१० बजे, १० समाचार
आज मिति २०८१ साल मंसिर महिनाको १ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
- उपनिर्वाचन
मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ ।
महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौँको दुई सिटमा तालमेलको सहमति बनेको छ ।
नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले सो निर्णय गरेको हो ।
सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
नेकपा एकीकृत समाजवादीले मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि १३ पदमा उम्मेदवार टुङ्गो लगाएको छ । शनिवार दिउँसोसम्म एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र १० वडाध्यक्ष पदम उम्मेदवार टुङ्गो लगाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
- राष्ट्रिय कर दिवस
यस वर्षको उत्कृष्ट करदाता घोषणा गरिएको छ । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले शनिवार आयोजना गरेको कार्यक्रममा यस्तो घोषणा गरिएको हो । आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरिएको थियो । त्यसरी छानिएका व्यक्ति तथा संस्थाहरूलाई अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करदाताको प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।
- पारिश्रमिक पाउन थाले
पछिल्लो समय पश्चिम तराईस्थित थारु बस्तीका नेतृत्वले बाली (पारिश्रमिक) पाउन थालेका छन् । वर्षभरि गाउँको सेवा गरेबापत गाउँलेबाट उनीहरूले पारिश्रमिक स्वरुप जिन्सी र नगद पाएका हुन् ।
- विश्व क्रिकेटको इतिहास
हरेक खेलमा खेलाडीको उमेर र शारीरिक तन्दुरुस्तीले ठुलो अर्थ राख्छ । त्यसमाथि पनि क्रिकेट खेलमा त खेलाडीको उमेर र शारीरिक अवस्थाले झनै ठुलो अर्थ राख्छ । अझ निरन्तर पाँच दिनसम्म टेस्ट क्रिकेट खेल्न त खेलाडी झनै तन्दुरुस्त हुन आवश्यक छ । त्यसैले उमेर बढ्दै गएपछि खेलाडीले सक्रिय खेल जीवनबाट सन्न्यास लिन्छन् र युवा खेलाडीलाई टोलीमा अवसर प्रदान गर्छन् । उदाहरणका लागि इङ्ल्यान्डका तीव्र गतिका प्रभावशाली बलर जेम्स एन्डर्सनले ४० वर्ष पार गर्नासाथ उनको सन्न्यासको चर्चा सुरु भएको थियो ।
- नयाँ सरकार हाम्रै हो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार पार्टीको काभ्रे– काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अहिले आफूहरू प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा माओवादीकै सरकार बन्ने दाबी गरेका हुन् ।
- ‘चाइना कार्ड’
नेकपा एमालेले भारतीय पत्रिका ‘द हिन्दु’ पत्रिकालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेका थिए ।
- शनिबार विशेष सामग्री
शनिबारका लागि रातोपाटीको विशेष सामग्रीहरु :
- प्रधानमन्त्रीको चीन भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमालाई लिएर विज्ञहरूले एक पटकको भ्रमणमा एउटा मात्रै नेशनल गोल (राष्ट्रिय एजेन्डा) बनाउनुपर्ने बताएका छन् । फ्रेण्ड्स अफ चाइनाद्वारा शनिवार काठमाडौँमा आयोजित आधुनिक चीनसँग नेपालको दुई पक्षीय सम्बन्धबारे छलफलमा बोल्दै विज्ञहरूले एक भ्रमण, एक राष्ट्रिय एजेन्डा बनाउनुपर्ने बताएका हुन् ।
- फोटो फिचर
गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ ।
जलवायु वित्तको माग गर्दै काठमाडौँसहित नेपालका विभिन्न १६ सहरमा मानिसहरू सडकमा उत्रिएका छन् । जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति, साना किसान, आदिवासी र स्थानीय समुदायले विश्वव्यापी रूपमा अजरबैजानको बाकुमा जारी कोप–२९ को समर्थनमा सडकमा र्याली गरेका हुन् ।
काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरुमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ । कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने भएकाले पनि मोटरसाइकलको प्रयोग बढी हुन्छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । ठुला चाडपर्वपछि यस क्षेत्रमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुने गरेको छ ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ । जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रण जस्ता सार्वजनिक महत्त्वका मुद्दामा सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै पार्टीले विरोध प्रदर्शन गरेको हो ।
- संविधान संशोधन बहस
वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने जो न्यायपरिषद्को सदस्य समेत हुन् । उनले नेपाल बार एसोसिएसनसँग मिलेर संविधान संशोधनका बारेमा अध्ययन अनुसन्धान गरेका छन् । रातोपाटीको संविधान बहस शृंखलामा यसपालि हामीले उनलाई केही प्रश्न राखेका छौँ :