अभिनेता दयाहाङ राई विराटनगर किङ्सको सद्भावनादूत

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले निकट भविष्यमा आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्लबमध्येको एक विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो सद्भावनादूतमा नियुक्त गरेको छ ।
विराटनगर किङ्सले आइतबार आयोजित एक कार्यक्रमबिच अभिनेता दयाहाङलाई सद्भावनादूतमा नियुक्त गरेको हो । कार्यक्रममा अभिनेता दयाहाङले विराटनगर किङ्समार्फत आगामी एनपीएलमा जोडिन पाउँदा निकै खुसी लागेको बताए ।
एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । विराटनगर किङ्स एमएडी ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको छ । एमएडी ड्रिम्स स्पोर्टस प्रालिले एक करोड ५१ लाख रुपैयाँमा विराटनगर किङ्सको स्वामित्व खरिद गरेको थियो ।
विराटनगर किङ्सको मार्की खेलाडी सन्दीप लामिछाने हुन् । केही समयअघि काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा विराटनगर किङ्सले लोकेश बम र प्रतिश जीसीलाई १५–१५ लाख रुपैयाँमा खरिद गरेको थियो ।
अक्सनमा विराटनगर किङ्सले बसिर अहमदका लागि पनि १० लाख रुपैयाँ खर्चिएको थियो । यसका अतिरिक्त विराटनगर किङ्सले राजेश पुलामी मगर, जितेन्द्र कुमार मुखिया, अनिल खरेल र दीपक बोहरालाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो । विराटनगर किङ्सले सुवाष भण्डारीका लागि दुई लाख ५० हजार रुपैयाँ खर्चिएको थियो भने नरेन भट्ट र मृनाल गुरुङलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो ।
अक्सनमा विराटनगर किङ्सले कुल ६६ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो । विराटनगर किङ्समा विदेशी खेलाडीका रुपमा अकिब इलियस, निकोलस किर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
-
बिहीबारदेखि शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय