अति संवेदनशील ५४ मतदानस्थल, ७ हजार प्रहरी परिचालन गरिँदै
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । सुरक्षा विश्लेषणसहित प्रहरीले मङ्सिर १६ मा हुने उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्नुपर्ने निष्कर्ष सहितको प्रस्तावित ‘सुरक्षा योजना’ गृह मन्त्रालयमा पठाएको छ ।
गृहमन्त्री नेतृत्वको केन्द्रीय सुरक्षा समितिबाट अनुमोदन भएपछि सो योजना लागू हुन्छ । ३३ जिल्लामा ४४ पदको लागि स्थानीय तह उपचुनाव हुँदैछ ।
कीर्तिपुर नगरपालिकामा मेयर, जाजरकोटको नलगाड नगरपालिकामा उपमेयर, मोरङको ग्रामथान र दोलखाको गौरीशङ्कर गाउँपालिकामा अध्यक्षको निर्वाचन हुँदैछ । ४ वटा गाउँपालिकामा उपाध्यक्ष र ३४ स्थानमा वडा अध्यक्षको चुनाव घोषणा गरिएको छ ।
कैलाली र ओखलढुङ्गामा समन्वय प्रमुखको चुनाव हुँदैछ । २०७९ वैशाख ३० मा भएको स्थानीय चुनावको विश्लेषणको आधारमा प्रहरीले ५४ वटा मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गर्न प्रस्ताव गरेको छ ।
४७ मतदान स्थललाई संवेदनशील र ६२ वटालाई सामान्य मतदान स्थलमा वर्गीकरण गर्न प्रहरीले प्रस्ताव गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’ वर्गीकरण गरिएको छ ।
डाक्नेश्वरीमा वडा अध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र नलगाडमा उपप्रमुखको निर्वाचन हुँदैछ । संवेदनशील मतदान स्थलमा २०७९ मा केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएकोभन्दा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने प्रहरीको प्रस्ताव छ ।
२०७९ मा अति संवेदनशीलमा १२ जना, संवेदनशीलमा १० जना र सामान्यमा ८ जना प्रहरी परिचालन गरिएको थियो । सो सङ्ख्या थप गर्नुपर्ने प्रहरीको प्रस्ताव छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्– ‘मतदान स्थलमा प्रहरीको सङ्ख्या थप्नुपर्ने प्रस्ताव आएको छ, त्यसबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल हुन्छ ।’
उपनिर्वाचनको सुरक्षाका लागी प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा र सशस्त्र प्रहरी बलले एसएसपी दिग्विजय सुवेदीको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ ।
निर्वाचन सेलले आवश्यक जनशक्ति र स्रोत साधनबारे विश्लेषण तथा निर्वाचन आयोगसँग समन्वय गरेर काम गरिरहेको प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले रातोपाटीलाई बताए । कार्कीका अनुसार उपनिर्वाचन हुने स्थानको सुरक्षा चुनौतीबारे केन्द्रीय निर्वाचन सेलमा खटिएका अधिकृतहरूले अध्ययन र विश्लेषण गरिरहेका छन् ।
स्थानीय तह उपनिर्वाचनमा २ लाख ३५ हजार ४९५ मतदाता मतदान प्रक्रियामा सहभागी हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना