आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय
चुरे संरक्षण

चुरेविना तराईमा जीवन छैन

आइतबार, ०२ मङ्सिर २०८१, १२ : ५३
आइतबार, ०२ मङ्सिर २०८१

चुरेमा समग्र नेपालको १२.७८ प्रतिशत भूभाग छ । यो ठ्याक्कै तराईदेखि माथि र मध्य पहाडभन्दा तल पर्छ । सरदर १५ सय भए पनि कुनै कुनै स्थानमा चुरे १९ सय मिटरसम्म अग्लो छ । 

कोशीटप्पु, पर्सा राष्ट्रिय निकुञ्जसँगै चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अधिकांश भाग चुरेमा पर्छन् । जो जीवजन्तुका मुख्य वासस्थान हुन् । चुरे पूर्वदेखि पश्चिमसम्म एक मात्र ‘ग्रिन करिडोर’ हो । पाटेबाघ, हुँडार, अर्ना, काठे भालु, तामे सालक जस्ता दुर्लभ जनावरको वासस्थान हो । 

नदीजन्य पदार्थ थुप्रिएर बनेको कान्छो पहाड भएका कारण चुरे क्षेत्र निकै संवेदनशील मानिन्छ । विभिन्न अध्ययनका अनुसार चुरे क्षेत्रमा कुनै बेला खोला थियो । त्यस कारण यो क्षेत्र कच्चा छ । 

नेपालमा भित्रिने मनसुन र बहने हावा दक्षिण–पश्चिम क्षेत्रबाटै आउने हो । त्यहाँबाट भित्रिँदै गर्दा बादल, हावा सबै पहिलोपटक चुरे पहाडमा ठोकिन्छ । यसले गर्दा नेपालको अन्य भूभागमा भन्दा चुरे क्षेत्रमा बढी वर्षा हुन्छ । तराईमा वार्षिक १२ सय मिलिमिटरसम्म पानी पर्दा यहाँ १५ देखि १८ सय मिलिमिटरसम्म वर्षा भएको पाइन्छ । 

बनावटका हिसाबले यो संवेदनशील छ नै, बढी पानी परेपछि यसमा थप जोखिम निम्तिने नै भयो । कमजोर माटो भएका कारण पहिरो जाने र माटो बग्ने यो क्षेत्रको मुख्य समस्या हो । 

पछिल्लो समय हामी मान्छेले चुरेको व्यापक दोहन गरेका छौँ । २०३० सालपछि पूर्णरूपमा महेन्द्र राजमार्ग चल्न थालेपछि चुरेको अतिक्रमण सुरु भएको हो । राजमार्गसँगै वरपर बस्ती बस्न थाल्यो । जीवन निर्वाहका लागि मानिसले चुरेको अनियन्त्रित रूपमा प्रयोग गरे । 

पछिल्लो समय चुरेलाई चिरेर उत्तर–दक्षिण राजमार्गहरू पनि उत्तिकै बनेका छन् । यसले गर्दा चुरेमा पस्न मान्छेलाई थप सजिलो भयो । विकास निर्माण गर्नुपर्छ, आवश्यक छ तर त्यसमा वातावरणीय पक्षलाई पनि ध्यान दिन जरुरी छ । जहाँ हामी नेपाली चुकेका छौँ । 

विकसित देशहरूले अहिले वातावरण संरक्षण र विकास निर्माणलाई सँगसँगै अगाडि बढाइरहेका छन् । उनीहरू वन्यजन्तु तथा प्रकृतिमैत्री पूर्वाधार निर्माणमा अगाडि बढेका छन् । हाम्रो ध्यान भने अझै यसमा पुग्न सकेको छैन । 

चुरेको फेदमै बनिरहेका घना बस्तीले पनि यसको दोहनमा भूमिका खेलका छन् । तराईको पानीका लागि त चुरे एक मात्रै स्रोत हो । पूर्वदेखि पश्चिमसम्म फैलिएका बस्तीका हरेक घरमा इनारबाट पानी निकालिएको छ । पछिल्लो समय बनेका ठुला उद्योग, कलकारखाना तथा होटलहरूले झन् डिप बोरिङ गरेरै पानी निकालेका छन् । तर, प्राकृतिक रूपमा रिचार्ज (पुनर्भरण) गर्ने बाटो हामीले बिथोलिदिएका छौँ । विकल्पमा पानी रिचार्जका कृत्रिम उपाय पनि अपनाएका छैनौँ । जथाभावी डोजर चलाउँदा, पूर्वाधार निर्माण गर्दा हामीले पानीको मुहान संरक्षण गर्न सकेका छैनौँ । यसले जमिनमुनि भएको पानीको बाटो बिथोलिएको छ । 

नदीबाट नियन्त्रित रूपमा पनि बालुवा, ढुङ्गा निकाल्नै हुन्न भन्ने गलत भाष्य स्थापित गरेका छौँ । त्यसका साथै अनियन्त्रित रूपमा गिट्टी, ढुङ्गा, बालुवाको उत्खननले पनि यहाँ समस्या ल्याएको छ । तर यो व्यवस्थित गरेर निकाल्नैपर्ने हुन्छ । व्यवस्थित रूपमा बालुवा निकाल्न नदिँदा खोलाको सतह माथि आएको छ । यसले तटीय क्षेत्रमा क्षति गर्दै आएको छ, बाढीको जोखिम बढाएको छ ।  

कतिपय खोलामा व्यवस्थित रूपमा बालुवा निकाल्न नदिँदा भावर क्षेत्रमा थुप्रिएको माटो, बालुवा, ढुङ्गाका कारण नदी तथा खोलाको गति बढेको छ । गति बढी भएका खोला, नदीले पानी ‘रिचार्ज’ कम गर्छन् । यसको असर खानेपानीको स्रोतमा देखिन थालेको छ । 

दशक अघिसम्म मात्रै भावर क्षेत्रमा ३० फिटमा आउने इनारको पानी हिजोआज १५० फिटसम्म खन्नुपर्छ । जनकपुर, महेन्द्रनगर, ढल्केबरतिर त ३०० फिटसम्म गहिरो खन्नुपर्छ । जुन केही वर्ष अघिसम्म १०० फिट भए पुग्थ्यो । यो समस्या मधेश प्रदेश र कैलाली कञ्चनपुर क्षेत्रमा बढी देखिएको छ । मधेश प्रदेशका केही क्षेत्रका बासिन्दा बर्खायाममै पानी माग्दै काठमाडौँ आउनुपर्ने अवस्था आयो । यसको मुख्य कारण चुरेमा भएको दोहन नै हो । चुरेको विनाश हुनु भनेको तराई जनजीवनमा असर गर्नु हो ।  

चुरेबाट निस्केका १६४ वटा खोला छन् । भिरालो ठाउँमा रहेका कारण यी बढी हानिकारक छन् । सानो पानीले पनि चुरे भएर बग्ने खोलामा ठुलो बाढी आउँछ । भिरालोमा बग्ने खोलाको वेगले पनि क्षति बढी गर्छ । यसले गर्दा चुरे क्षेत्रबाट बगाएर लगेको गेग्रान र माटो यी खोलाले भावर क्षेत्रमा थुपार्छन् । त्यसरी थुप्रिएको गेग्रान वा माटोलाई व्यवस्थित रूपमा उत्खनन् नगर्दा थप समस्या आएको छ । 

दशक अघिसम्म मात्रै भावर क्षेत्रमा ३० फिटमा आउने इनारको पानी हिजोआज १५० फिटसम्म खन्नुपर्छ । जनकपुर, महेन्द्रनगर, ढल्केबरतिर त ३०० फिटसम्म गहिरो खन्नुपर्छ । जुन केही वर्ष अघिसम्म १०० फिट भए पुग्थ्यो ।

यसको समाधानका लागि खोलामा बाँध बनाउने र निश्चित मिटरको ढुङ्गा, गिट्टी निकाल्ने नै हो । अर्को कुरा, चुरे पहाडको डाँडामा प्रशस्त मात्रामा पोखरी बनाउने हो । यसले रिचार्जदेखि वन्यजन्तुको संरक्षणमा समेत सघाउ पु¥याउँछ । भावर क्षेत्रमा पनि यस्ता पोखरी आवश्यक छ । तराई क्षेत्रमा भित्रभित्रै भावरबाटै पानी पुग्ने हो । जसले गर्दा तराईमा पानीको हाहाकार हुन दिँदैन । 

पछिल्लो समय आएको आधुनिक प्रविधिले पनि चुरेलाई थप क्षति ग¥यो । जस्तो ः सानो कामका लागि ट्याक्टर, डोजर, लोडरको प्रयोग गर्दा क्षति बढ्यो । संघीयतापछि डोजरको प्रयोग अत्यधिक भएको छ । कस्तो ठाउँमा र कस्तो कामका लागि डोजर प्रयोग गर्ने भन्नेमा सरकारले ध्यान दिन जरुरी छ । 

जलवायु परिवर्तको असर पनि नेपालजस्ता देशमा देखिन थालेको छ । मौसममा देखिएको बदलावले पृथ्वीको औसत तापक्रम बढाएको छ । तापक्रम बढेसँगै समुद्रबाट बढी पानी वाष्पीकरण हुन थाल्यो । यसले गर्दा कुनै क्षेत्रमा लामो समय खडेरी भइरहने र कुनै क्षेत्रमा छोटो समयमा भारी वर्षा हुन थालेको देखिन्छ । हाम्रो देशमा पछिल्ला केही वर्षमा भएको वर्षाको अध्ययनले पनि त्यसलाई पुष्टि गरेको छ । स्वाभाविक रूपमा लामो खडेरी अनि छोटो समयमा धेरै वर्षाले चुरे क्षेत्रलाई प्रभाव पारेको छ । बाढी, पहिरो, भूक्षयजस्ता विपत् बढाएको छ । 

यी विविध कारणले गर्दा चुरेमा विनाश निम्तिएको छ । यसको प्रत्यक्ष मार पूर्वदेखि पश्चिमसम्मकै तराई क्षेत्रले भोग्न थालेको छ । दुई दशकअघिसम्म चुरेका खोलामा आएको बाढी मलिलो मानिन्थ्यो । तर, अहिले विनाशकारी भएको छ । चुरेका खोलामा अहिले बालुवा र गेग्रान मात्रै बग्छ । यसको मुख्य कारण चुरेको दोहन नै हो । चुरे तराईका लागि ‘लाइफलाइन’ हो । यो विना तराईको जीवन कल्पना पनि गर्न सकिँदैन । 

त्यसो त चुरेको संरक्षणका लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट पनि उत्तिकै प्रयास भएका छन् । यसका लागि हरेका वर्ष अर्बभन्दा बढी रकम खर्च भएको पाइएको छ, प्रभावकारी काम भने कुनै निकायबाट नभएको हो कि जस्तो देखिन्छ । स्थानीय समुदायलाई जिम्मेवार र जवाफदेही बनाउन सके चुरेको संरक्षण हुन्छ । प्राकृतिक स्रोतको उपयोगमा पनि सरकारले विशेष व्यवस्था गर्न जरुरी छ । यस्ता स्रोतको उपयोग गर्दा सरकारी निकायबाट हुने नियमन र अनुगमन अत्यन्तै आवश्यक छ । 

(‘चुरे पर्वत भएर बग्ने खोलाको तराईसँग अन्तरसम्बन्ध’ विषयमा विद्यावारिधि गरेका सिंहसँग मस्त केसीले गरेको कुराकानीमा आधारित ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. विजय सिंह
डा. विजय सिंह
लेखकबाट थप