पहिलो सटमै आँसु बरर...
काठमाडौँ । १२ वर्षमा बगेको खोलो फर्किन्छ भनिन्छ । तर, अभिनेत्री विपना थापालाई अभिनयमा फर्किन १६ वर्ष लाग्यो । उनले १६ वर्षपछि ‘ह्रस्व–दीर्घ’ चलचित्रमार्फत अभिनयमा ‘कमब्याक’ गरेकी छन् ।
‘ह्रस्व–दीर्घ’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा उनलाई बोल्ड राजनीतिज्ञ र अभिनेता हरिहर अधिकारीको आमाको भूमिकामा देख्न सकिन्छ । आफ्नो अभिनयबारे एकदमै राम्रो प्रतिक्रिया मिलिरहेको उनले बताइन् ।
‘लामो समयपछि फिल्ममा फर्किएकाले एक प्रकारको डर थियो । दर्शकले कसरी लिन्छन् भन्नेमा डर थियो’, विपनाले भनिन्, ‘फिल्मको भूमिका र अभिनय दर्शकले मन पराए ।’
फिल्म हेर्नेले आफ्नो भूमिका र अभिनय सशक्त लागेको प्रतिक्रिया दिएको उनले सुनाइन् ।
विपना भारतमा घरजम भएको कारण फिल्म क्षेत्रबाट बाहिर रहँदै आएकी थिइन् । ‘ह्रस्व–दीर्घ’ले उनलाई अभिनयमा फर्काउने काम ग¥यो ।
विपनाका अनुसार घरमै बसिरहेको समयमा उनलाई फिल्मका प्रोडक्सन म्यानेजर करण सिंहले फोन गरेका थिए । करण विपनाको समयका ड्रेस म्यान थिए । करणले कुरा गर्नु भन्दै निता ढुंगानालाई फोन दिए ।
निताले ‘मितिनी’ फिल्ममा अभिनय गर्ने बालकलाकारका रूपमा आफूलाई चिनाउँदै विपनासँग कुरा सुरु गरिन् । उनले फोनबाटै फिल्म निर्माण र कलाकारको बारेमा जानकारी दिँदै अभिनयका लागि विपनासँग प्रस्ताव गरिन् ।
प्रस्ताव आउनासाथ विपनाले अभिनयका लागि स्वीकृति जनाइन् । तर, त्यतिबेलासम्म विपनालाई फिल्मको कथावस्तु, आफ्नो भूमिकाबारे केही थाहा थिएन । ‘निता त फिल्मको कथा र रोल सुन्नुपर्ला नि भन्दै थिइन्,’ विपनाले भनिन्, ‘तर मैले तिमीले गर्न लागेको भएपछि एक सिन भए पनि गर्छु भनेँ ।’
निताले पारिश्रमिक सोधिन् । विपनालाई अहिले पारिश्रमिक कति दिन्छन् वा चलेको छ भन्ने केही थाहा थिएन । त्यसैले आफ्नो हिसाबले दिनुभन्दै मञ्जुरी दिइन् । विपनाले फिल्म अभिनयका लागि स्वीकृति जनाउनुको अर्काे कारण हो– यसमा जोडिएका भारतीय कलाकार ।
‘हामी बलिउड, हलिउडका कलाकार चिन्छौँ । तर उनीहरूले हामीलाई चिन्दैन थिए । उनीहरूले चिनुन् भनेर उनीहरूसँगै फिल्ममा अभिनय गर्ने मेरो पहिलेदेखिकै सोच थियो’, विपनाले भनिन्, ‘बलिउड र साउथका कलाकार छन् भनेपछि म र नेपाली नेपाली कलाकार चिनाउने पुल हो भन्ने लाग्यो ।’
फिल्म केही भाषामा बन्न थालेकाले पनि आफू थप उत्साहित भएको विपनाले बताइन् । छायाङ्कन सुरु हुनेबेलामा विपनाले आफ्नो भूमिकाबारे जानकारी पाइन् । फिल्ममा उनले आमाको भूमिका निर्वाह गर्नुपर्ने थियो । एक समय हिरोइनका रुपमा एकसे एक हिट फिल्म दिएकी उनले भाउजू र दिदीको भूमिकामा समेत कहिल्यै अभिनय गरेकी थिइनन् । त्यसैले त्यो भूमिका उनलाई कस्तो– कस्तो लाग्यो ।
‘म १५÷१६ वर्षको छोराको आमा हो । अघिल्लो पुस्ताले पछिल्लो पुस्तासँग काम गर्दा यस्तै भूमिका गर्ने हो भन्ने सोचेँ’, विपनाले भनिन्, ‘छोरा भनेर अभिनय कसरी गर्ने, अभिनय छाडेकै १६ वर्ष भइसकेकाले अभिनय बिर्सिएँ कि भन्ने डर, कमब्याकको उत्साह थियो ।’
सुटिङमा पहिलो दिन मेकअप गर्दै आँखा रसाएर पहिलो सटमै आँसु बरर झरेको सुनाइन् । ‘केही समय ब्रेक लिएर समेत बसेँ । पहिलो सट किरण केसीसँग भएकाले पनि त्यसपछि सजिलो भयो,’ उनले भनिन् ।
अभिनयमा फर्किदै गर्दा उनले नयाँ पुस्ताले रेस्पोन्स नगर्ने, इगो लिनेजस्ता विभिन्न नकारात्मक कुरा सुनेकी थिइन् । ‘ह्रस्व–दीर्घ’ अभिनय गर्दा १६ वर्ष अगाडि छोडेर गएको जस्तै उद्योग र युनिटको अनुभव उनले गरिन् ।
भारतीय कलाकारसँग काम गर्न त उनलाई झन् सजिलो भयो रे । उनीहरू त नेपालीभन्दा सजिलो पाइन् उनले । उनीहरूको प्रोत्साहन गर्ने बानीबाट प्रभावित छिन् उनी ।
फिल्ममा विपनाले भारतीय कलाकार ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मासम्म काम गरेकी छन् । पहिलो फिल्मबाटै उनले फिल्म उद्योगका धेरै परिवर्तन बुझ्न पाइन् । अन्यभन्दा प्रविधिक रूपमा छलाङ नै मारेको उनको अनुभव छ ।
निरन्तर अब फिल्ममा
विपनाको फिल्ममा केही पहिले नै फर्किने चाहना थियो । विवाहपछि पनि उनलाई फिल्मको निरन्तर प्रस्ताव आउँथ्यो, तर घरपरिवारलाई प्राथमिकतामा राख्दै उनले उद्योगबाट टाढा बस्ने निर्णय लिइन् ।
‘कलाकारले अभिनय त पछि पनि गर्न सक्छ, तर त्यति बेला मैले मेरो परिवारलाई समय दिने निर्णय गरेँ’, विपनाले भनिन् ‘एउटी आमा, पत्नी र बुहारीको जिम्मेवारीले बाँध्यो ।’ विवाहपछि ‘रियल लाइफ’को रोल सुरु भएको कारण समयमै ‘रिल लाइफ’मा फर्किन नसकेको उनी बताउँछिन् ।
‘रियल लाइफको सबैभन्दा गाह्रो भूमिका आमाको रहेछ । छोरो हुर्काउन थालेको, फिल्ममा आउन सकिनँ’, उनले भनिन्, ‘अहिले छोराले समेत जानु भनेकाले सजिलो भयो ।’
विपना अब अभिनयमा निरन्तरता दिने सोचमा छिन् । त्यसैले पनि उनले दोस्रो फिल्म ‘जेरी अन टप’को छायाङ्कन थालिसकेकी छन् । यो फिल्ममा उनी अभिनेता अनमोल केसीको आमाको रूपमा देखिँदैछिन् । फिल्ममा अनमोलको आमा बन्न पाउँदा खुसी लागेको विपनाले बताइन् ।
‘सानैदेखि नै देख्दै आएकी अनमोललाई सानोमा खेलाएकी पनि छु । त्यसैले आफूले सानैदेखि देखेको कलाकारको आमा बन्नु एकदमै रमाइलो पल हुनेछ,’ उनले भनिन् ।
फिल्ममा धेरैपछि विपना अभिनेता भुवन केसीसँग पनि काम गर्दैछिन् । भुवनसँग काम गर्दा धेरै सिक्ने मौका मिल्ने उनको धारणा छ । ‘जेरी अन टप’पछि उनी फिल्म ‘पिताम्बर’मा अभिनय गर्नेछिन् ।
विपनाको घर भारत हो । यता एकपछि अर्को फिल्ममा काम गर्दा असहज हुन्छ कि भन्ने प्रश्नमा उनले छोरा दशमा पढ्ने भएकाले सुटिङका लागि १०÷१५ दिन छोड्दा कुनै अप्ठ्यारो नहुने बताइन् ।
‘सुटिङ हुँदा नेपाल आउँछु । सकिएपछि भारत जान्छु’, उनले भनिन् ‘परिआए बिहान आएर दिनभरि सुटिङ गरेर बेलुका घर फर्किन मिल्छ ।’
विपनाको हरेक प्रकारको फिल्म र फरक–फरक भूमिकामा काम गर्ने इच्छा छ । आफूले काम गर्ने फिल्म मनोरञ्जनको अलावा सन्देशमूलक पनि होस् भन्ने चाहना रहेको उनले सुनाइन् । उनको एउटा सपना पनि छ । त्यो हो जानकीको विषयमा फिल्म बन्यो भने सीताको भूमिका निर्वाह गर्ने ।
तस्बिर सौजन्य : सिजन केबी