लुम्बिनीमा उपनिर्वाचन : रुकुममा कांग्रेसको चुनाव चिन्ह लिएर एमाले उम्मेदवार मैदानमा
बुटवल । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा एक गाउँपालिका उपाध्यक्ष र ५ वटा वडा अध्यक्षको निर्वाचनमा आज उम्मेदवारी दर्ता भएको छ ।
दर्ता भएको उम्मेदवारीमध्ये रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसको चुनाव चिन्हमा एमाले उम्मेदवार मैदान उत्रिएका छन् । पटक-पटक माओवादीले जित्दै आएको यो गाउँपालिकामा कांग्रेस र एमालेको सहमतिमा एमाले नेत्री केशकुमारी तुलाचनलाई कांग्रेसको चुनाव चिन्हमा उम्मेदवारी दर्ता गराइएको हो । तुलाचन एमाले रुकुम पूर्वको उप सचिव हुन् ।
उक्त गाउँपालिका वडा नम्बर २ मा पनि कांग्रेस एमाले बिच गठबन्धन भएर निर्वाचनमा गएको कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले बताए ।
पुथाउत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । जसमा उपाध्यक्ष पदमा ७ जना र वडाध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले बताए ।
यहाँ नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका लागि नरपुरा बुढा पुनको उम्मेदवारी परेको छ । नेकपा एकीकृत समाजवादीबाट सुनिता बुढामगर, स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार विक गरी उपाध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
यसैगरी २ नम्बरको वडाध्यक्ष पदमा माओवादी केन्द्रबाट जगत घर्तीमगर, कांग्रेस र एमालेको गठबन्धनबाट एमालेका जीवन रोका र स्वतन्त्रबाट शुक्रराज विकले उम्मेदवारी दर्ता गरेका छन् ।
शुद्धोदन १ मा बाउका ठाउँमा छोरा उम्मेदवार
कपिलवस्तुको शुद्धोदन गाउँपालिका १ मा कांग्रेसबाट दिवगत वडाध्यक्षकै छोरालाई अघि सारेर विरासत जोगाउने प्रयास गरिएको छ ।
तिलकराम यादवको निधनपछि रिक्त वडाध्यक्ष पदमा यहाँ उपचुनाव हुन लागेको हो । नेपाली कांग्रेसले दिनेश यादवलाई उम्मेदवार बनाएको छ । यादव दिवङ्गत वडाध्यक्ष तिलकरामका छोरा हुन् ।
सो वडामा एमाले, जसपा, रास्वपा, माओवादी, जसपा नेपालबाट अलग–अलग उम्मेदवारी दिइएको छ । उनीहरू सबैले आफूले जित्ने दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अब्दुल मोजिम खाँलाई उम्मेदवार बनाउने पूर्व निर्णय गरे पनि अन्तिम समयमा विवाद देखिए पछि मोहम्मद ताहरीलाई मनोनयन दर्ता गराएको छ । माओवादी केन्द्रले रफिक अहमदलाई उठाएको छ । जनमत पार्टीबाट सीताराम पटेल, जसपा नेपालबाट रामबहादुर चौधरी, रास्वपा बाट अवधेश चौधरी, राप्रपाबाट इम्तियाज अहमद मुसलमान उम्मेदवार बनेका छन् ।
सो वडामा गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले एमालेका अब्दुल मोजिब खाँलाई पराजित गर्दै दोस्रो पटक अध्यक्ष बनेका थिए । यादवले १ हजार ३२ मत पाउँदा एमालेका अब्दुल ८८९ मतमा रोकिएका थिए ।
गुल्मी मुसिकोटमा ८ जनाको उम्मेदवारी
गुल्मीको मुसिकोट वडा नम्बर १ मा हुने उपनिर्वाचनका लागि आज ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काङ्ग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर विकको उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पाटीका विकास थापा, राप्रपाबाट ईश्वरी खातीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए। त्यस्तै स्वतन्त्रबाट कोमानन्द खरेल, कुल बहादुर थापा र योगेन्द्र खरेलले उम्मेदवारी दिएका छन्।
ठाकुर बाबामा ६ दलको उम्मेदवारी
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि ६ दलले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) गरी ६ दलले उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसबाट अमिन थारु, एमालेबाट विष्णुप्रसाद देवकोटा, माओवादीबाट शेरबहादुर थारु, रास्वपा बाट वासुदेव शर्मा, राप्रपाबाट रत्न शाही, नाउपाबाट प्रितिलाल थारुले उम्मेदवारी दर्ता गराएका छन् ।
रोल्पामा नाच्दै गाउँदै उम्मेदवारी दर्ता
रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका– ४ मा पनि विभिन्न दलहरूले उत्साहका साथ मनोनयन दर्ता गरेका छन् । दलहरूले बाजासहित नाच्दै गाउँदै उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको अध्यक्ष पदमा नेकपा माओवादीको तर्फबाट नरेशजंग सिंहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट बेगम पुन, नेपाली कांग्रेसबाट भूपमणि पुन, राप्रपाको तर्फबाट पहलबहादुर ओलीले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ मंगोलियन नेसन अर्गानाईजेसबाट पूर्णबहादुर बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमबहादुर पुनले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा