हेटौंडा–१२ को अध्यक्ष पदमा १४ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
हेटौंडा–१२ वडा कार्यालयमा आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम अन्तर्गत ५ स्वतन्त्र र ९ वटा दलले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त थियो । कुल ८ हजार ५३ मतदाता रहेको हेटौंडा–१२ को वडा अध्यक्ष पदमा उपनिर्वाचनका लागि २ मतदान स्थलमा ९ वटा मतकेन्द्र कायम गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूसहित अन्य साना दलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यहाँ एमालेले राजेश नगरकोटीलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को निर्वाचनमा पराजित भएका थिए ।
कांग्रेसबाट सोही पदमा अर्जुन प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि २ पटक पराजित भएका थिए ।
यस्तै माओवादी केन्द्रले रवि कुमार प्रधानलाई उम्मेदवार बनाएको छ । प्रधान पहिलो पटक उम्मेदवार बनेका हुन् ।
हेटौंडा–१२ को वडा अध्यक्ष पदमा रास्वपाका आशावीर बल, राप्रपाका प्रेम बहादुर भोलन, जसपाका छविलाल वाइवा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र नेकपा एकीकृत समाजवादीबाट बलराम बलले उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।
वडा अध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, कुमार पोखरेल, गिताकुमारी नेवार, छत्रप्रकाश अधिकारी र युनेश लामा सिन्तानले उम्मेदवारी दर्ता गराएका छन् ।
पटक–पटक हारेका तिवारी जित्नेमा ढुक्क
संघीयता कार्यान्वयनपछि भएका २ वटा स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित भएका कांग्रेसका तिवारी फेरि प्रतिस्पर्धामा उत्रिँदैछन् । तिवारी यस पटक जित्नेमा ढुक्क रहेको बताउँछन् ।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसँग ३१ मतको अन्तरले पराजित भएका उनले यो पटक जित्ने दाबी गरे । अघिल्लो निर्वाचनमा तिवारीले १ हजार ३४० मत पाएका थिए भने विजयी भएका घलानले १ हजार ३७१ मत पाएका थिए । तिवारी २०७४ को निर्वाचनमा पनि घलानसँगै तिवारी पराजित भएका थिए ।
हेटौंडा–१२ का मतदाताको सेवा र वडाको विकासका लागि आफूले चुनाव हारे पनि काम गरिरहेको तिवारीले बताए । आम नागरिकहरूको समस्या समाधानमा निरन्तर प्रयत्न गरेकाले मतदाताले यसपटक जिताउने उनको दाबी छ ।
गत निर्वाचनमा मतदाताले राम्रो मत दिए पनि केही प्राविधिक व्यवस्थापनको कमजोरीका कारण न्यून मतान्तरले हार व्यहोरेको तिवारीको भनाइ छ ।
जित निश्चित छः नगरकोटी
गत निर्वाचनमा पराजित भएका एमाले उम्मेदवार नगरकोटी पनि आफूले जित्ने दाबी गर्दछन् । वडामा पार्टी संगठनको अवस्था सुधार भएको र विकास निर्माण तथा सेवा प्रवाहमा पनि एमालेले उत्कृष्ट काम गरेकाले जित्न सहज रहेको उनको भनाइ छ ।
एमालेले हेटौंडा–१२ लाई आफ्नो प्रभाव क्षेत्रको रुपमा समेत परिभाषित गर्दै आएको छ । यद्यपि सो वडाको अध्यक्ष पदमा एमालेले हालसम्म जित्न सकेको छैन । यो वडाका अधिकांश वडा सदस्य पदमा जित निकालेको एमालेले अध्यक्ष पद भने जित्न सकेको छैन ।
प्रतिस्पर्धात्मक चुनावी माहोलमा जित निकाल्छु : प्रधान
माओवादी केन्द्रका उम्मेदवार रहेका प्रधानले निर्वाचन प्रतिस्पर्धात्मक हुने बताए । विगतको शैलीमा नागरिकको मत प्राप्त हुँदा निर्वाचनको नतिजा आफ्नो पक्षमा रहने उनको भनाइ छ ।
पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकाले केही चुनौती सामना गर्नुपर्ने बताउँदै प्रधानले अन्य दलको तुलनामा पार्टीको मत राम्रो रहेकाले जित्न समस्या नरहेको बताए ।
यता रास्वपा भने नागरिकको असन्तुष्टिको मतलाई क्यास गर्ने योजनामा छ । रास्वपाका उम्मेदवार आशावीर बल पुराना दलप्रतिको वितृष्णाको मतलाई संकलन गरेर जित्ने दाबी गर्छन् ।
उता राप्रपा भने सके जित्ने, नभए प्रभाव जमाउने रणनीतिमा छ । पछिल्लो समय पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहको क्रेजलाई सदुपयोग गरेर निर्वाचन जित्ने राप्रपाको रणनीति छ ।
२०७९ को निर्वाचनमा राप्रपाका शरन सिं थिङले वडा अध्यक्ष पदमा १८३ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
-
अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
-
सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा