प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेण्डामै अलमल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जोडतोडले चलिरहेको छ । अन्तिम समयमा आएर चीनले दिएको निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको पाँच दिने भ्रमण गर्ने बताइएको छ । यद्यपि सरकारले भ्रमणको मिति औपचारिक रूपमा घोषणा गरिसकेको छैन ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीन भ्रमण अचानक तय भएकाले खासै तयारी हुन सकेको छैन । यद्यपि, परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा आवश्यक तयारी गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएकी छन् ।
केही दिन अघि सत्तारुढ प्रमुख दुई दल कांग्रेस–एमाले संयन्त्रको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सम्बन्धी संयोजन गर्ने जिम्मा परराष्ट्रमन्त्री राणालाई दिएको थियो । सोही अनुसार परराष्ट्रमन्त्री राणाले भ्रमणको एजेण्डा, दुई पक्षीय सन्धि–सम्झौता कार्यान्वयनको अवस्था, विकासको एजेण्डा लगायतबारे तयारी गर्न निर्देशन दिइसकेको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार राजनीतिक नेतृत्वले भ्रमणको एजेण्डामा के–के समावेश गर्ने भन्नेबारे प्रस्ट दायरा नबनाएको अवस्थामा आवश्यक तयारी गर्न कठिन हुन्छ । भारत र चीनको भ्रमण निकै पेचिलो र संवेदनशील हुने परराष्ट्रका अधिकारीहरू बताउँछन् । त्यसमा राजनीतिक सहमति नभएसम्म तयारी गर्न गाह्रो हुने एक अधिकारीको भनाइ छ । भ्रमणको राजनीतिक लाइन मन्त्रालयमा आइनसकेका कारण तयारीमा समस्या भइरहेको उनले बताए ।
यद्यपि प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारेमा स्वयं विभिन्न पक्षसँग छलफल चलाइरहेका छन् । उनले चीन भ्रमणको बारेमा पार्टीमा पनि छलफल गरिसकेका छन् । केही दिन पहिले उनले नेपालमा काम गरिरहेका चिनियाँ कम्पनीलाई बोलाएर छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीको सचिवालय पनि भ्रमणको एजेण्डा तय गर्न व्यस्त छ । एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयमा छलफल भइरहेको बताए ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारेमा पार्टीमा जानकारी गराइसकेको बताउँदै महासेठले भ्रमणको एजेण्डाको बारेमा सरकारीस्तरमा छलफल भइरहेको जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमालेका एउटा टोली अहिले चीन भ्रमणमै छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा त्यो टोलीले काम गरिरहेको एमालेका नेताहरू बताउँछन् ।
बीआरआईबारे अन्योल कायमै
प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डाबारे गृहकार्य भइरहेको समयमा चीनको महत्त्वाकांक्षी परियोजना ‘बीआरआई’ बारे संशय कायमै छ । हाल सत्तामा रहेका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसमध्ये एमाले बीआरआईलाई अघि बढाउने पक्षमा देखिन्छ भने कांग्रेसले बीआरआईलाई पूर्ण अनुदानमा रुपान्तरित गर्न माग गर्दै आएको छ ।
चीनले पनि प्रधानमन्त्री ओली भ्रमणको मुख्य एजेण्डा बीआरआईलाई नै बनाउन चाहन्छ । भ्रमणको क्रममा त्यसमा हस्ताक्षर गराएर कार्यान्वयनमा ल्याउने चाहना चीनको छ । चीनको तर्फबाट त्यसको तयारी पूरा भइसकेको छ ।
यसअघि प्रचण्डको नेतृत्वमा रहेको सरकारका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि बीआरआई कार्यान्वयनमा ल्याउने गरी अन्तिम तयारीमा पुगेका थिए । उनले चीन भ्रमण गरेर सबै जाँचोपाँजो मिलाए पनि सरकार ढलेपछि ती प्रक्रिया थन्किएका हुन् ।
प्रधानमन्त्री ओली अहिले बीआरआई अघि बढाउन सकारात्मक रहे पनि कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छैनन् । एमालेसँग गठबन्धनको सरकार बन्नुअघि नै कांग्रेसले बीआरआई परियोजना ऋणमा होइन, अनुदानमा मात्र स्वीकार गर्न सकिने स्पष्ट गरेको थियो । अहिले पनि कांग्रेसको सो अडान कायमै छ ।
कांग्रेसका नेता डा.प्रकाशरण महतले बीआरआईको विषयमा आफ्नो पार्टीले गरेको निर्णय यथावत रहेको बताए । उनले आफू केही समयदेखि उपत्यका बाहिर रहेका कारण प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सत्तारुढ दलहरूको बिचमा छलफल भए–नभएको बारेमा आफूलाई जानकारी नरहेको बताए ।
नेपाल–चीन मैत्री संघका अध्यक्ष विपिन आचार्यले भ्रमणको विषयमा सत्तारुढ दलको बिचमा छलफल हुनुपर्नेमा जोड दिए । चीनको विषयमै कांग्रेस–एमालेबिच बुझाइमा फरक रहेको अवस्थामा बीआरआई लगायत अन्य एजेण्डाको विषयमा दुई दलबिच मतैक्यता भएमात्र कुनै निर्णय हुने उनको भनाइ छ ।
आचार्यले भने, भारतलाई देखाउनका लागि मात्र चीन भ्रमण गर्नुहुँदैन, नेपाललाई फाइदा हुने गरी एजेण्डा तय गरेर मात्र भ्रमणमा जाँदा राम्रो हुन्छ ।’