कोशी प्रदेशमा ९ पदका लागि ७७ जनाको उम्मेदवारी
विराटनगर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार कोशी प्रदेशका सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि ७७ जनाले उम्मेदवारी दिएका हुन् । ओखलढुङ्गा जिल्ला समन्वय समितिको सभापतिमा भने एकल उम्मेदवारी परेको छ । उक्त जिल्लामा जिल्ला समन्वय समितिको सभापतिका लागि नेपाली कांग्रेसबाट टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको हो । जिसस प्रमुखका लागि आफ्नो उम्मेदवार नउठाएर कांग्रेसलाई सघाउने नेकपा एमाले ओखलढुङ्गाले यसअघि नै निर्णय गरेको थियो ।
ग्रामथानमा १६ जनाको उम्मेदवारी
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका तर्फबाट १५ र एक जनाले स्वतन्त्र छन् । मनोनयन दर्ता गराउन पुगेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायतका दलहरू झाँकीसहित ग्रामथानस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । दलका कार्यकर्ताहरूले आ–आफ्नो दलका उम्मेदवारको पक्षमा नाराबाजी तथा नाचगान गरी उपनिर्वाचनको माहौललाई उत्साहपूर्ण बनाएका थिए ।
कोशी प्रदेशको विभिन्न जिल्लामा ९ पदका लागि उपनिर्वाचन हुँदैछ । त्यसमध्ये पालिका अध्यक्ष पदका लागि एकमात्र ग्रामथान गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका पुराना स्थानीय नेता बलराम सरदार थारुले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट तुलसीराम विश्वास, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट दिनेशकुमार थान्दारले मनोनयन दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारु, जनता समाजवादी पार्टी नेपालका सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालका राजु मुसहर, मंगोल नेशनल अर्गनाइजेशनका भरत राई, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी, नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी थारु, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारुले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमालेको नेताको रूपमा चिनिएका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उदयपुरमा पनि उम्मेदवारी दर्ता
उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदको लागि नौ जनाले उम्मेदवारी दिएका छन् । जसमा नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी, रास्वपाका ध्रुब पोखरेल, नेपाली काँग्रेसबाट सञ्जीव काफ्ले, नेकपा एमालेबाट लक्ष्मीनारायण चौधरी र नेकपा माओवादीबाट नवीन राई छन् । त्यसैगरी राप्रपाबाट लालबावु साह, नेकपा (समाजवादी)का निर्मला कुमारी चौधरी, जनमत पार्टीबाट प्रमोद सहनी तथा स्वतन्त्र बजरंगीकुमार दास समेत गरी नौ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
बेलका नगरपालिका वडा नं. ९ को अध्यक्षका लागि पनि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा काँग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादीबाट भरत घिमिरे, जसपाबाट रामकुमार राई, रास्वपाबाट तेजमान विक, राप्रपाबाट टिकाप्रसाद फुयाल र नेशनल अर्गनाइजेसन पार्टीबाट सुरेश तामाङ रहेका छन् ।
सुनसरीको गढीमा १४ जनाको उम्मेदवारी
उता, सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडाको वडाध्यक्षका लागि १४ जनाको मनोनयन दर्ता भएको छ । जसमा नेकपा एमालेबाट सन्तु उराँव, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कुशेश्वर खेरवार यादव, नेपाली कांग्रेसबाट तेतर साह, नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपा नेपालबाट कविता कुमारी उराँव, राप्रपाबाट बच्चालाल अरगिरया यादव छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शशि कुमार साह, जनमत पार्टीको तर्फबाट सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीको योगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहता रहेका छन् ।
झापाको कन्काई ६ मा ९ जना उम्मेदवार
झापाको एकमात्र उपनिर्वाचन हुन गइरहेको कनकाई नगरपालिका ६ मा एक स्वतन्त्र सहित ९ जनाले उम्मेदवारी दिएका छन् । जसमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गानेशन, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च, जनमत पार्टी र एक स्वतन्त्र गरी ९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
ओखलढुंगाको मोलुङ–५ मा ८ जनाको उम्मेदवारी
उता, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा वडा अध्यक्षकालागि ८ जनाको उम्मेदवारी परेको छ । एमालेबाट गंगा बहादुर तामाङ, नेपाली कांग्रेसबाट घनश्याम दाहाल, माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विष्णु प्रसाद पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणि दाहालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जनता समाजवादी पार्टी जसपाबाट इन्द्र बहादुर दर्जी र दुई जना स्वतन्त्र उम्मेदवारहरू हेम बहादुर सुनुवार र दिप प्रसाद दाहाल रहेका छन् ।
सिकैँचामा पाँच जनाको उम्मेदवारी
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली काँग्रेसका तर्फबाट भीमकुमार लक्सम्बा लिम्बू, एमालेबाट कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र)बाठ अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट रनध्वोज काङ्भाले उम्मेदवारी दर्ता गराएका छन् ।
लालीगुराँसमा आठ जनाको उम्मेदवारी
तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. ८ को वडाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । जसमा कांग्रेसबाट नगेन्द्र लिम्बू, एमालेबाट बुद्ध बहादुर लिम्बू, माओवादी केन्द्रबाट कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सञ्जीव खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न बहादुर श्रीपाली र नेकपा एकीकृत समाजवादीबाट प्रेम बहादुर खड्का छन् । दुई जना उक्त बहादुर लिम्बू र वसन्त लिम्बूले भने स्वतन्त्र रूपमा वडाअध्यक्षको उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, चिनियाँ युआन, रियाल, दिनारको मूल्य बढ्यो, कसको कति ?
-
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
-
चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
-
अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया
-
१२ बजे, १२ समाचार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भेटघाट तीब्रदेखि पाथीभरा केवलकार र झडपलाई लिएर एक्सनमा गृहमन्त्रीसम्म
-
कडा सुरक्षा घेराबिच अखिल क्रान्तिकारीको मतगणना