माओवादीले आशा गरेको ग्रामथान र बलिया प्रतिस्पर्धी
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको नेताचोकमा गत भदौ २९ गते माओवादी केन्द्रले एक सार्वजनिक सभा गर्यो । उक्त सभामाबाट कांग्रेसका नेता नमोनारायण माझीसहित सयौँ अन्य पार्टीका समर्थकहरू माओवादी केन्द्रमा प्रवेश गरे ।
निवर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै उपस्थितिमा भएको कार्यक्रम माओवादीकै भाषामा भन्नुपर्दा ‘भव्य’ भयो । त्यही दिनदेखि प्रचण्डले आजभोलि पनि कतिपय सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेका छन्, ‘मोरङमा देखिएको जनलहरले ०८४ को चुनावपछि माओवादी ०६४ सालकै अवस्थामा पुग्ने मैले देखेको छु । अब हामी जनतामा फर्कियौँ । जनताले हामीलाई जिताउने छ ।’ तर, प्रचण्डले भनेको त्यो जनलहरको परीक्षा मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमै देखिने पक्का छ । माओवादीले उनै नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ ।
प्रचण्डले भनेजस्तो मात्रै होइन वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मिसन ८४ को नारा लगाइरहेकै छन् । कांग्रेसको पनि नारा मिसन ८४, रास्वपा, राप्रपाको पनि नारा मिसन ८४ नै देखिन्छ । त्यो ‘मिसन ८४’ परीक्षामा को सफल होला भन्ने विषयमा भने उपनिर्वाचनको परिणामबाट सामान्य आँकलन गर्न सकिन्छ ।
अझै माओवादीका लागि यो उपनिर्वाचन ‘कमब्याक’ गर्ने अवसर पनि हुनेछ । उसले भनेको सुशासन र भ्रष्टाचार विरोधी अभियानबारे जनताले पत्याएको वा नपत्याएको पनि देखिनेछ । कांग्रेस र एमाले मिलेर बनेको यो गठबन्धन सरकारप्रति जनताले कति आशा र भरोसा गरेको रहेछ भन्ने पनि उपचुनावले सामान्य संकेत दिनेछ । कांग्रेसले यहाँ पुराना र पाका नेता बलराम सरदारलाई उम्मेदवार बनाएको छ भने एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ ।
कांग्रेस–एमालेलाई अन्तरघात र माओवादीलाई मत बढाउने चुनौती
विराटनगर महानगरपालिकासँगै जोडिएको यो पालिकाको निर्वाचन माओवादीका लागि फलामको चिउरन जस्तै हुनेछ । यद्यपि माओवादीलाई संघीय सांसदको निर्वाचनमा माओवादी उम्मेदवार अमनलाल मोदी विजयी हुनु सहज पाटो पनि हो ।
मोदीले आफू विजयी भएर गरेका राम्रा नराम्रा कामको परीक्षा पनि यही उपनिर्वाचनबाट हुने देखिन्छ । विराटनगरसँगै जोडिएको भएपनि ग्रामथानले दशकौँदेखि विकास देख्न पाएन । साबिकको लखन्तरी, झोराहाट, सिद्राहा, बनिगामा जोडिएर बनेको ग्रामथानमा पछिल्लो सात वर्षमा भने उल्लेख गर्न योग्य काम भएका छन् । सडक, पुल, खानेपानी, शिक्षण संस्थाहरूको दुरुह अवस्थामा परिवर्तन भई छोटो समयमा विकासको रुपरेखा देखापर्दै गएको छ ।
परम्परागत रूपमा ग्रामथान गाउँपालिका नेपाली कांग्रेसको प्रभाव क्षेत्र हो । तर, ०७४ सालमा एमालेको शिवनारायण माझीले चुनाव जितेका थिए भने ७९ सालमा कांग्रेसका जयप्रकाश चौधरीले निर्वाचन जितेका थिए । चौधरीको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
मनोनयन दर्ताको क्रममा पनि कांग्रेस, एमाले र माओवादीको प्रदर्शनमा प्रतिस्पर्धा जस्तो देखिन्थ्यो । रास्वपाबाट उम्मेदवारी दिएका नवीनकुमार विश्वास खवास काँग्रेसका कार्यकर्ता हुन् । पार्टीबाट टिकट नपाएपछि उनी रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका हुन् भने स्वतन्त्र उम्मेदवारी दिएका नमनारायण चौधरी एमालेका कार्यकर्ता हुन् । माओवादीबाट भने बागी उम्मेदवार परेको छैन ।
मोदी–विश्वासमाथि माओवादी भर
धार्मिक तथा सामाजिक महत्वका मठ, मन्दिर, ग्रामथान र देवालयहरूको संरक्षण, विकास र स्तरोन्नतिका हिसाबले पनि यस अवधिमा धेरै प्रगति भएको स्थानीयहरूले बताएका छन् । ग्रामथानमा जति पनि विकासका कामहरू भएका छन् तीमध्ये सबैभन्दा उपयोगी र प्रभावकारी चाहिँ घिनाघाट–विराटचोक चारलेन सडक आयोजना नै हो । जुन योजनाले प्रदेश राजधानीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने र त्यसबिचमा पर्ने ग्रामीण क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । पाँच वर्षअघिसम्म विराटनगरबाट विराटचोक जाने सडक जीर्ण अवस्थामा थियो । यो सडक हरेक चुनाका लागि नेताहरूले चुनाव जित्ने औजार बन्ने गरेको थियो तर सडकको दुदर्शा कसैले पनि बदल्न सकेको थिएन । जब जनताले मत बदले त्यसपछि ग्रामथानको विकासको चित्र पनि बदलेको देखिन्छ ।
नयाँ संविधान जारी भएपछि २०७४ सालमा सम्पन्न आम निवार्वचनबाट ग्रामथानसमेत रहेको मोरङको निर्वाचन क्षेत्र नम्बर ४ बाट पनि माओवादीकै अमनलाल मोदी र प्रदेश निर्वाचन क्षेत्रमा माओवादी केन्द्रकै नेता विजय विश्वास थारुले चुनाव जितेका थिए । कांंग्रेसको विरासतको रूपमा चिनिएको त्यस क्षेत्रले परिवर्तनका लागि संघर्ष गरेका दुई युवाले चुनाव जितेसँगै ग्रामथानमा विकासको लहर सुरु भएको ग्रामथान ३ का झलककुमार भगत बताउँछन् । ‘तपाईंहरुले देख्नुभएकै थियो विराटचोक जाने सडक कुन अवस्थामा थियो भनेर, तेतरियाबाट मोतिपुर जाने सडक कुन अवस्थामा थियो, यहाँका विद्यालय, खेलमैदानहरुको अवस्था एकदमै राम्रो थिएन, खोलाहरुमा वर्षौंदेखि पुल बनेका थिएनन्, विराटनगरबाट नजिकै भएर पनि यो टाढाको दुर्गम र अविकसित गाउँ थियो । तर अहिले तपाईंहरु आफैँ हेर्न सक्नुहुन्छ ६ वर्षको अवधिमा यो ठाउँ कति बदलियो भनेर, यहाँ विकासको राम्रो लहर सुरु भएको छ, यसका लागि नेकपा माओवादी केन्द्रबाट जितेका संघीय र प्रदेश सांसदहरुको ठुलो योगदान छ भनेर सबैले निःसंकोच भन्नुहुन्छ,’ भगतले भने ।
भगतको भनाइसँग ग्रामथान २ का बाबुराम मुडियारी पनि सहमत छन् । उनी समग्र ग्रामथानलाई आधार बनाएर पटक पटक चुनाव जितेर देशकै अर्थमन्त्रीसमेत भएका महेश आचार्यले आफ्नो कार्यकालमा गर्न नसकेको विकासको काम माओवादीका अमनलाल मोदी र विजय विश्वास थारुको जोडीले गरेर देखाइ दिए ।
दशकौँसम्म विकास देख्न नपाएको ग्रामथानका ती गाउँहरुमा भर्खर विकासको रुपरेखा कोरिएका मात्र हुन् । ‘अहिले पनि धेरै बस्तीहरुमा पुग्ने बाटोको स्तरोन्नति गर्न बाँकी छ, खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । तर अहिले यो क्षेत्रले जुन नेतृत्व पाएको छ त्यसले विकासका लागि पहल गर्छ भन्नेमा यहाँका नागरिकहरु विश्वस्त छन्,’ उनले भने ।
विकासका दृष्टिले पाँच वर्ष लामो अवधि होइन । यो छोटो अवधिमा त्यस क्षेत्रमा विकास भित्र्याउन माओवादी जनप्रतिनिधिहरु मोदी र विश्वासले अथक मिहेनत गरेको देखिन्छ । प्रदेश सरकार स्थापना हुनासाथ कस्ता योजनामा काम गर्ने भनेर प्रदेश सरकार अलमलिएको बेलामा प्रदेशसभा सदस्य विजय विश्वास र संघीय सांसद मोदीले नै घिनाघाट–विराटचोक सडक चारलेनमा निर्माण गर्न तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई कन्भिन्स गरेका थिए । त्यतिबेला आर्थिक मामिला तथा योजना मन्त्री माओवादीकै नेता इन्द्रबहादुर आङ्बो रहेका कारणले पनि उक्त योजना अगाडि बढाउन सहयोग पुगेको थियो । झण्डै डेढ अर्ब लगानीको उक्त योजनाले त्यस क्षेत्रको विकासमा ठुलो परिवर्तन ल्याइदिएको छ ।
२०७४ सालको बाढीले लोहोन्द्रा खोलामा आएको बाढीले त्यहाँको मोटरेबल पुल बगायो । पूर्वी मोरङसँग जोड्ने र कृषि नगरको साइफनसमेत पुलसँगै बगाइदिएका कारण ठुलो नोक्सानी भएको थियो । उक्त पुल निर्माणका लागि दुवै सांसदहरुले निरन्तर पहल गरेर ४५ करोड बजेट निकासा गराई समयमै पुल निर्माण गराउन उनीहरुले भूमिका खेलेका थिए ।
ग्रामथान गाउँपालिकामा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले अध्यक्ष पदमा जितेको थियो भने २०७९ सालमा नेपाली कांग्रेसले जित्यो । यो ६ वर्षको अवधिमा गाउँपालिकाले पुगनपुग १० किलोमिटर सडक कालोपत्रे गरेको छ । तर संघ र प्रदेशबाट यस अवधिमा एक अरब भन्दा बढी बजेट त्यस क्षेत्रमा गएर विभिन्न विकासका कामहरू भएका छन् भने कतिपय योजनाहरु क्रमागत अवस्थामा रहेको पूर्वमन्त्रीसमेत रहेका विजयकुमार विश्वासले जानकारी दिए ।
ग्रामथानमा मोतिपुर–गिदनिया सडक ३८ करोड रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको छ भने दशकौँदेखि अलपत्र छोडिएको गिदनिया खोलाको पुल यसै अवधिमा निर्माण सम्पन्न भएको छ । उक्त खोलामा पुल नहुँदा रोजगारका लागि सुनसरीको दुहबी र मोरङको बुढीगंगा जाने कामदार श्रमिकहरूले लामो दुरी घुम्न बाध्य थिए ।
सामाजिक र सामुदायिक विकास तर्फ पनि यस अवधिमा निकै काम भएको पाइएको छ । ग्रामथानका ७ वटा वडाहरुमा ८ वटा सामुदायिक भवनहरू निर्माण भएका छन् । विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित मठ, मन्दिर, ग्रामथान, चर्च आदिको विकासमा समानुपातिक रूपमा योजनाहरु विनियोजन गर्न उनीहरुले पहल गरेको भन्दै स्थानीयहरूले सन्तुष्टि व्यक्त गरेका छन् । लखन्तरीको राधाकृष्ण मन्दिर, ७ नम्बर वडाको बजरंगाबली मन्दिर आदिको स्तरोन्नतिका लागि पूर्वसांसद विश्वासले बजेट व्यवस्थापन गरिदिएको स्थानीयले सम्झना गरेका छन् ।
स्थानीय रोशन माझीले भने, ‘चुनाव अघिसम्म ग्रामथानमा धेरै काम भयो, अहिले पनि कामहरू भइरहेका छन्, सबैलाई समान ढंगले योजना बाँड्ने काइदाले गर्दा माओवादीले यहाँबाट चुनावमा फाइदा पनि लिइरहेको छ ।’
अहिले नेताचोकबाट सुनसरीको खनारजाने नहरमा झण्डै १४ करोड रुपैयाँको बजेट कार्यान्वयनकै चरणमा छ । सिद्राहा, मोतिपुर र लखन्तरी खानेपानी आयोजना निर्माणाधीन रहेको सांसद अमनलाल मोदीले जानकारी दिए । मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएको बेला तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत विनियोजन भएको एक अर्ब रुपैयाँ मध्ये करिब ३० करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममार्फत खर्च गरेका थिए । सोही कारणले तत्कालीन समयमा विपक्षी दलले संसदमा उनको विरोधसमेत गरेको थियो । यस अवधिमा ग्रामथानको वडा नम्बर ३ र ७ मा दुईवटा खेलमैदान निर्माण भएको छ । मोतिपुर र कोरियाडाँगीको मर्चनीयामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । भूमिहीन सुकुम्बासीका लागि नमुना बस्ती, जनता आवास, बजरंगबली सिमसार संरक्षण आदि थुप्रै पूर्वाधार विकासका कामहरू ग्रामथानमा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको सहकार्यमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रम सुरु, १७ अर्ब १५ करोड लागत
-
आइफोनमा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा
-
गाजामा रातभर इजरायली हवाई आक्रमण, दर्जनौँको मृत्यु
-
सरकारको सहयोग नपाएपछि विश्वकप खेल्न बस र रेलबाटै पाकिस्तान गयो नेपाली टोली
-
भाइले गरे ५६ वर्षीय पुरुषको हँसिया प्रहार गरी हत्या
-
गौतम अडानीलाई आजै समात्नु पर्छः राहुल गान्धी