हंगेरीका सहायक प्रशिक्षक अचेत भएर ढलेको खेलमा नेदरल्यान्ड्सको सजिलो जित
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले सजिलो जित हासिल गरेको छ । घरेलु मैदानमा खेलिएको एकपक्षीय खेलमा नेदरल्यान्ड्सले बलियो प्रतिद्वन्द्वी हंगेरीमाथि ४–० गोलको जित हात पारेको हो ।
हारसँग हंगेरीले अर्को दुःखद क्षणको सामना पनि गर्नु पर्यो । खेलका क्रममा हंगेरीका सहायक प्रशिक्षक एडम स्जालाई अचेत भएर मैदानमा ढलेका थिए । मैदानमा प्राथमिक उपचारपछि उनलाई अस्पताल पुर्याइएको थियो ।
३६ वर्षीय सहायक प्रशिक्षक एडमको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । सहायक प्रशिक्षक एडम अचेत भएर ढलेपछि केही समय खेल अवरुद्ध बन्न पुगेको थियो । स्पेनिस रेफ्री जिसस गिल मन्जानोले करिब १० मिनेट खेल रोकेका थिए ।
सहायक प्रशिक्षक एडम खेल सुरु भएको पहिलो मिनेटमै अचेत भएर ढलेका थिए । ‘एडमको होस खुलिसकेको छ र उहाँको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । चिकित्सकहरुले थप परीक्षण गरिरहेका छन्,’ हंगेरी फुटबल महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सहायक प्रशिक्षक एडम हंगेरीका पूर्वखेलाडी पनि हुन् । उनले हंगेरीका लागि ८६ खेल खेलेका छन् । उनले सन् २०२३ मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । उनले जर्मनीका विभिन्न क्लबबाट पनि व्यवसायी फुटबल खेलेका थिए ।
उक्त खेलमा जितसँगै नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । खेल सुरु भएको २१औँ मिनेटमा नेदरल्यान्ड्सका लागि वाउट वेघोस्र्टले पहिलो गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
पहिलो हाफको इन्जुरी समयमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले दोस्रो गोल थपेका थिए । उनले पनि पेनाल्टीमार्फत नै गोल गरेका थिए । निर्धारित समयको ६४औँ मिनेटमा डेन्जेल डम्फ्रिजले तेस्रो गोल थपेका थिए । डच टोलीका लागि चौथो गोल भने ८५औँ मिनेटमा ट्युन कुपमेनर्सले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई