आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय
अलबिदा दमननाथ ढुङ्गाना

जब दमननाथ ढुङ्गानाले संसद् प्रतिपक्षीको हो भने...

आइतबार, ०२ मङ्सिर २०८१, १९ : ०३
आइतबार, ०२ मङ्सिर २०८१

काठमाडौँ । दमनाथ ढुङ्गाना, जो ८३ वर्षको उमेरमा यस धर्तीबाट सदाका लागि बिदा भए । उनले गरेका कर्महरू भने अनन्तकालसम्म स्मरणीय रहने छन् ।

प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो आम निर्वाचन (२०४८) मा ढुङ्गाना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी तत्काल सभामुखको भूमिकामा पुगे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रीका लागि गरेको अफर अस्वीकार गरेर उनी सभामुख बन्न पुगेका थिए । 

उनले सभामुखको आसन ग्रहण गरिरहेको बेला तत्कालीन विपक्षी दल नेकपा एमालेका सांसद विरोध खतिवडाले सदनमा बोल्न समय मागे । तर, ढुङ्गानाले समय दिएनन् ।

यही कारण संसद्मा नोकझोक भयो । ढुङ्गानालाई व्यङ्गको पात्र बनाइयो ।

खतिवडाले बोल्ने समय मागिरहेका थिए । सभामुखको आसनबाट ढुङ्गानाले ठट्टै ली शैलीमा भने– ‘तपाईँको नाम विरोध खतिवडा हो, विरोध गरिराख्नुस् । मेरो नाम दमन हो । म दमन नै गर्छु ।’ 

उनको यही बोलीले सभामा हाँसो गुन्जियो । खतिवडालाई बोल्न समय दिइयो र संसद्मा देखिएको तनाव शान्त भयो । यो ढुङ्गानाले स्थापित गरेको बिम्ब थियो– संसद् प्रतिपक्षको हो ।

ढुङ्गानाको आइतबार निधन भएपछि उनका कर्महरू स्मरण गर्न थालिएको छ । उनको निधनले संसद् र कानुनी क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । सर्वोच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष ढुङ्गाना वकिलहरूका आदर्श थिए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे कानुन व्यवसायीले नाम लिने सीमित वरिष्ठ अधिवक्ता मध्ये ढुङ्गाना पर्ने र उनको निधनले बारले ठुलो क्षति भोग्नुका साथै पथ प्रदर्शक गुमाएको बताउँछन् ।

फेरि संसदतिरै फर्कौँ, उति बेला सदनमा नोकझोक गर्ने खतिवडा दिवगत ढुङ्गानाको व्यक्तित्व सम्मान र गर्व गर्न लायक रहेको ठान्छन् ।

‘नेपालको संसदीय अभ्यासमा सत्ता सरकारको र संसद् प्रतिपक्षको भन्ने मान्यता सुरु गराउने व्यक्ति उनै हुन्’ खतिवडाले भने ‘तत्कालीन समयमा नेपाली काँग्रेसले सरकार चलाउँदा पाँच वर्ष संसद् र सरकार दुवै आफ्नो भनी प्रतिपक्षलाई पेल्दा तत्कालीन सभामुखले संसद्मा सधैँ विपक्षीलाई बोल्ने समय दिनु भयो । उहाँ सधैँ एउटै कुरामा अडिग हुनुहुन्थ्यो– सत्ता सरकारको हो, संसद् प्रतिपक्षको हो ।’

विपक्षीलाई समय नदिने र पोलपाल गर्ने बेलामा सुरु गराएको अभ्यास सत्ता पक्षले पटक्कै मन पराएको थिएन । ‘जनताले विपक्षीलाई दिएको बोल्ने र खबरदारी गर्ने जिम्मेवारी संसद्मा पूरा हुनुपर्ने मान्यता उहाँको थियो’ खतिवडा स्मरण गर्छन्, ‘ संसद्मा आवाजहरू रोक्ने हो भने त्यो विद्रोहको रूपमा सडकमा जाने उहाँको भनाई रहन्थ्यो ।’ 

संसद् सधैँ कार्यसूचीमा बाँधिएर चल्न हुँदैन, जनताको कुरा उठ्नु पर्छ, विरोध र समर्थन दुवै हुनुपर्छ भन्ने ढुङ्गानाको अविचलित मान्यता थियो ।

खतिवडाका अनुसार, ढुङ्गाना संसद्मा केही तनाव सिर्जना हुँदा सहजै मत्थर गर्ने अनि हसी मजाक गर्ने स्वभावका थिए ।

ढुङ्गानालाई सम्झाउने अर्को कर्म हो– माओवादीको सशस्त्र विद्रोहका बेला उनले गरेको भूमिका । सरकार र विद्रोही पक्षबिच वार्ताका लागि सहजीकरण गर्न उनी अग्रसर हुन्थे । यसले विस्तृत शान्ति सम्झौतासम्म मुलुकलाई पुर्‍यायो ।

यति मात्र नभएर उनी निर्दलीय पञ्चायती कालमा विद्यार्थी सङ्गठन बनाएर राजनीतिमा होमिएका थिए । यसका साथ वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक अगुवाको पहिचान उनले बनाए । २०२८ सालमै नेपाल बार एसोसिएसनको महासचिव बनेका उनी केही समय पत्रकारिता र शिक्षणमा पनि  सक्रिय भए । 

उनको राजनीतिक वेग भने २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले उम्मेदवार विद्या भण्डारी (पूर्व राष्ट्रपति) सँग पराजित भएपछि रोकियो । जनसम्पर्क नहुँदा निर्वाचन हारेको स्वीकार उनले गरेका थिए । ढुङ्गानाले राजनीतिलाई विश्राम दिए पनि सक्रियता भने कायम राखे । उनले समय क्रममा पार्टीको महासमिति सदस्य समेत त्यागे । र, ढुङ्गाना शान्ति स्थापनाको कार्यमा जोडिए ।  सरकार–माओवादी शान्ति वार्ताका सहजकर्ता बने, उनलाई माओवादी बनेको आरोप पनि लाग्यो । अर्कोतिर उनले नेपाली सेना, नेपाल प्रहरी, अनुसन्धान विभागका उच्च अधिकारीहरूलगायतबाट धम्की सहनु पर्‍यो । निडर ढुङ्गाना हच्केनन् । कर्ममा लागिरहे ।

विक्रम संवत् १९९८ मा जन्मेका उनको अध्ययन काठमाडौँमै भयो । सानैदेखि राजनीतिक चेत बोकेका ढुङ्गाना १९ वर्षको हुँदा २०१७ साल पुस १ गते  राजाबाट प्रजातान्त्रिक व्यवस्थामा ‘कु’ गरियो । त्यो कदम विरुद्ध विद्रोह गर्नुपर्छ भन्ने चेतनाले उनी त्रिभुवन विश्वविद्यालयमा अध्ययनसँगै विद्यार्थी राजनीतिमा जोडिए । २०२० सालमा नेपाल विद्यार्थी सङ्गठनको उपाध्यक्ष निर्वाचित भए । पछि अध्यक्षको भूमिकामा पुगे । विद्यार्थीलाई सङ्गठित पार्दै आन्दोलित गराए ।

कानुनको पढाई, विद्यार्थी आन्दोलनसँगै पत्रकारितामा जोडिए । शिक्षण कार्य पनि गरे । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनापछि भने उनी राजनीति छोडेर वकालतमा लागे । २०२२ सालमा शेरबहादुर देउवासँगै कलकत्ता पुगेर सुवर्ण शमशेर राणालाई भेटी संविधानसभामा जानुपर्ने राय उनै ढुङ्गानाले दिएका थिए । उनलाई पञ्चायती शासकले धम्क्याउने र फसाउने चाल चलाए । यसबिच उनी नेपाली कांग्रेससँग जोडिएका थिए । 

२०४६ को जनआन्दोलनमा उनी पार्टी प्रवक्ताको भूमिका थिए । उनले आन्दोलनलाई मलजल गर्न क्षमताले भ्याएसम्म प्रयास गरे । जब जनआन्दोलन सफल भयो तब वरिष्ठ अधिवक्ता बनिसकेका ढुङ्गानाले २०४७ सालको संविधान निर्माणको भूमिका निभाए ।

चर्चित मेच काण्ड 

ढुङ्गाना सभामुख भएको बेला संसद्मा भएको एउटा ‘मेच काण्ड’ लाई संसदीय इतिहासका अध्येताहरूले कहिल्यै बिर्सँदैनन् । उति बेला प्रतिनिधि सभामा राजा आउने कार्यक्रम थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि संसद्मा आए, तर उनलाई बस्ने कुर्ची थिएन ।

रोचक त के छ भने रक्षा मन्त्रालयको समेत संलग्नतामा प्रधानमन्त्रीलाई राखिसकेको कुर्ची झिक्न लगाएको तथ्य छानबिनबाट खुल्यो, जुन रक्षाले नै झिक्न लगाएको रहेछ ।

घरमा छापा 

उनी शान्तिप्रक्रियामा सक्रिय थिए । २०५७ सालमा विद्रोही माओवादीलाई सहयोग गरेको आरोपमा ढुङ्गानाको घरमा छापा मारियो । 

माओवादीले पनि सहज व्यवहार गरेको थिएन । ढुङ्गाना, पद्म रत्न तुलाधर र नागरिक समाजका केही व्यक्तिहरू समेटेर डा. बाबुराम भट्टराई नेतृत्वको नेतृत्वमा कार्यकारिणी परिषद् बनाएको समाचार छापियो । ‘दृष्टि’ साप्ताहिकमा समाचार छापिएपछि उनी झन् अप्ठ्यारोमा परे । समाचारको खण्डन गरे, अनि उनले माओवादीलाई युद्ध छाडेर शान्ति प्रक्रियामा आउन सार्वजनिक अपिल गरे । माओवादी नेता कृष्णबहादुर महरालाई बुटवलको गणतन्त्र पक्षीय सभामा सार्वजनिकरुपमै उनले अव युद्धले केही हुँदैन, शान्ति प्रक्रियामा आउनू भने । उनी जस्तैको पहलमा १२ बुँदे सम्झौता सम्भव भएको थियो ।

सम्झौता हुँदा नागरिक समाजको भूमिका गौण पारिएकोमा उनले असन्तुष्टि पोखे । उनले भन्ने गरेका थिए– शान्ति सम्झौता माओवादीले जे–जे चाह्यो त्यही अनुसार भयो । जबकि यो राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर हुनुपर्दथ्यो ।’ 

२०७२ सालको संविधान निर्माण प्रक्रियाप्रति पनि ढुङ्गाना बेखुस थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप