा गम्भीर गिरावट आएको छ, तर अधिक मानिस बिदेसिएको र सबैमा विदेश मोह व्याप्त भएकाले नै देशमा बौद्घिक पलायनता छ, अनि यो नै अहिलेको समस्या हो भन्ने सम्झनुचाहिँ सानदार भ्रममा बाँच्नु मात्र हो ।
- सानदार भ्रम
बिदेसिएका सबैलाई ब्रेन ड्रेन मान्न सकिँदैन । त्यहाँ गएका अधिकांशले ब्रेन (दिमाग)को स्तरमा योगदान गरेका छैनन् । उनीहरूमध्ये कतिपयलाई औजार अथवा शारीरिक श्रमशक्तिका रूपमा मात्र उपयोग गरिएको छ । यहाँबाट उच्च शिक्षा गर्न गएका भनिएका अधिकांशले त्यहाँ मजदुरी गरेर पनि गुजारा गरेका छन् ।
श्रमशक्तिका रूपमा विदेश जाँदा सामाजिक रवाफमा कमी हुने अनि आप्रवासन प्रक्रिया असहज हुन सक्ने कारण पनि पढ्न भनेर बिदेसिनेको संख्या बढेको हो, तर अधिकांश मजदुरी गर्न नै गएका हुन् र त्यही गर्छन् ।
साँच्चै दिमागको योगदान गर्ने र बौद्घिक श्रम गरिरहेका व्यक्तिको संख्या भने निकै सानो छ । त्यसरी बौद्घिक श्रम गरिरहेकाको संख्या यहाँ नफर्किंदैमा देशमा उक्त स्तरको बौद्घिकता भएका व्यक्तिको अथवा ब्रेनको खाँचो समेत हुँदैन । एकसे एक विज्ञ, योग्य, काबिल, दक्ष, मूर्धन्य विद्वान् व्यक्तित्वको सघन संख्या अहिले पनि देशमा उपलब्ध छ । देशलाई आवश्यक पर्ने हरेक विधामा उल्लेख्य संख्याको विज्ञता र विद्वता देशमा कायमै छ ।
विदेश गएर जसजसले दिमागी योगदान गरेका छन्, उनीहरूलाई देश छाड्नु परेकामा खासै दुखेसो समेत छैन । बिदेसिनुलाई उपलब्धिका रूपमा हेर्छन् र अभिमान स्वरूप प्रस्तुत गर्छन् । विदेशयात्रा तय भएपछि पार्टी दिन्छन्, युद्घ विजेताजस्तो गरी स्टाटस लेख्छन् । यहाँ बस्नेलाई गालीगलौज गर्दै केही गर्न नसकेको जस्तो गरी प्रस्तुत गर्छन् । श्रीमती, सन्तति र परिवार समेत लिएर गएका छन् । यहाँको सम्पत्ति बेचेर उतै सेटल हुने प्रक्रियामा छन् । निकै कम अथवा शून्य रेमिट्यान्स पठाउँछन् । उनीहरू यहाँ अवसर नपाएर गएका पनि होइनन्, करोडौँ खन्याएर गएका छन् । माइकल माथिसेनको पुस्तक ‘ब्रेन ड्रेन ः बियोन्ड द ग्रिन न्यु डिल एन्ड सर्भाइभल अफ् द हुमन रेस’ले ब्रेन ड्रेनलाई त्यसरी चिन्तित हुनुपर्ने र उपायको अवलम्बनमा समाहित भइहाल्नुपर्नेे विषय होइन नै भन्छ ।
हामीकहाँ विज्ञता पलायनभन्दा श्रमशक्तिको पलायन (लेबर ड्रेन)चाहिँ निकै पेचिलो बन्दै छ । आज देशमा सामान्य काम गर्ने श्रमशक्तिको अधिक खाँचो छ । विश्वमा सबैभन्दा बढी विप्रेषण आप्रवाह हुने देश भारत हो । भारतलाई विप्रेषण प्रवाह गर्ने देशको सूचीमा नेपाल सातौँ स्थानमा पर्छ । लगभग तीनदेखि चार खर्ब त वार्षिक रूपमा भारतीय मूलका विभिन्न श्रमिकले नेपालबाट मात्र लैजाने गरेको देखिन्छ । यो रकम डाक्टर, प्राध्यापक, प्राविधिक, इन्जिनियर तथा विशेषज्ञ वा विज्ञ ल्याएर पठाएको होइन । देशमा ब्रेनको खाँचो परेर आयात गरिएकामा गएको होइन ।
घर बनाउने मिस्त्री, शैलुन चलाउने व्यक्ति, निर्माण लगायत विभिन्न खालका श्रम बजारमा प्रयोग भएका जनशक्तिको खपतमा प्रवाह भएको हो । लगभग त्यति नै रकम खाद्यान्न आयातबाट समेत जाँदै छ । यसरी खाद्यान्न आयात गर्नुपर्ने बाध्यताका आधार भनेको पनि नेपालबाट भएको श्रमशक्तिको पलायन हो ।
यसरी श्रम शक्तिका लागि पलायन हुनुपरेका चाहिँ देश र परिवारबाट टाढिएर बस्नुपर्दा दुःखी समेत छन् ।
यहाँ पारिवारिक विखण्डन, यौन विचलन, अभिभावकीय सामीप्यतामा संकट लगायत विभिन्न समस्या र असहजता व्याप्त हुँदै छ । श्रमशक्तिका रूपमा बिदेसिएकाको त्यो समूहचाहिँ त्यहाँ पनि साँच्चै पीडामा छ । अधिकांशले गर्ने काम जोखिमयुक्त, तुलनात्मक हिसाबले अनाकर्षक र शोषणपूर्ण (डर्टी, डेन्जरस् र डिस्गस्टिङ) रहेको तथ्यांक देखिन्छ । उनीहरूले दिन–रात पसिना बगाएर नै देशलाई विपे्रषण समेत पठाइरहेका छन् । उनीहरूले त्यहाँ बगाइरहेको श्रमको यहाँ चरम खाँचो पनि छ, तर जसका बारेमा हामी सतही बहसमा छौँ, उनीहरू न योगदान गर्छन्, न त उनीहरूको अनुपस्थितिमा देश टाट नै पल्टिएको छ ।
बिग्रिएर सुध्रँदै गरेको मानिसमाथि सहानुभूति र हौसला राख्ने क्रममा कहिल्यै नबिग्रिएका माथि शोषण अनि नजरअन्दाज किञ्चित सुहाउँदैन । विदेश गएर बसेका केही थान विज्ञ चाहिँ देशका लागि भगवान् नै हुन्छन्, उनीहरू फर्किएपछि देशमा जादुमयी परिवर्तन भइहाल्छ भनेर अति प्रशंसाको पुलिन्दा बोकेर हिँड्नु भनेको यही बसेर देशलाई सकेको योगदान गरौँ भन्ने कर्तव्य परायण विज्ञ समूहमाथि मानसिक तनाव र दुव्र्यवहार होइन र ?
प्रवासी समूहले नेतालाई पटकपटक विदेश यात्राको चाँजोपाँजो मिलाउँछन् । त्यहाँ जाँदा भ्रमण अनि आतिथ्यको प्रबन्ध साथै यदाकदा उपहार तथा कोसेलीपात पनि प्राप्त होला । यसैले हाम्रो नेतृत्वमा विज्ञता पलायन भनिएको बिदेसिएका समूहप्रति अनावश्यक आकर्षण निर्माण भएको छ भनेर पनि आरोप लाग्ने गर्छ । अथवा देशको खास आवश्यकता पनि अध्ययन गरिएको छ कि छैन भन्ने हेर्नुपर्छ । पछिल्लो समय कुल गार्हस्थ्य आवश्यकता (ग्रस डोमेस्टिक रिक्वायरमेन्ट) भन्ने शब्दावली विकासका सिद्घान्तमा अधिक प्रयोग हुने गरेको छ । हाम्रो देशलाई आवश्यकता चाहिँ ती श्रम–बजारमा बाहिरिएकाको बढी छ ।
दिमागी श्रम गर्न बाहिरिएकाको देशमा योगदान तथा उनीहरूको अभावमा समाजलाई नोक्सानी दुवै लगभग शून्य छ, तर जो मानिस श्रम बजारमा खपत भएका छन् अथवा श्रम गर्न भनेरै बिदेसिएका छन्, उनीहरूको अभावमा देशले बहुपक्षीय नोक्सानी भोग्दै छ । देश चलाउन योगदान पनि उनीहरूकै छ । तसर्थ बौद्घिकता पलायनको बहस केवल बौद्धिक विलास हो । उनीहरूलाई देश फर्किन निरुत्साहित नै गर्नु हुँदैन, तर अबको बहस लेबर ड्रेन (श्रमशक्तिको पलायन) माथि होस् र हुनुपर्छ । उनीहरू छलफल र व्यवस्थापनको प्राथमिकतामा पर्नुपर्छ । बौद्धिक पलायनभन्दा पनि श्रमशक्ति पलायन हाम्रो चुनौती हो, देशको ब्रेन यतातिर केन्द्रित हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही