ठुला कर कार्यालयहरू नै ‘अन्डर रेटेड’, यी हुन् उत्कृष्ट कर कार्यालय
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजश्व विभागले ६ खर्ब ७७ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष सकिँदासम्म ५ खर्ब ३३ अर्ब ३३ अर्ब ३ करोड रुपैयाँ मात्रै राजश्व सङ्कलन भएपछि विभागको प्रगति लक्ष्यको ७८.६५ प्रतिशतमा मात्रै सीमित हुन पुग्यो । यो अघिल्लो वर्षको तुलनामा ११.०८ प्रतिशत भन्दा धेरै भए पनि लक्ष्यलाई नभेटेपछि विभाग तथा कर कार्यालय आलोचनामा परे ।
यसरी न्यून कार्यसम्पादन हुनुको मुख्य कारण भने ठुला कार्यालयहरू देखिएका छन् । आन्तरिक राजश्व विभागका अनुसार सबैभन्दा धेरै कर उठाउने ठुला करदाता कार्यालय र मध्यस्तरीय करदाता कार्यालयको कार्यसम्पादन नै यो अवधिमा सबैभन्दा कमजोर देखिएका छन् । दुवै कार्यालयले कुनै पनि सूचकमा ‘ए’ सम्म पनि ग्रेड ल्याउन सकेका छैनन् ।
कसरी हुन्छ मूल्याङ्कन ?
आन्तरिक राजश्व विभागले आफू अन्तर्गत पर्ने ठुला तथा मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय एवं करदाता सेवा कार्यालयको मूल्याङ्कनका लागि ईआईएमएस भन्ने सफ्टवेयर प्रयोग गरेको हुन्छ । उक्त सफ्टवेयरमा कार्यगत इन्डिकेटरहरु तोकेर सम्बन्धित कार्यालयहरूलाई हरेक कार्यसम्पादनका लागि पठाउने गरिन्छ । यसका लागि आन्तरिक राजश्व विभागका महानिर्देशक र कार्यालय प्रमुखहरूबिच कार्यसम्पादन सम्झौता गर्ने गरेका छन् । हरेक महिना सकिएको पाँच दिनभित्र प्रणालीमार्फत आफ्नो कार्यसम्पादन विवरण पठाउनुपर्ने उल्लेख छ ।
त्यसरी पठाइएका विवरणको आधारमा कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन हुने गरेको विभागका महानिर्देशक रामप्रसाद आचार्य बताउँछन् । यसको भेरिफिकेसनको लागि विभिन्न कार्यालयको विवरण भेरिफिकेसन गर्ने काम समेत गरिने उनको भनाइ छ ।
यसरी मूल्याङ्कनका लागि राजश्व सङ्कलन, बेरुजु, बक्यौता लगायत ८४ वटा सूचक रहेको विभागका सूचना अधिकारी वासुदेव पौडेल बताउँछन् । कार्यसम्पादन मूल्याङ्कनका विभिन्न सूचक भए पनि उल्लेखित तीन सूचकको भारांक भने सबैभन्दा धेरै हुने उनको भनाइ छ । ठुला र मध्यमस्तरीय करदाता कार्यालयले भने राजश्व अनुसन्धानको काम समेत गर्ने भएकोले यसको समेत छुट्टै मूल्याङ्कन गर्ने गरिएको छ ।
यसरी मूल्याङ्कन गर्दा शतप्रतिशत भन्दा धेरै लक्ष्य भेट्ने कार्यालयलाई ए–प्लसप्लस, ८५ प्रतिशतभन्दा धेरैलाई ए–प्लस, ७५ प्रतिशतभन्दा धेरैलाई ‘ए’, ६५ प्रतिशतसम्मलाई ‘बी’ त्योभन्दा पनि कमजोरलाई ‘सी’ ग्रेडको मूल्याङ्कन गर्ने व्यवस्था छ ।
कुन कार्यालयको कस्तो अवस्था ?
यसपटक ठुला र मध्यमस्तरीय करदाता कार्यालय सङ्कलन, अडिट, अनुसन्धान र करदाता सेवा लगायत सबै सेगमेन्टमा कमजोर देखिएको छ । ठुला करदाता कार्यालयले कुल लक्ष्यको ७३.७६ प्रतिशत (बी) राजश्व सङ्कलन गरेको छ । त्यस्तै, अडिटमा ६९.८२ प्रतिशत (बी) तथा करदाता सेवामा ६६.७८ प्रतिशत (बी) तथा अनुसन्धानमा ६४.२३ प्रतिशत (सी) मूल्याङ्कन प्राप्त गरेको छ । समग्रमा भने उक्त कार्यालयलाई ‘ए’ ग्रेड दिइएको छ ।
त्यस्तै, मध्यमस्तरीय करदाता कार्यालयको अवस्था त्योभन्दा पनि कमजोर देखिएको छ । कुल आन्तरिक राजश्वको ४.५५ हिस्सा ओगट्ने सो कार्यालयले राजश्व सङ्कलनमा लक्ष्यको ७५.८४ प्रतिशत (बी), अडिटमा ५१.०१ प्रतिशत (सी), अनुसन्धानमा ५६.७८ प्रतिशत (सी) तथा करदाता सेवामा पनि ६३.९९ प्रतिशत (सी) मूल्याङ्कन प्राप्त गरेको कार्यालयले अन्य सूचक समेतका आधारमा समग्रमा भने ‘बी’ ग्रेड पाएको देखिन्छ । मध्यमस्तरीय करदाता कार्यालय कार्यालय करदाता सेवामा समग्र आन्तरिक राजश्व कार्यालयहरूमध्येकै कमजोर देखिएको छ ।
मध्यमस्तरीय करदाता कार्यालयका सूचना अधिकारी लक्ष्मीकुमार रिमाल आफ्नो कार्यालय ग्राहक सेवामा कमजोर छ भन्ने जस्तो नलागेको बताउँछन् । ‘प्रक्रिया पूरा गरेर आउनुभएका करदाताको काम तोकिएको समयभित्र भइहाल्छ । प्रक्रिया नपुगे पुर्याएर आउनुहोस् भनेर सम्झाएर पठाउँछौँ,’ रिमाल भन्छन्, ‘तैपनि मूल्याङ्कनलाई हेरेर आवश्यक ठाउँमा सुधारको काम हुन्छ ।’
यस वर्ष देशभरका ४५ आन्तरिक राजश्व कार्यालय कार्यालयमध्ये ११ वटाले ए–प्लस, २८ कार्यालयले ए, पाँच कार्यालयले समग्रमा बी ग्रेड प्राप्त गरेका छन् । त्यस्तै, करदाता कार्यालयमध्ये ३९ वटा करदाता कार्यालयमध्ये तीनवटाले प्लस, १८ वटाले ए, १५ वटाले बी र तीनवटाले सी ग्रेड पाएका छन् । त्यसमध्ये ए–प्लस पाउने कार्यालयहरूमा तौलिहवा, स्याङ्जा र खोटाङ कार्यालय छन् । लम्की, साँफेबगर, खाँदबारी कार्यालयहरू पनि समग्र कार्यसम्पादनमा कमजोर देखिएका छन् । माथिका अतिरिक्त ग्राहक सेवामा कमजोर भएकाहरूमा विराट चोक, धनकुटा, मलंगवा र लुक्ला कार्यालय पनि करदाता सेवामा सबैभन्दा कमजोर देखिएका छन् ।
आन्तरिक राजश्व कार्यालयहरुमा अहिले सबैभन्दा धेरै राजश्व हिस्सा भएका कार्यालयहरूमा क्रमशः कावासोती, भरतपुर, पुतलीसडक, सिमरा र ललितपुर–१ छन् । आव २०८०–८१ मा ती कार्यालयहरूको हिस्सा क्रमशः ४.७७ प्रतिशत, ३.८६ प्रतिशत, ३.६६ प्रतिशत, २.८४ प्रतिशत २.१६ प्रतिशत र २.११ प्रतिशत रहेको विभागको तथ्याङ्क छ । कावासोती कार्यालयले सङ्कलन र लेखा परीक्षणमा सामान्य देखिँदा करदाता सेवामा भने तुलनात्मक रूपमा कमजोर देखिएको छ ।
भरतपुर कार्यालय लेखा परीक्षणमा उत्कृष्ट र करदाता सेवामा सामान्य रहँदा कर सङ्कलनको लक्ष्यमा कमजोर देखिएको छ । त्यस्तै, पुतलीसडक कार्यालय लेखा परीक्षणमा सर्वोत्कृष्ट देखिँदा कर सङ्कलनमा लक्ष्यमा उत्कृष्ट रहेको छ ।
त्यस्तै, सिमरा तीनवटै सूचकमा ए–प्लससहित उत्कृष्ट देखिन्छ । ललितपुर भने लेखा परीक्षणमा उत्कृष्ट रहँदा ग्राहक सेवामा सामान्य र कर सङ्कलन लक्ष्य प्राप्तिमा भने कमजोर देखिन्छ । यो वर्ष समग्र कार्यसम्पादन मूल्यांकनमा भद्रपुर कार्यालय उत्कृष्ट रहेको छ भने ग्रहका सेवामा बालाजु कार्यालय सर्वोत्कृष्ट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घटनामा मेरो कुनै संलग्नता नै छैन’
-
काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडरमा इन्दु बर्मा
-
भारतको नेपालसँग मात्र होइन, अन्य छिमेकी देशसँग पनि छैन राम्रो सम्बन्ध
-
पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
अमेरिकामा भेटियो एमपक्सको नयाँ स्ट्रेन, कति खतरनाक ?