आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

समाजवादी पार्टीबाट भित्र्याएका नेतालाई एमालेले बनायो उम्मेदवार, पार्टीभित्र असन्तुष्टि

रास्वपाले उम्मेदवार उठाएसँगै रोचक बन्दै चार पक्षीय चुनावी माहोल, उम्मेदवार को–कस्तो ?
आइतबार, ०२ मङ्सिर २०८१, ०९ : २७
आइतबार, ०२ मङ्सिर २०८१

सुर्खेत । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । स्मरण रहोस् शाही मंगलबार मात्रै एमालेमा प्रवेश गरेका हुन् । 

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य रहेका शाहीलाई कर्णालीका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले दैलेख पुगेर पार्टीमा स्वागत गरेका थिए । 

उम्मेदवार बनेका शाही पुर्व एमाले नै हुन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष चलाइसकेका हुन् । यद्यपि तत्कालीन एमाले विभाजन हुँदा अध्यक्ष भइरहेकै बेला उनी माधवकुमार नेपाल नेतृत्वको समाजवादीतिर लागे ।

उनलाई समाजवादीमा लिन प्रमुख भूमिका निभाएका थिए, तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिँदा ‘फ्लोर क्रस’ गरेका अम्मरबहादुर थापाले । शाही समाजवादीमा लागेपछि थापाको ‘एसम्यान’का रूपमा चिनिन्थे । दैलेखमा प्रभावशाली मानिएका थापा समाजवादीको प्रदेश अध्यक्ष भइसकेका छन् भने शाहीलाई जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बनाए । यस्तै ०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा समाजवादीबाट उम्मेदवार पनि बने । यद्यपि उनी पराजित भए । 

समाजवादीमै अवसर पाइरहेका शाही एक्कासि समाजवादीको प्रदेश अधिवेशन चलिरहेकै दिनमा उनी दैलेख पुगेर एमाले प्रवेश गरे । उनको प्रवेशले कतिपय एमाले दैलेखमा नेता, कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् । हुँदाहुँदै उनै शाहीलाई उपनिर्वाचनमा उम्मेदवार बनाएपछि अध्यक्षका लागि आकाङ्क्षी मानिएका नेताहरू पूर्ण रूपमा असन्तुष्ट बनेका छन् । 

सिफारिस गरिएकालाई उपेक्षा

शाही एमाले प्रवेश गर्नुअघि नै एमाले महावु गाउँपालिका कमिटीले उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको थियो । जसमा उपेन्द्रबहादुर सिंह, कलमबहादुर शाही लगायत रहेका छन् । ती सबै स्थानीय स्तरमा चिनिएका नेताहरू पर्दछन् । 

उम्मेदवार बनाइएका शाही प्रवेशपछि एमाले जिल्ला पार्टीभित्र व्यापक विरोध समेत भयो । ‘उहाँ आफैँमा अवसरवादी नेता हो, जहाँ अवसर पायो त्यतै जानुहुन्छ, एमाले प्रवेश गर्नु पहिला कांग्रेसतिर जाने कि भन्ने हल्ला पनि सुनिएको हो,’ एमालेका एक स्थानीय नेताले रातोपाटीसँग भने, ‘कताकता कुन नेताको चाकरी गर्नुभयो र एमाले प्रवेश गर्नुभयो । हाम्रो पार्टी पनि उस्तै उनैलाई टिकट दियो ।’

उनलाई अध्यक्ष बनाउने थाह पाएपछि केही दिन जिल्ला पार्टीमा विवाद समेत भयो । जसका कारण उम्मेदवार टुङ्ग्याउन ढिलाइ भएको थियो । एमाले दैलेख जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले उनलाई सर्वसम्मत तरिकाले उम्मेदवार बनाइएको बताए । उनलाई उम्मेदवार बनाइएकोप्रति खासै विवाद नरहेको उनको भनाइ छ ।

तर उम्मेदवारका लागि सिफारिस भएकाले बागी हाल्ने सम्भावना बढी रहेको एक नेताले रातोपाटीलाई बताए । 

चार पक्षीय प्रतिस्पर्धा

कर्णालीमा हुने ८ वटा ठाउँको उपनिर्वाचनमध्ये सबैको चासोको रूपमा छ—महावुको अध्यक्ष । जसका कारण सबै दलहरूको चासो महावुमै छ । 

यहाँ चार राजनीतिक दलहरूबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट यहाँ युवा नेता झलक भण्डारी उम्मेदवार छन् । माओवादीबाट जंगबहादुर बराल रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा)’ले समेत चर्चित युवालाई उम्मेदवार बनाएको छ । रास्वपाबाट प्रकाशकुमार बुढा उम्मेदवार छन् ।

यसअघि स्थानीय चुनावमा भाग नलिएको रास्वपाले उम्मेदवार बनाएसँगै चुनावी माहोल थप रोचक बन्ने आकलन गरिएको युवा नेताहरू बताउँछन् । ‘एमालेबाट उम्मेदवार बनाइएका शाही यसअघि परीक्षण भइसकेका र राजनीतिक अवसरवादीको रूपमा परिचित भइसकेका छन्,’ नाम नखुलाउने शर्तमा एमालेका एक स्थानीय नेता भन्छन्, ‘कांग्रेसबाट उम्मेदवार बनेका युवा पनि राम्रै पढेलेखेका हुन्, घण्टी पार्टी पनि चुनावमा भाग लिने भएछ । उहाँ साथी पनि राम्रो व्यक्ति हो । अहिलेको चुनाव कसको पक्षमा आउला भन्न सकिने अवस्था छैन ।’

रास्वपाबाट उम्मेदवार बनेका बुढा विगतमा एमाले, समाजवादी हुँदै रास्वपामा गएका हुन् । उनी समाजसेवीका रूपमा समेत चिनिन्छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी विद्यार्थी राजनीतिबाट आएका र इमान्दार छविका व्यक्ति हुन् । माओवादीबाट उम्मेदवार बनेका बराल भने यसअघि ०७४ मै सोही पदमा पराजित व्यक्ति हुन् । 

०७९ को स्थानीय तहको निर्वाचनका बेला अध्यक्षले पाएको मत हेर्दा कांग्रेसका लछुमन गुरुङले २ हजार ९७९ मत पाएर विजयी भएका थिए । त्यो मत माओवादीको सहित हो ।

गुरुङका निकटम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६९ मत पाएका थिए । त्यो बेला उम्मेदवार बनेका एमालेका उपाध्याय अहिले पार्टीभित्र असन्तुष्ट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप