अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु
झाँसी । भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लाको एक सरकारी मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ ।
शुक्रबार महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगलागी भएको थियो ।
आगलागीमा परी १० नवजात शिशुको मृत्यु भएको छ भने अरू १६ जना जलेर घाइते भएका छन् । उक्त कलेजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सचिन महोरका अनुसार शुक्रबार राति साढे १० बजे अस्पतालमा आगलागी भएको थियो ।
आगो नियन्त्रणमा लिँदासम्म करिब १२ बजिसकेको थियो । अस्पतालमा ४९ जना बालबालिका भर्ना भएर उपचार गराइरहेका थिए । उनका अनुसार अन्य बालबालिकाहरूलाई भने बचाइएको छ ।
मृत्यु भएकामध्ये तीन जना बालबालिकाको सनाखत हुन सकेको छैन । आगलागी भएको युनिटमा रहेका अधिकांश बालबालिका अक्सिजन सपोर्टमा रहेकाले पनि आगलागी फैलिन मद्दत पुगेको महोरले बताए ।
'अस्पतालमा आगलागी भएको घटनालाई हेर्दा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्छ,' अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन् ।