१२ बजे १२ समाचार : दुई महिना नबित्दै धरहरा बन्ददेखि रवि लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी जारीसम्म
वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. सरकारी ढुकुटी घाटामा
पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा मन्दी निरन्तर छ । आन्तरिक माग नहुँदा आयात–निर्यातको अनुपात घटेको छ । स्वदेशी उद्योगहरू कम क्षमतामा चलेका छन् ।
यसको प्रत्यक्ष असर सरकारको आम्दानीमा देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन–कात्तिकको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी छ । चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको छ भने ४ खर्ब १५ अर्ब २ करोड खर्च गरेको छ । यसको अर्थ सरकारी ढुकुटी घाटामा छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म १५ अर्ब ५९ करोड १६ लाख १५ हजार रुपैयाँको ११ करोड ५५ लाख ५० हजार लिटर तेल आयात भएको छ । गत आर्थिक वर्ष (२०८०/८१) को असोज मसान्तसम्म १३ अर्ब १७ करोड ८९ लाख २३ हजार रुपैयाँको ९ करोड ५७ लाख ५५ हजार लिटर तेल आयात भएको थियो ।
२. लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र उनका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
४. पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आइतबार उपचारकै क्रममा उनको निधन भएको हो ।
५. कांग्रेसका उम्मेदवार निर्विरोध
ओखलढुंगा जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । जिसस प्रमुखमा कांग्रेसका टेकराज भट्टराईको मात्र उम्मेदवारी परेको हो । कैलाली जिसस प्रमुखमा भने कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
६. सञ्चालन भएको दुई महिना नपुग्दै धरहरा बन्द
सञ्चालनमा ल्याएको दुई महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए ।
७. चुरे क्षेत्रमा प्रशस्त लगानी भए पनि छैन पानी
सरकारले चुरे संरक्षणका लागि भन्दै ठुलो लगानी गर्दै आएको छ । यद्यपि, यसको प्रभावकारिता जनताले प्रत्यक्ष अनुभूति गर्न सकेका छैनन् । चुरे दोहनले आसपासका क्षेत्रमा भूमिगत जलको सतह घट्दै गएको छ । अवैध रुपमा गिट्टी तथा बालुवा निकासी भइरहेको छ ।
८. कम्युनिस्ट पार्टीमा नेतृत्व फेर्नै सकस
कम्युनिस्ट पार्टीमा नेतृत्व फेर्न निकै सकस हुने गरेको छ । कतिपय कम्युनिस्ट पार्टीमा दशकौंदेखि नेतृत्वमा एकै व्यक्ति रहँदै आएका छन् । केही अपवाद छाड्ने हो भने नेपालका कम्युनिस्ट पार्टीका नेता नेतृत्वमा पुगेपछि पद ओगटेर दशकौँसम्म ‘पावर एक्सरसाइज’ गर्ने प्रवृत्ति देखिएको छ ।
९. प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिबारे प्रतिक्रियाविहीन छन् माओवादी नेता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणलाई लक्षित गर्दै ‘चाइना कार्ड’बारे दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रकै नेताहरू प्रतिक्रियाविहीन देखिएका छन् । परराष्ट्र मामिलाका जानकारदेखि एमालेका नेताले प्रचण्डको अभिव्यक्तिबारे आपत्ति जनाइरहेको अवस्थामा माओवादी केन्द्रका नेताहरू भने मौन देखिएका छन् ।
१०. उपनिर्वाचनका लागि ७ हजारभन्दा बढी प्रहरी परिचालन गरिने
स्थानीय तहको उपनिर्वाचनका लागि ७ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । सुरक्षा विश्लेषणसहित प्रहरीले उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्नुपर्ने निष्कर्ष सहितको प्रस्तावित ‘सुरक्षा योजना’ गृह मन्त्रालयमा पठाएको छ ।
११. राजदूतको शपथ
चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा पाकिस्तानका लागि नियुक्त भएका रीता धिताल, कतारका रमेशचन्द्र पौडेल, इजरायलका धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन् ।
१२. दोस्रो चरणको आन्दोलनमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
-
हिरासतमा भएका मृत्युको अनुसन्धान गर्न माग गर्दै एम्नेस्टीको ‘राइट फर राइट्स’ अभियान
-
‘घटनामा मेरो कुनै संलग्नता नै छैन’
-
काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडरमा इन्दु बर्मा
-
भारतको नेपालसँग मात्र होइन, अन्य छिमेकी देशसँग पनि छैन राम्रो सम्बन्ध
-
पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सोमबार सार्वजनिक बिदा