बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

कर्णालीमा ८ पदका लागि ४४ जनाको उम्मेदवारी

कुन ठाउँमा क–कसको उम्मेदवारी ?
आइतबार, ०२ मङ्सिर २०८१, १९ : ४७
आइतबार, ०२ मङ्सिर २०८१

सुर्खेत । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । कर्णालीका विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि आइतबार दलहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राप्रपा लगायतका दलले उम्मेदवारी दर्ता गराएका छन् ।

कर्णालीमा ८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये ४१ उम्मेदवार राजनीतिक दलका छन् भने तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जगत बहादुर  हमालको उम्मेदवारी दर्ता भएको छ । राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगरलाई उम्मेदवार बनाएको छ ।

यहाँ ०७९ को वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका लछुमन गुरुङको हृदयघातका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि हुन लागेको निर्वाचनमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालयले रातोपाटीलाई दिएको जानकारी अनुसार यहाँ कांग्रेस, राप्रपा, एमाले, रास्वपा, माओवादी लगायतका दलले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका तर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै राप्रपाबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बाट पवित्रा जैसीको उम्मेदवारी दर्ता भएको छ । यहाँ एकीकृत समाजवादीको उम्मेदवारी भने परेको छैन ।

यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको ०८० कार्तिकमा भूकम्पमा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको हो । तिमिल्सिनालाई एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको साथ छ ।

यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् ।

यहाँ गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको केही समयअघि सडक दुर्घटनाका कारण मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

जाजरकोटस्थित कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

एमालेबाट डम्बरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

यस्तै दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ कांग्रेसबाट रेशम बहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, एमालेबाट लालबहादुर शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पुर्णप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको छ ।

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा ६ वटा दलले उम्मेदवारी दिएका छन् । यहाँ नेकपा एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन शाही, माओवादीबाट नैस्वभा शाही र नेपाली कांग्रेसबाट पैलन बहादुर शाहीको उम्मेदवारी दर्ता भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लले जनाए ।

रुकुम पश्चिम जिल्लाको सानोभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदमा प्रमुख तीन दलको उम्मेदवारी दर्ता भएको छ ।

यहाँ माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरीको उम्मेदवारी दर्ता भएको छ । यहाँ एक स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । यहाँ एमाले, एकीकृत समाजवादी, माओवादी र नेपाली कांग्रेसले उम्मेदवारी दिएका छन् ।

समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

०७९ को निर्वाचनमा एमालेका नन्दलाल रोका निर्वाचित भएका थिए । उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप