कसरी हुन्छ साइबर अपराध ? यी हुन् राष्ट्र बैंकले पत्ता लगाएका रोचक तथ्यहरु
काठमाडौँ । साइबरमार्फत हुने अपराधको अवस्था, शैली र संलग्न व्यक्तिबारे नेपाल राष्ट्र बैंकले रोचक तथ्य पत्ता लगाएको छ । राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले विगतमा भएका शंकास्पद कारोबारसम्बन्धी उजुरी तथा अनुसन्धान भएका केसमा आधारित भएर गरिएको अनुसन्धानले यस्तो देखाएको हो ।
रिपोर्ट अनुसार १९ देखि २४ वर्ष उमेर समूहमा रहेका मानिसहरु साइबर अपराधमा सबैभन्दा धेरै संलग्न रहेको पाइएको छ । यसपछि २५–३० वर्ष उमेर समूहको सहभागिता सबैभन्दा धेरै देखिन्छ । यो दुई समूहले मात्रै कुल हिस्साको ७० प्रतिशत ओगट्ने गरेको रिपोर्टले जनाएको छ ।
अध्ययनले सामाजिक सञ्जालहरुमा ‘विद्यार्थी’ भनेर उल्लेख गर्नेहरु यस्तो अपराधमा धेरै संलग्न भएको देखिएको छ । त्यसपछि विभिन्न कम्पनीका कर्मचारी भनेर चिनाउने छन् । ‘किसान’, ‘मालिक’, ‘तरकारी तथा फलफूल पसल’, ‘गृहिणी’, ‘बेरोजगार’ क्रमशः छन् ।
त्यस्तै, यस्तो कारोबारमा संलग्नमध्ये आधाभन्दा बढी खाता खोलेको तीन महिना मात्रै भएको पाइएको छ । त्यसैगरी, यस्ता तीन चौथाइ खाताहरू खाता खोलेको नौ महिनाभित्र पर्ने गरेको र ठगीबाट प्राप्त रकम सङ्कलनका लागि प्रयोग गरिएको देखिन्छ ।
प्रदेश अनुसार, शंकास्पद कारोबारमा रिपोर्ट गरिएका खाताहरू सबैभन्दा बढी बागमती प्रदेशमा खोलिएका छन्, त्यसपछि मधेस र कोशी प्रदेशमा रहेको राष्ट्र बैंकले जनाएको छ । यसमा धेरैजसो उपहाररपार्सलमा धोकाधडी, सामाजिक सञ्जाल ह्याकिङ, नक्कली अनलाइन व्यापार प्लेटफर्म प्रयोग गरेर जालसाजी, ओटीपी फ्रड, लोटरी जालसाजी र बैंक/वालेटमा पहुँच हुन् । पैसा दोब्बर योजना हुने, क्रिप्टोकरेन्सीमा लगानी, नेटवर्क मार्केटिङ, अनलाइन कोठा भाडा सेवा, पीटीई र आईईएलटीएसको लागि अनलाइन परीक्षा शुल्कको नाममा ठगी हुने गरेका छन् ।
कसरी हुन्छ ठगी ?
रिपोर्ट अनुसार ठगहरुले पीडितहरूलाई सुरुमा सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्छन् । त्यसपछि ठगीको षड्यन्त्रका लागि अन्य माध्यमहरू प्रयोग गर्दै जान्छन् । शंकास्पद व्यक्तिले पीडितहरूबाट सङ्कलन गरिएको ठगी रकम देश र भारतका विभिन्न भागहरूबाट एटीएम प्रयोग गरेर निकाल्ने वा अन्य बैंक खाताहरू र वालेट खाताहरूमा स्थानान्तरण गर्ने गरेका छन् ।
ठगले छोटो अवधिमा एउटै प्रमाणपत्र प्रयोग गरेर धेरै बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोलेको बताइएको छ । एउटै मोबाइल नम्बरबाट धेरै खात खोल्ने गरिएको छ । त्यस्ता खातावालाहरूको केवाईसीले उनीहरूले डिजिटल कारोबार गर्न असक्षम रहँदा रहँदै पनि यस्तो कारोबार भइरहेको देखिएको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीको एक मोबाइल पसलमा आगलागी
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था कमजोर, कालोसूचीमा पर्ने सम्भावना
-
अनमोल र आँचल उत्कृष्ट अभिनेता अभिनेत्री, फिल्ममा ‘पुजार सार्की’
-
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण
-
उपकुलपतिको ढोका अगाडि ३५ बुँदे मागसहित १२ दिनदेखि धर्ना
-
अघि बढ्यो विद्युत् विधेयक, संसदीय समितिमा आइतबारदेखि छलफल