आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
विश्व क्रिकेटको रोचक पक्ष

सबैभन्दा बढी ‘नर्वस नाइन्टिज’ को सिकार हुने यी अभागी क्रिकेटर !

आइतबार, ०२ मङ्सिर २०८१, १९ : ००
आइतबार, ०२ मङ्सिर २०८१

काठमाडौँ । विश्व क्रिकेटमा एउटा शब्द निकै चर्चित छ, ‘नर्वस नाइन्टिज’ । कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिकेर ९० रनभन्दा बढी बनाउँदै शतक पुरा गर्नुअघि नै आउट हुन्छ भने यस्तो अवस्थालाई ‘नर्वस नाइन्टिज’ भनिन्छ । 

तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याट्सम्यानका लागि शतकले ठुलो अर्थ राख्छ । ब्याट्सम्यानले बनाएको शतकले टोलीको सफलतामा महत्त्वपूर्ण योगदान त दिन्छ नै सँगसँगै सम्बन्धित खेलाडीको उपलब्धिमा पनि यसले विशेष अर्थ राख्छ ।

त्यसैले हरेक ब्याट्सम्यानले शतक बनाउन सक्दो प्रयास गर्छन् । अझ, लामो समय क्रिजमा टिकेर ९० रन बनाएपछि ब्याट्सम्यानमा शतक पुरा गर्ने लोभ झनै बढेर आउँछ । यस्तो स्थितिमा ब्याट्सम्यानले छुट्टै दबाब पनि अनुभव गर्छन् । 

त्यसैले ९० रन बनाइसकेपछि ब्याट्सम्यानहरु मानसिक रुपमा पनि अधैर्य बन्न पुग्छन् । त्यसको प्रत्यक्ष असर उनीहरूको खेलमा पर्छ । अनावश्यक दबाबमा आएर ब्याटिङ गर्दा ब्याट्सम्यानहरु शतक पुरा गर्नुअघि नै आउट हुन्छन् । 

यस्तो अवस्थालाई नै क्रिकेटमा ‘नर्वस नाइन्टिज’ भनिन्छ । विश्व टेस्ट क्रिकेटमा एउटै खेलाडी धेरैपटक ‘नर्वस नाइन्टिज’ को सिकार भएका उदाहरण छन् । यहाँ टेस्ट र एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी ‘नर्वस नाइन्टिज’ को सिकार हुने खेलाडीको बारेमा चर्चा गरिएको छ ।

स्टिभ वा (टेस्ट क्रिकेट, १० पटक)

Steve Waugh Test

आफ्नो समयका प्रभावशाली अस्ट्रेलियन खेलाडी हुन्, स्टिभ वाँ । उनी अस्ट्रेलियाका लागि १८ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी पनि हुन् । चर्चित ब्याटिङ अलराउन्डर स्टिभ वाले देशका लागि एक सय ६८ टेस्ट खेलेका छन् । 

५९ वर्षीय स्टिभ वाले टेस्ट क्रिकेटमा कुल १० हजार नौ सय २७ रन बनाएका छन् । यस क्रममा उनले ३२ शतक र ५० अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय रन हो । उनले टेस्ट क्रिकेटमा ९२ विकेट पनि लिएका छन् ।

यी चर्चित अलराउन्डर टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा बढीपटक ‘नर्वस नाइन्टिज’ को सिकार भएका छन् । उनी टेस्ट क्रिकेटमा १० पटक ९० भन्दा बढी रन बनाएर पनि शतक पुरा गर्नुअघि नै आउट भएका छन् । 

राहुल द्रविड (टेस्ट क्रिकेट, १० पटक)

Rahul Dravid Test

भारतीय टोलीका पूर्वकप्तान हुन्, राहुल द्रविड । भारतीय टोलीको थुप्रै सफलतामा उनको महत्त्वपूर्ण योगदान गरेको छ । सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि ५१ वर्षीय राहुल द्रविडले भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

राहुल द्रविड भारतका लागि २४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी पनि हुन् । उनले भारतीय टोलीका लागि एक सय ६४ टेस्टको दुई सय ८६ पालीमा कुल १३ हजार दुई सय ८८ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनले १२ शतक र ८३ अर्धशतक बनाएका छन् । 

टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ५३ रन हो । उनी टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा बढीपटक ‘नर्वस नाइन्टिज’ को सिकार भएका छन् । उनी पनि टेस्ट क्रिकेटमा १० पटक ९० भन्दा बढी रन बनाएर शतक पुरा गर्नुअघि नै आउट भएका छन् । 

सचिन तेन्दुलकर (टेस्ट क्रिकेट, १० पटक)

Sachin Tendulkar oneday International

सचिन तेन्दुलकर विश्व क्रिकेटका सर्वकालीन महान् खेलाडीमध्येका एक हुन् । प्रभावशाली ब्याटिङ अलराउन्डर सचिन तेन्दुल्करले खेलजीवनबाट सन्न्यास लिनुअघि भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।   

खेलजीवनबाट विश्राम लिएको निकै लामो समय बितिसक्दा पनि ५१ वर्षीय सचिनले विश्व क्रिकेटमा बनाएका थुप्रै कीर्तिमान अझसम्म उनकै नामसँग जोडिएर रहेका छन् । उनी भारतका लागि ३४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । 

उनले भारतका लागि दुई सय टेस्टको तीन सय २९ पालीमा कुल १५ हजार नौ सय २१ रन बनाएका छन् । यस क्रममा उनले ५१ शतक र ६८ अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय ४८ रन हो । 

टेस्ट क्रिकेटमा उनले ४६ विकेट पनि लिएका छन् । विश्व क्रिकेटका यी महान् खेलाडी पनि टेस्टको इतिहासमा संयुक्त रुपमा सबैभन्दा बढीपटक ‘नर्वस नाइन्टिज’ को सिकार भएका छन् । उनी पनि टेस्ट क्रिकेटमा १० पटक ९० भन्दा बढी रन बनाएर शतक पुरा गर्नुअघि नै आउट भएका छन् ।

माइकल स्लाटर (टेस्ट क्रिकेट, ९ पटक)

माइकल जोनाथन स्लाटर अस्ट्रेलियन टोलीका पूर्वखेलाडी हुन् । उनले अस्ट्रेलियाका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि ५४ वर्षीय माइकल स्लाटरले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । 

माइकल स्लाटरले अस्ट्रेलियाका लागि ७४ टेस्टको एक सय ३१ पालीमा कुल पाँच हजार तीन सय १२ रन बनाएका छन् । यस क्रममा उनले १४ शतक र २१ अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय १९ रन हो ।

माइकल स्लाटर पनि टेस्ट क्रिकेटको इतिहासमा बढीपटक ‘नर्वस नाइन्टिज’ को सिकार हुने खेलाडीको सूचिमा पर्छन् । उनी पनि टेस्ट क्रिकेटमा नौपटक ९० भन्दा बढी रन बनाएर शतक पुरा गर्नुअघि नै पेभेलियन फर्किएका छन् ।

सचिन तेन्दुलकर (एकदिवसीय अन्तर्राष्ट्रिय, १८ पटक)

sachin

भारतीय क्रिकेटर सचिन तेन्दुलकर टेस्ट क्रिकेटमा मात्र होइन, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सबैभन्दा बढी पटक ‘नर्वस नाइन्टिज’ को सिकार बन्ने खेलाडी हुन् । उनले भारतका लागि चार सय ६३ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

सचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार चार सय २६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ४९ शतक र ९६ अर्धशतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले बनाएको उच्च स्कोर अविजित दुई सय रन हो । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय ५४ विकेट पनि लिएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमासबैभन्दा बढी पटक ‘नर्वस नाइन्टिज’ को सिकार बन्ने खेलाडी हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १८ पटक ९० भन्दा बढी रन बनाएर पनि शतक पुरा गर्नुअघि नै पेभेलियन फर्किएका छन् ।

केन विलियम्सन (एकदिवसीय अन्तर्राष्ट्रिय, ९ पटक

Kane Williamson oneday International

न्युजिल्यान्डका चर्चित क्रिकेटर हुन्, केन विलियम्सन । ३४ वर्षीय केन विलियम्सनले देशका लागि १८ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् । उनी पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बढीपटक ‘नर्वस नाइन्टिज’ को सिकार हुने खेलाडी हुन् ।

केन विलियम्सनले एक सय ६५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै कुल ६ हजार आठ सय १० रन बनाइसकेका छन् । यस क्रममा उनले १३ शतक र ४५ अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने एक सय ४८ रन हो । 

क्षमतावान स्पिन बलरसमेत रहेका केन विलियम्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३७ विकेट पनि लिएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नौपटक ९० भन्दा बढी रन बनाएर पनि शतक पुरा गर्नुअघि नै आउट भएका छन् ।

ग्रान्ट फ्लावर (एकदिवसीय अन्तर्राष्ट्रिय, ९ पटक)

Grant Flower oneday International

जिम्बाबेका पूर्वखेलाडी हुन्, ग्रान्ट फ्लावर । उनी पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बढीपटक ‘नर्वस नाइन्टिज’ को सिकार हुने खेलाडी हुन् । सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि ५३ वर्षीय ग्रान्ट फ्लावरले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

ग्रान्ट फ्लावरले जिम्बाबेका लागि १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनले दुई सय २१ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको कुल ६ हजार पाँच सय ७१ रन बनाएका छन् । यस क्रममा उनले ६ शतक र ४० अर्धशतक प्रहार गरेका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ४२ रन हो । यो ढाँचाको क्रिकेटमा उनले एक सय चार विकेट पनि लिएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नौपटक ९० भन्दा बढी रन बनाएर पनि शतक पुरा गर्नुअघि नै आउट भएका छन् ।

नाथन एस्टल (एकदिवसीय अन्तर्राष्ट्रिय, ९ पटक) 

Nathan Astle oneday International

न्युजिल्यान्डका पूर्वक्रिकेटर हुन्, नाथन एस्टल । उनी आफ्नो समयका प्रभावशाली ब्याटिङ अलराउन्डर थिए । ५३ वर्षीय नाथन एस्टलले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले किविज टोलीका लागि ११ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

नाथन एस्टलले दुई सय २३ एकदिवसीय अन्तर्राष्ट्रियको दुई सय १७ पालीमा कुल सात हजार ९० रन बनाएका छन् । यस क्रममा उनले न्युजिल्यान्डका लागि १६ शतक र ४१ वटा उत्कृष्ट अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित एक सय ४५ रन हो । 

यो ढाँचाको क्रिकेटमा उनले ९९ विकेट पनि लिएका छन् । उनी पनि बढीपटक ‘नर्वस नाइन्टिज’ को सिकार हुने अभागी खेलाडीको सूचिमा पर्छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नौपटक ९० भन्दा बढी रन बनाएर पनि शतक पुरा गर्नुअघि नै पेभेलियन फर्किएका छन् ।

अरविन्दा डे सिल्भा (एकदिवसीय अन्तर्राष्ट्रिय, ९ पटक)

Aravinda de Silva oneday Internationalविश्व क्रिकेटका चर्चित हस्ती हुन्, अरविन्दा डे सिल्भा । उनी आफ्नो समयमा प्रभावशाली ब्याटिङ अलराउन्डर थिए । उनले श्रीलंकाका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । ५९ वर्षीय अरविन्दा डे सिल्भाले श्रीलंकाका लागि १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

अरविन्दा डे सिल्भाले तीन सय आठ एकदिवसीय अन्तर्राष्ट्रियको दुई सय ९६ पालीमा कुल नौ हजार दुई सय ८४ रन बनाएका छन् । यस क्रममा उनले ११ शतक र ६४ वटा उत्कृष्ट अर्धशतक पनि प्रहार गरेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने एक सय ४५ रन हो । उनले यो ढाँचाको क्रिकेटमा एक सय ६ विकेट पनि लिएका छन् । उनी पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नौपटक ‘नर्वस नाइन्टिज’ को सिकार भएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप