स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा मनोनयन दर्ताका क्रममा जे देखियो...
काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ ।
स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसमध्ये नगर प्रमुख पदका लागि उपनिर्वाचन हुने पालिका कीर्तिपुरमात्र हो । कीर्तिपुर नगरपालिकामा आइतबार उत्साहका साथ उम्मेदवारी दर्ता भएको छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुखसहित वडा नम्बर १ र वडा नम्बर ४ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने लागेको हो । सहायक निर्वाचन अधिकृत पुरूषोतम पौडेलका अनुसार यहाँ नगरप्रमुख पदमा २० जनाको उम्मेदवारी परेको छ ।
कीर्तिपुर जलन हस्पिटल नजिक इन्द्रायणि मन्दिर परिसरमा उम्मेदवारी दर्ताका लागि स्थान तोकिएको थियो । बिहान १० बजेबाट अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
पहिलो उम्मेदवारी वडा नम्बर १ का लागि स्वतन्त्र उम्मेदवार विनोद महर्जनले दर्ता गराएका थिए । त्यसपश्चात् नगरप्रमुखतर्फ डाक्टर बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बाट दिल कुमार महर्जनले उम्मेदवारी दर्ता गराए ।
माओवादी उम्मेदवारको टिकट खोसिएपछि
उम्मेदवारी दर्ताकै दौरान माओवादी केन्द्रले वडा नम्बर १ मा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी नदिने जानकारी आयो ।
माओवादीको तर्फबाट टिकट लिएर उम्मेदवारी दर्ता गर्न हिँडेका अष्टमान महर्जनले बाटोमै आफ्नो टिकट खोसिएको जानकारी पाएका थिए । पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि उनी टीका–माला लगाएर उम्मेदवारी दर्ता गर्न निस्किएका थिए ।
उम्मेदवारी दर्ता गराउन आउँदाआउँदै बाटोमै वडा नम्बर १ मा जसपालाई सघाउने भन्ने खबर पाएपछि महर्जन उम्मेदवार बन्न पाएनन् । उनले वडा नम्बर १ मा जसपाका सरलगोपाल महर्जनलाई सघाउने बताए ।
‘पार्टीले गठबन्धन गर्ने निर्णय गरेको भनेपछि पार्टीको निर्णय मान्छु, बागी बन्दिनँ भनेर समर्थन गरेँ,’ उनले भने ।
यहाँ माओवादीलाई मेयरमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, माओवादीका अन्य घटकले पनि सहयोग गर्ने एक माओवादी नेताले अनौपचारिक संवादमा सुनाए । ‘रास्वपासँग पनि सहकार्यबारे छलफल हुँदैछ,’ ती नेताले भने ।
माओवादीले यहाँ नगर प्रमुखमा प्रा. डा शिवशरण महर्जनलाई र ४ नम्बर वडामा नारायण विष्टलाई उम्मेदवार बनाएको छ ।
५८ दिनमा गर्न नपाएको काम गर्ने महर्जनको धोको
राप्रपाले यहाँ ध्रुव महर्जनलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । पेसाले इन्जिनियर उनी राजा ज्ञानेन्द्रले गराएको नगर चुनाव जित्दै ०६२ सालमा ५८ दिने मेयर बनेका थिए । उनको धोको पनि त्यही ५८ दिनमा गर्न नपाएका अधुरा काम गर्ने रहेको बुझियो ।
उम्मेदवारी दर्ता पश्चात् उनले भने, ‘मलाई चुनौती छ । कीर्तिपुरलाई नयाँ बनाउने गरी काम गरेर देखाउँछु । १९ वर्षमा विकासमा नभएको काम गरेर देखाउँछु ।’
राप्रपाले यहाँबाट सुरेन्द्र उप्रेतीलाई १ नम्बर र विजेश बस्नेतलाई ४ नम्बर वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
उम्मेदवारी गर्न पुग्दा राप्रपाका नेता–कार्यकर्ताले ‘दिदी बहिनी दाजु भाइ, भोट हालौँ हलोलाई’ भन्दै नारा लगाएका थिए । उनीहरूले ‘राप्रपा जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नारा पनि लगाएका थिए ।
जसपा नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट बनायो उम्मेदवार
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालले भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट उम्मेदवार उठाएको छ ।
पार्टीले नगर प्रमुखमा हनी महर्जन र वडा नम्बर ४ मा मनी महर्जनलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारी दर्ता गर्न पुगेका जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले पहिचानवादी एक हौँ भन्दै नारा लगाएका थिए ।
पिछडिएका, सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक समुदायलाई मूलधारमा ल्याउन आफ्नो उम्मेदवारी रहेको मेयर पदका उम्मेदवार हनी महर्जनले बताइन् ।
‘बाजा–गाजा’ सहित उम्मेदवारी दर्ता
उम्मेदवारी दर्ता गर्न पुगेका दलका मात्र होइन, स्वतन्त्र उम्मेदवारले पनि परपरागत बाजासहित पुगेर मनोनयन दर्ता गराएका थिए ।
स्वतन्त्र उम्मेदवार तथा सरसफाइ अभियन्ता राजमान महर्जन (मानव)ले सरसफाइका लागि आवश्यक पर्ने सामग्रीसहित उम्मेदवारी दिन आएका थिए ।
‘१६ वर्ष भयो वनबास हिँडेको । कीर्तिपुरलाई सुन्दर सांस्कृतिक सहर बनाउनुपर्छ । १५ करोड रुपैयाँमा संसारकै उत्कृष्ट सहर बन्छ । कसैले अविश्वास गर्नुपर्दैन,’ उनले भने ।
नेकपा एमाले र नेपाली कांग्रेसका नेता–कार्यकर्ता पनि ‘बाजा गाजा’ सहित आएका थिए । एमाले उम्मेदवार सुरेन्द्र मानन्धरको पक्षमा नेकपा एमाले जिन्दावाद, भोट केमा सूर्यमा, आयो–आयो एमाले आयो’ भन्दै सांसद कृष्णगोपाल श्रेष्ठ पनि उम्मेदवारी मनोनयन दर्तास्थलमा पुगेका थिए ।
पार्टीको झण्डा, राष्ट्रिय झण्डा र चुनाव चिह्न ‘रूख’सहित ‘नेपाली कांग्रेस जिन्दावाद’ भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य राजन केसी, जितजग बस्नेत , नानू बास्तोला लगायत पनि मनोनयन दर्ताका क्रममा आफ्ना उम्मेदवारको मनोबल बढाउन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको व्यवस्थापन विज्ञ सदस्यमा गंगादत्त जोशी र हिरा बोहरा सिफारिस
-
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने
-
नवजात शिशुसहित सुत्केरीको उद्धार
-
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
-
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र