अग्लुङफेदीमा पक्की पुल निर्माण सुरु
प्यूठान । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङफेदी खोलामा दुई लेनको मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ ।
प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकावासीको सहजतासँगै बाग्दुला भीमगिठे सडकखण्डमा पुल निर्माण सुरु गरिएको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए ।
उनका अनुसार सडक पूर्वाधार विकास कार्यालयसँग एम/एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले २०८१ मङ्सिर ८ गते निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरेको हो ।
चार करोड १४ लाख २९ हजार नौ सय ७९ मा पुल निर्माण हुनेछ । पुलको फाउण्डेशन तयार गरी शुक्रबार शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
मन्त्री ढकालले तोकिएकै समयमा कार्यसम्पन्न गर्न निर्देशन दिए । सरकारले देखिने र महसुस हुनेगरी विकास निर्माणको काम अघि बढाएको उनले बताए ।
सहकारीमन्त्री पन्थीले विकट बस्तीलाई विकासको मूलधारमा ल्याउन सरकारले प्राथमिकतामा राखेको बताए। पक्की पुलको शिलान्यास भएसँगै प्यूठानको गौमुखी र गुल्मीको अग्लुङफेदी बासिन्दामा खुसी छाएको छ ।
निर्माण व्यवसायी विजय खनालले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।