आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

गौरीशङ्करको उपाध्यक्षका लागि एकीकृत समाजवादी, माओवादी, एमाले र रास्वपाका उम्मेदवारद्वारा मनोनयन दर्ता

आइतबार, ०२ मङ्सिर २०८१, १७ : ४२
आइतबार, ०२ मङ्सिर २०८१

चरिकोट ।  दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनमा लागि नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि उक्त दलका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । 

मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेको समयमा एकीकृत समाजवादी पार्टीको तर्फबाट गौरीशङ्कर–५ निवासी रविना खड्काले उम्मेदवारी दर्ता गरेकी छिन् । खडकाको उम्मेदवारी दर्ता गर्न राष्ट्रियसभाका सांसद घनश्याम रिजाल, समाजवादीका पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, लगायत उपस्थित भएका थिए । 

सो पदका लागि रास्वपाबाट गौरीशङ्कर–८ निवासी गोमा श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छिन् । रास्वपा दोलखा सभापति दिनेश बस्नेतको उपस्थितिमा श्रेष्ठले मनोनयन दर्ता गरेकी हुन् । 

एक उपाध्यक्ष पदका लागि माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाले मनोनयन दर्ता गरेकी छिन् । गौरीशङ्कर–७ निवासी निम लेकीले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् सांसद गङ्गा कार्की, माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का लगायतका उपस्थितिमा मनोनयन दर्ता गरेकी हुन् । 

गौरीशङ्करको उपाध्यक्ष पदका लागि एमालेको तर्फबाट उमा मगर शेर्पाले मनोनयन दर्ता गरेकी छिन् । शेर्पाले पूर्व मन्त्री पार्वत गुरुङ, प्रदेशसभा सांसद भरत केसीको उपस्थितिमा मनोनयन दर्ता गरेकी हुन् ।  २०७९ को निर्वाचनबाट गौरीशङ्करको उपाध्यक्ष पदमा निर्वाचित भएका कांग्रेसका श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त रहेको उक्त पदमा मङ्सिर १६ गते निर्वाचन हुने तय भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप