आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय
च्याम्पियन्स ट्रफी क्रिकेट विवाद

पाकिस्तानलाई इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको साथ

आइतबार, ०२ मङ्सिर २०८१, १२ : ५९
आइतबार, ०२ मङ्सिर २०८१

काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा च्याम्पियन्स ट्रफी विवाद उत्सर्गमा छ । आगामी वर्षको प्रारम्भमै आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा सहभागी हुन भारतीय टोली पाकिस्तान नजाने भएपछि अहिले यो विवाद सबैभन्दा ठुलो चर्चाको विषय बनेको हो ।

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने आफ्नो टोली पाकिस्तान नजाने जानकारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई गराइसकेको छ ।

भारतीय टोली पाकिस्तान नजाने भएपछि आईसीसीले प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने छलफल अगाडि बढाएको छ । तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) भने प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने पक्षमा छैन ।

भारतीय टोली च्याम्पियन्स लिग खेल्न पाकिस्तान भ्रमणमा आउनु पर्ने पीसीबीको अडान छ । त्यसैले यो विवाद गम्भीर मोडमा पुगेको हो । बीसीसीआईले सुरक्षाको कारण देखाउँदै पाकिस्तान नजाने निर्णय लिएको हो ।

यो विवादका कारण आईसीसी पनि दबाबमा परेको छ । भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नआए भविष्यमा पाकिस्तानले भारतसँग कुनै पनि प्रतियोगिता नखेल्ने धम्की पनि आईसीसीलाई दिएको छ ।

यसैबिच, इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले पीसीबीको समर्थन गरेको छ । ईसीबीले पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि उच्चस्तरको तयारी गरेको जनाएको छ । च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान सुरक्षित गन्तव्य रहेको पनि ईसीबीले जनाएको छ ।

समाचारमा जनाइए अनुसार, पीसीबीका अध्यक्ष मोहसिन नकवी र प्रमुख कार्यकारी अधिकृत सलमान नसिरले हालै लन्डनमा ईसीबीका अध्यक्ष रिचर्ड थम्पसनसँग भेट गरेका थिए । उनीहरुले च्याम्पियन्स ट्रफीका लागि ईसीबीको साथ खोजेका थिए ।

उक्त भेटपछि ईसीबीका अध्यक्ष थम्पसनले च्याम्पियन्स ट्रफीको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘हाम्रो राष्ट्रिय टोलीले भर्खरै पाकिस्तानको भ्रमण गरेको छ । पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि निकै स्तरीय तयारी गरिरहेको छ । च्याम्पियन्स ट्रफीका लागि पीसीबीलाई हाम्रो शुभकामना पनि छ,’ ईसीबी अध्यक्ष थम्पसनले भनेका छन् ।

आईसीसी भने प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गरेर विवादको समाधान खोज्ने योजनामा देखिन्छ । बीसीसीआई पनि प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गरिनु पर्ने वा पाकिस्तानबाट प्रतियोगिता दक्षिण अफ्रिकामा सारिनु पर्ने पक्षमा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप