आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनमा साना दल : बहिष्कारदेखि चुनावी तालमेलसम्म

आइतबार, ०२ मङ्सिर २०८१, १४ : १३
आइतबार, ०२ मङ्सिर २०८१

काठमाडौँ । मंसिर १६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ ।   तर आयोगमा दर्ता भएका र बाहिर रहेका केही साना दलले भने उपनिर्वाचन बहिष्कार गरेका छन् । केही भने तटस्थ बसेका छन् ।

‘मिसन–०८४’ को अभियानमा जुटेका प्रमुख दल कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायत दलहरूले यो उपनिर्वाचनलाई जनमत परीक्षणको अवसरका रूपमा लिएका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा नेपालले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ । यद्यपि आफ्ना समर्थक तथा शुभेच्छुकलाई अन्य दलका उम्मेदवारलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुनै निर्देशन नदिएको उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

यसैगरी नेपाल मजुदर किसान पार्टीले काठमाडौँ उपत्यका लगायत उपनिर्वाचन हुने सबै स्थानमा उम्मेदवारी दिने संसदीय दलका नेता प्रेम सुवालले जानकारी दिए । तर अन्य दलसँग चुनावी तालमेल नहुने उनले बताए ।

यता मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । २०७० को संविधान सभा निर्वाचनदेखि बहिष्कार गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुर्जुवा संसदीय प्रणालीबाट समस्याको समाधान ननिस्कने निष्कर्ष निकालेको छ । संसदीय निर्वाचनमा भाग नलिने पार्टीको नीति रहेको सो पार्टीका नेता हुकुम सिंहले बताए ।

यस्तै क्रान्तिकारी कम्युनिस्टबाट फुटेर गएको नेकपा बहुमतले पनि स्थानीय तह उपनिर्वाचन बहिष्कार गरेको छ । कुनै पनि संसदीय निर्वाचनमा भाग नलिने पार्टीको निर्णय भएको संयोजक धर्मेन्द्र बास्तोलाले जानकारी दिए । 

यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि स्थानीय तह उपनिर्वाचनमा भाग नलिने जनाएको छ । विप्लव समाजवादी मोर्चाका संयोजक समेत छन् । मोर्चामा आबद्ध ठुला दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको नेकपाका नेता कर्णजित बुढाथोकीले जानकारी दिए । अन्य उम्मेदवारलाई समर्थन गर्ने वा नगर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने उनको भनाइ छ ।

‘स्थानीय तह उपनिर्वाचनमा पार्टीले भाग लिँदैन । तर समाजवादी मोर्चामा सहभागी दलका उम्मेदवारलाई भोट हाल्ने वा नहाल्ने विषयमा निर्णय भएको छैन । केन्द्रीय समिति बैठकले यस विषयमा निर्णय लिन्छ होला’, उनले भने ।

गत वैशाखमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले ०८४ मा हुने आम निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । ०७० र ०७४ को निर्वाचन बहिष्कार गरेको नेकपाले ०७९ को स्थानीय तह निर्वाचनमा केही स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

यसैगरी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले काठमाडौँ उपत्यका लगायत केही स्थानमा उम्मेदवारी दिने नेतृ दुर्गा सोवले बताइन् । नयाँ शक्तिबाट कीर्तिपुर नगरपालिकाको मेयरमा दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराइसकेका छन् । अन्य स्थानमा एजेण्डा मिल्ने दलहरूसँग सहकार्य हुन सक्ने सोवको भनाइ छ ।

बाबुरामको पार्टीबाट अलग भएको अर्को दल नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको नेसपाको बैठकले माओवादीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको महासचिव रमेश यादवले बताए ।

सत्ता गठबन्धनमा रहेको दल नागरिक उन्मुक्ति पार्टीले सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । सत्ता गठबन्धन वा विपक्षी कोहीसँग पनि चुनावी तालमेल नहुने उनको भनाइ छ ।

सरकारमै रहेको अर्को घटक जनता समाजवादी पार्टीले सबै स्थानमा उम्मेदवारी दिने निर्णय गरेको छ । यद्यपि आवश्यकता अनुसार केही स्थानमा तालमेल हुन सक्ने वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले आवश्यकता अनुसार सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै दलसँग पनि तालमेल हुन सक्ने बताए ।

‘काठमाडौँ उपत्यका लगायत सबै स्थानमा उम्मेदवारी दिने भनेका छौँ । आवश्यकता अनुसार अन्य दलसँग तालमेल हुन सक्छ । सत्ता पक्ष वा प्रतिपक्ष जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्ने गरी ढोका खुला राखेका छौँ’, श्रेष्ठले भने ।

सत्ता पक्षकै अर्को दल जनमत पार्टीले मधेस लगायत सबै स्थानमा उम्मेदवारी दिने तयारी भएको पार्टीका उपाध्यक्ष दिपक साहले जानकारी दिए ।

यसैगरी नेपाल परिवार दलले एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । सत्ताघटककै अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता हुन नपाएकाले स्वतन्त्र उम्मेदवारी दिन लागेको महासचिव मनिष मिश्रले जानकारी दिए । निर्वाचनमा कुन दललाई समर्थन गर्ने भन्ने विषयमा पछि निर्णय हुने उनको भनाइ छ ।

यसैगरी राप्रपाबाट फुटेर बनेको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौँ–१६, सुनसरीको गढी गाउँपालिका–६ मा उम्मेदवारी दिएको छ । अध्यक्ष थापाकै गृहजिल्लामा रहेको हेटौंडा उपमहानगरपालिका–१२ मा राप्रपा र राप्रपा नेपालले साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । अघिल्लो निर्वाचनमा राप्रपा नेपालले एमालेसँग चुनावी तालमेल गरेको थियो ।

यता सत्ता र शक्ति संघर्षको लडाइँमा पार्टी विभाजन झेलेको जनता समाजवादी पार्टी नेपालले एकल उम्मेदवारी दिने नेता रामकुमार शर्माले जानकारी दिए । यद्यपि निर्वाचनको बेला माओवादी लगायत विचार, एजेण्डा मिल्ने शक्तिसँग सहकार्य हुन सक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप