आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०२ मङ्सिर २०८१, २१ : ४८
आइतबार, ०२ मङ्सिर २०८१

आज २०८१ मंसिर २ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा स्थानीय तह उपनिर्वाचन ः यी हुन् उम्मेदवार, पूर्वसभामुख दमननाथ ढुंगानाको निधन, ओखलढुंगा जिसस प्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध; कैलालीमा नाउपासँग प्रतिस्पर्धा, रवि र छविविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी, सञ्चालन भएको दुई महिना नपुग्दै धरहरा बन्द, उम्मेदवारी दर्ताका क्रममा कीर्तिपुरमा जे देखियो, चुरे क्षेत्रमा प्रशस्त लगानी भए पनि छैन पानी लगायत छन् ।

१. स्थानीय तह उपनिर्वाचन : यी हुन् उम्मेदवार
स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले तोकेको समय अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगले आइतबार दर्ता भएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

२. पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आइतबार उपचारकै क्रममा उनको निधन भएको हो ।

३. ओखलढुंगा जिसस प्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध; कैलालीमा नाउपासँग प्रतिस्पर्धा
ओखलढुंगा जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । जिसस प्रमुखमा कांग्रेसका टेकराज भट्टराईको मात्र उम्मेदवारी परेको हो । कैलाली जिसस प्रमुखमा भने कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

४. रवि र छविविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । रवि र छवि सहकारीको रकम ठगीबारे अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । उनीहरूविरुद्ध रुपन्देही जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ भने अहिले काठमाडौँ जिल्ला अदालतले पनि जारी गरेको हो । 

५. सञ्चालन भएको दुई महिना नपुग्दै धरहरा बन्द
सञ्चालनमा ल्याएको दुई महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए ।

६. उम्मेदवारी दर्ताका क्रममा कीर्तिपुरमा जे देखियो
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ । स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसमध्ये नगर प्रमुख पदका लागि उपनिर्वाचन हुने पालिका कीर्तिपुरमात्र हो । कीर्तिपुर नगरपालिकामा आइतबार उत्साहका साथ उम्मेदवारी दर्ता भएको छ ।

७. चुरे क्षेत्रमा प्रशस्त लगानी भए पनि छैन पानी
सरकारले चुरे संरक्षणका लागि भन्दै ठुलो लगानी गर्दै आएको छ । यद्यपि, यसको प्रभावकारिता जनताले प्रत्यक्ष अनुभूति गर्न सकेका छैनन् । चुरे दोहनले आसपासका क्षेत्रमा भूमिगत जलको सतह घट्दै गएको छ । अवैध रुपमा गिट्टी तथा बालुवा निकासी भइरहेको छ । 

८. कम्युनिस्ट पार्टीमा नेतृत्व फेर्नै सकस
कम्युनिस्ट पार्टीमा नेतृत्व फेर्न निकै सकस हुने गरेको छ । कतिपय कम्युनिस्ट पार्टीमा दशकौंदेखि नेतृत्वमा एकै व्यक्ति रहँदै आएका छन् । केही अपवाद छाड्ने हो भने नेपालका कम्युनिस्ट पार्टीका नेता नेतृत्वमा पुगेपछि पद ओगटेर दशकौँसम्म ‘पावर एक्सरसाइज’ गर्ने प्रवृत्ति देखिएको छ ।

९. प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिबारे प्रतिक्रियाविहीन छन् माओवादी नेता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणलाई लक्षित गर्दै ‘चाइना कार्ड’बारे दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रकै नेताहरू प्रतिक्रियाविहीन देखिएका छन् । परराष्ट्र मामिलाका जानकारदेखि एमालेका नेताले प्रचण्डको अभिव्यक्तिबारे आपत्ति जनाइरहेको अवस्थामा माओवादी केन्द्रका नेताहरू भने मौन देखिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप