सहकारीमा उदाहरणीय छ ‘एनएमसी’
विराटनगर । २६ जना मिलेर २०५० साल फागुन २४ गते स्थापना भएको झापा, काँकड्भिट्टाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अहिले विशाल बनेको छ । स्थापनाकालमा जम्मा सेयरपुँजी २ लाख ५३ हजार रुपैयाँ थियो भने कार्यक्षेत्र तत्कालीन काँकडभिट्टा गाविसमात्रै थियो । तर, अहिले उक्त सहकारीको कार्यक्षेत्र झापा, इलाम र मोरङसम्म फैलिएको छ भने सहकारीका सदस्यहरू १ लाख ७० हजारभन्दा बढी पुगेको छ । सहकारीका शाखामात्र ५९ वटा पुगेको छ भने सेयर पुँजी १ अर्ब ४७ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
बहुउद्देश्यीय नाम गरेका सहकारीहरूले बचत तथा ऋणको कारोबारमात्रै गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर, एनएमसीले बचत तथा ऋण व्यवसायका साथै डेरी व्यवसाय, एनएमसी एग्रो फार्म, सहकारी पसल र चिया प्रशोधन व्यवसाय पनि सञ्चालन गरेको छ ।
कोशी प्रदेशमै सहकारीबाट पहिलो पटक एटीएम सेवा सुरु गर्ने श्रेय पनि एनएमसीलाई जान्छ । नेपालमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने सहकारी संस्था पनि बनेको छ एनएमसी । यो सहकारीले मेचीनगर–८, काँकडभिट्टामा २०७२ सालमा २० करोडभन्दा बढी लगानीमा डेरी उद्योग सञ्चालन गरिरहेको छ । उक्त उद्योगमा अहिले पनि दैनिक सरदर १७ हजार लिटर दुध संकलन हुन्छ । उद्योगमा प्रत्यक्ष ६ हजार ५ सय कृषक आबद्ध छन् । दुग्ध उत्पादक संस्थाका किसानहरूबाट दुध संकलन र प्रशोधन गरी दुध, पनिर, दही, घिउ, आइसक्रिमजस्ता दुग्धजन्य उत्पादन आफ्नै नामबाट ब्रान्डिङ गरी संस्थाले बजारीकरण र बिक्री वितरण गर्दै आएको छ ।
मेचीनगर–१४, दुहागढीमा २०७५ माघ १९ गते एनएमसी एग्रो स्थापना गरियो । २० करोड लगानीमा १६ बिघा जग्गा खरिद गरेर स्थापना गरिएको फर्ममा गाईपालन, कष्टम हायरिङ सेवा, माछापालन, बेर्ना बैंक, साइलेज तथा बेल साइलेज उत्पादन, तरकारी उत्पादन, मह उत्पादन, आदि गरिएको छ । उक्त फर्ममा १२५ भन्दा बढी गाई छन् भने करिब २ बिघामा ४ वटा माछापोखरी छ ।
यस्तै २०७६ वैशाखदेखि २० करोडको लागतमा विर्तामोडमा सहकारी पसल (कोपसप) व्यवसाय सञ्चालन गरिएको छ । त्यस्ता १७ वटा पसल अहिले पनि सञ्चालनमा छन्, जसले मूल्य नियन्त्रणमा सहयोग गर्ने, सदस्य तथा किसानको उत्पादन खरिदको प्रयास गर्ने, खरिद संस्कारमा परिवर्तन गर्ने प्रयास गरिएको सहकारीका सूचना अधिकारी मनिष कोइराला बताउँछन् ।
उक्त सहकारीले गरेको अर्को नमूना काम चिया प्रशोधन व्यवसाय सञ्चालन पनि हो । १३ करोड रुपैयाँ लागतमा मेचीनगर–५, सुरेन्द्रनगर रहेको उद्योगको इलाममा दुई शाखा र झापामा एउटा शाखा छ । उक्त उद्योगले ग्रीन टी र ब्ल्याक टी (अर्थोडक्स), सीटीसी चिया, मसला चिया आदि उत्पादन गरिरहेको छ, जसमा ३ सयभन्दा बढी किसान आबद्ध छन् ।
संस्थामा ११ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । कर्मचारी नियुक्तिका लागि एनएमसी सेवा आयोगमार्फत छनोट गरिन्छ । यस्तै सम्पूर्ण कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । यो सहकारीको आर्थिक वर्ष २०५०÷०५१ मा निक्षेप २ लाख २७ हजार १२९ रुपैयाँ थियो भने कर्जा पनि २ लाख २७ हजार १२९ रुपैयाँ नै थियो । त्यसबेलाको बासलात ४ लाख ८० हजार १२९ रुपैयाँ थियो । समय क्रमसँगै कारोबार बढ्दै गएको सहकारीको गुणात्मक विकास यहाँसम्म पुग्यो कि आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक विवरण अनुसार संस्थामा हाल १० अर्ब ७१ करोड ४८ लाख ८५ हजार ६१० रुपैयाँ निक्षेप, १० अर्ब ६६ करोड २ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह छ । यस्तै संस्थाको वासलात १४ अर्ब ११ करोड ५६ लाख २१ हजार ९३१ रुपैयाँ छ ।
यद्यपि सहकारीले बचत तथा ऋण व्यवसायबाट आर्थिक वर्ष २०८०÷०८१ मा ३५ करोड रुपैयाँ नाफा गर्दा कृषि फर्म, सहकारी पसल र चिया उद्योगबाट भने नोक्सानी व्यहोर्नु परेको तथ्याङ्कले देखाउँछ । डेरी व्यवसायबाट भने उसले सोही आर्थिक वर्षमा ३ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । यो सहकारीले समग्रमा गत आर्थिक वर्षमा २९ करोड ७२ लाख ७० हजार रुपैयाँ नाफा गर्न सफल भएको छ ।
सहकारीले संस्थागत कोष, अन्य कोष, पुँजीगत अनुदान कोष, जोखिम कोषको व्यवस्था गरेको छ । जसले सहकारीमा जुनसुकै बेला निम्त्याउन सक्ने समस्यालाई समाधान गर्न पर्याप्त हुने सूचना अधिकारी कोइराला बताउँछन् ।
१४ अर्ब ३८ करोड १४ लाख ७० हजारको सम्पत्ति र दायित्व रहेको सहकारीमा गत वर्ष नगद मौज्दात २० करोड ४३ लाख थियो भने बैंक मौज्दात १ अर्ब ४१ करोड ७६ लाख ७० हजार, कर्ना लगानी ११ अर्ब ५२ करोड ३८ लाख, बाह्य लगानी १ करोड २८ लाख, स्थिर सम्पत्ति ७३ करोड ५ लाख र अन्य सम्पत्ति ४९ करोड २४ लाख देखाइएको छ ।
संस्थाको बचत तथा ऋण व्यवसाय अन्तर्गतका ५९ वटा सेवाकेन्द्रमध्ये सदस्यलाई कर्जा लगानी गर्नका लागि ५९ वटा सेवाकेन्द्रमा सेवा केन्द्रगत उपसमितिको व्यवस्था गरिएको छ । संस्थाको कर्जा सम्बन्धी आन्तरिक कार्यविधि अन्तर्गत रही प्रत्येक सेवा केन्द्रगत उपसमिति र सेवाकेन्द्र प्रमुखलाई कर्जा लगानीको सीमा तोकी कर्जा स्वीकृत गर्ने अधिकार दिइएको छ ।
संस्थाद्वारा आफ्नो कार्यक्षेत्रभित्र ७ वटा क्षेत्रीय उपसमिति गठन गरी उक्त उपसमितिबाट सेवा केन्द्रगत उपसमितिले प्राप्त गरेको स्वीकृत सीमाभन्दा माथि प्रतिसदस्य २५ लाखसम्मका कर्जा स्वीकृत गर्ने र २५ लाखभन्दा माथिका कर्जा लगानीको हकमा सञ्चालक पदाधिकारीहरूबाट नेतृत्व भएको बचत तथा ऋण व्यवसाय उपसमितिलाई सिफारिस गर्ने अधिकारसहितको व्यवस्था गरिएको छ ।
संस्थाद्वारा एक सदस्यमा अधिकतम १ करोड र एकै परिवारमा अधिकतम २ करोडसम्मको कर्जा लगानी गर्न सकिने व्यवस्था गरिएको छ । सम्पूर्ण कर्जा लगानीलाई सञ्चालक समितिको नियमित बैठकबाट अनुमोदन गर्ने गरिएको छ ।
संस्थाबाट सम्बन्धित सदस्यलाई कर्जा लगानी गर्दा अनिवार्य रुपमा सदस्यको जग्गा, पक्की घर, सवारीसाधन र निक्षेपलाई धितोको रूपमा स्वीकार गर्ने गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी बताउँछन् । ‘धितो मूल्याङ्कन गर्दा सूचीकृत संस्थागत मूल्याङ्कनकर्ताको मूल्याङ्कन प्रतिवेदनका आधारमा धितो मूल्याङ्कन गरी ऋण लगानी गर्ने व्यवस्था गरिएको छ,’ उनले भने ।
उनका अनुसार सञ्चालक समिति पदाधिकारीलाई नियम विपरीत कर्जा प्रवाह गर्न रोक लगाइएको छ । ‘संस्थाको आन्तरिक कार्यविधि बमोजिम संस्थाका सञ्चालक समिति पदाधिकारीमध्ये ४९ प्रतिशत सदस्यमा कर्जा लगानी गर्न सकिने प्रावधान छ । यद्यपि २०८१ असोज मसान्तसम्ममा संस्थामा १० अर्ब ७९ करोड ३३ लाख ५८ हजार कर्जा मौज्दात रहेकोमा सञ्चालक समितिमा प्रवाह भएको कर्जाको बाँकी मौज्दात ५२ लाख १७ हजार रुपैयाँमात्रै छ,’ सिवाकोटीले भने ।
संस्थाका सूचना अधिकारी कोइरालाका अनुसार संस्थामा २०८१ असार मसान्तसम्म आइपुग्दा कुल १ अर्ब १४ करोड ९४ लाख ५७ हजार रुपैयाँ त साधारण जगेडा र अन्य विभिन्न कोषहरूमा मौज्दात छ । संस्थामा बाह्य बैंक तथा वित्तीय संस्थाको कर्जा दायित्व अत्यन्त न्यून छ र तरलता मौज्दातसमेत औसत २५ प्रतिशत छ ।
उनले संस्थामा दिगो प्रकृतिको बचतको अनुपात कुल बचतको तुलनामा औसत ६५ प्रतिशतभन्दा बढी रहेको हँुदा प्रतिकूल अवस्थामा समेत संस्थालाई हालसम्म बचत फिर्ता गर्न र सदस्यलाई कर्जा प्रवाह गर्न कुनै असुविधा नहुने दाबी गरे ।
संस्थाका पूर्वअध्यक्ष रामचन्द्र उप्रेती सहकारी स्थापना गर्दा पर्याप्त ज्ञान नभए पनि पवित्र भावना हुँदा संस्था अहिलेको अवस्थामा आइपुगेको बताउँछन् । ‘सहकारीको ज्ञान नभइ दर्ता गरेर सञ्चालन गर्न पुगियो । ज्ञान थिएन तर भावना पवित्र थियो । त्यसैले होला, हामीले सहकारी सिक्न र प्रयोग गर्न कन्जुस्याइँ गरेनौँ,’ उनले भने, ‘सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आज यो अवस्था बन्यो ।’
संस्थाले तीन दशकको यात्रा तय गरेको छ । यो अवधिमा संस्थाको आकार र कारोबारमात्रै वृद्धि भएको छैन, साख पनि बढेको पूर्वअध्यक्ष उप्रेतीले बताए । ‘सदस्य र समुदायको भरोसा बढेको छ । सँगसगै चुनौती पनि थपिएका छन्,’ उनले भने ।
उनले स्वदेशी कृषि उपजमा आधारित खाद्य उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाए । यी सबै व्यवसायले उत्पादक र उपभोक्तालाई जोड्ने र सदस्यलाई उत्पादन एवं सेवामा जोडेर व्यावसायिक बनाउने र उपभोक्तालाई न्याय गर्ने विश्वास उनले लिएका छन् ।
‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नारा तय गरेर एनएमसीले सदस्य, कर्मचारी र समाजमा असल संस्कारको अभ्यासलाई सघन बनाएको उप्रेतीको दाबी छ । ‘असल नियत, सामूहिक भावना, सहकारीका मूल्य, मान्यता र सिद्धान्तको परिपालनामा भएको एनएमसीको असल अभ्यासले वर्तमान एवं भविष्यमा पनि निरन्तता पाउने छ भन्नेमा म ढुक्क छु,’ उनले भने ।