आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बहस

साहित्य चिन्तनमा लेनिन

शनिबार, ०१ मङ्सिर २०८१, १७ : ३०
शनिबार, ०१ मङ्सिर २०८१

मार्क्सवादी साहित्य सिद्धान्तलाई समृद्ध गर्न लेनिनको उल्लेखनीय योगदान रहेको छ । साहित्यका बारेमा चिन्तन गर्ने महत्त्वपूर्ण राजनीतिक व्यक्तित्वको लहरमा उनलाई राखिन्छ । उनले व्यवस्थित रूपमा साहित्यका बारेमा चिन्तन गरेका छैनन् । तर यस विषयमा उनले व्यक्त गरेका विभिन्न विचारले मार्क्सवादी साहित्य सिद्धान्तलाई समृद्ध गर्न महत्त्वपूर्ण योगदान दिएका छन् । 

मार्क्स–एङ्गेल्सबाट मार्क्सवादी साहित्य चिन्तनको सैद्धान्तिक आधारको निर्माण भए पनि यसलाई व्यवस्थित र समृद्ध गर्ने कार्य उनीपछिका मार्क्सवादी साहित्य चिन्तकहरूबाट भयो । यस्तो योगदान दिनेमा राजनीतिक र साहित्यिक दुवै किसिमका व्यक्तित्व पर्छन् । 

लेनिन मार्क्सवादी साहित्य चिन्तनलाई समृद्ध गर्न गहकिलो योगदान दिने महत्त्वपूर्ण राजनीतिक व्यक्तित्व हुन् । उनी आफ्ना राजनीतिक विचारमा जस्तै साहित्यिक विचारमा पनि प्रखर छन् । साहित्य, कला, संस्कृतिसम्बन्धी उनका विचार उनका विभिन्न रचनामा छरिएका छन् । 

लेनिन विभिन्न ज्ञान क्षेत्रका गम्भीर अध्येता थिए । उनका रचना यसका साक्षीका रूपमा रहेका छन् । राजनीति मात्र नभएर अर्थशास्त्र, दर्शन, इतिहास आदि जस्ता विषयमा पनि उनको गहिरो दखल थियो । उनी बहुमुखी प्रतिभा थिए । साहित्य–कलामा उनको गहिरो अभिरुचि थियो । छात्र जीवनदेखि नै उनमा साहित्यप्रति गहिरो अभिरुचिको विकास भएको थियो । विभिन्न रुसी स्रष्टाको प्रभाव उनको व्यक्तित्व निर्माणमा परेको पाइन्छ । 

Lenin_in_1920

एकातिर लेनिनले चेर्नसेभ्स्की, बेलेनस्की लगायत रुसी आलोचनात्मक यथार्थवादीहरूलाई गम्भीरतापूर्वक पढे । अर्कातिर उनले पुस्किन, टोल्स्टोय, गोगल, दोस्तोयभस्की आदि जस्ता रुसी साहित्यकारका रचनाको गहिरो अध्ययन गरे । रुस बाहिरको साहित्यको पनि उनलाई राम्रो जानकारी थियो । भर्जिल, होरेस, सेक्सपियर, गेटे आदिलाई उनले राम्रोसँग पढेका थिए । 

साहित्य–कलासम्बन्धी उनको बुझाइ र विश्लेषणले उनमा साहित्यका विषयमा कति गहिरो अध्ययन थियो भन्ने देखाउँछन् । साहित्यमा गहिरो दखल राख्ने थोरै राजनीतिक व्यक्तित्वका रूपमा उनलाई राखिनुको कारण यही रहेको छ । उनमा उच्चस्तरको सौन्दर्यबोध क्षमता थियो । 

स्रष्टा र साहित्यको वस्तुकरणसम्बन्धी उनको धारणा आज अझ सटीक लाग्छ । आज साहित्यलाई अझ बढी बजारको अङ्ग बनाइएको छ र यसको चिरहरणको उत्सव चलिरहेको छ । वैयक्तिक र लेखकीय स्वतन्त्रताको कुरा अझ बढी भ्रम अनुभव हुन्छ ।

साहित्यप्रति अभिरुचि, त्यसको गहिरो अध्ययन, विपुल जीवन अनुभव एवं क्रान्तिका निम्ति निरन्तर सङ्घर्षका बिचबाट उनको सौन्दर्यबोध क्षमताको विकास भएको थियो । उनी रचनाहरूको आस्वादनका साथसाथै तिनको गहिरो विश्लेषण र मूल्याङ्कन गर्न सक्थे । साहित्यसम्बन्धी मार्क्सवादी दृष्टिकोणका आधारमा साहित्यको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने उनमा गजबको क्षमता थियो । टोल्स्टोयसम्बन्धी उनको मूल्याङ्कनलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । साहित्यसम्बन्धी उनको गहिरो अध्ययन, बुझाइ र मूल्याङ्कनको धेरैले प्रशंसा गरेका छन् । 

लेनिनले साहित्यको जन्म र विकासलाई द्वन्द्वात्मक भौतिकवाद एवं ऐतिहासिक भौतिकवादका आधारमा हेरेका छन् । उनले साहित्यको जन्म र विकासमा श्रमको भूमिकालाई कारकका रूपमा उल्लेख गरेका छन् । साहित्यको जन्म र विकासमा मार्क्सवादले श्रमलाई केन्द्रीय महत्त्व प्रदान गर्छ । यस दृष्टिकोणलाई लेनिनले अझ विकास गरे । 

साहित्यको उद्भव र विकासलाई श्रमदेखि अलग गरेर हेर्ने विचारको उनले तिखो आलोचना गरेका छन् । लेनिनका विचारमा श्रमको प्रक्रिया वा व्यावहारिक क्रियाकलापका क्रममा साहित्यको जन्म भएको हो । श्रमको प्रक्रियामै मानिसले सौन्दर्यको आवश्यकता महसुस गरेको हो । श्रमसँगै यसको विकास हुँदै आएको हो । श्रमसँगै सौन्दर्यबोधको स्तरको पनि विकास भएको हो । 

photograph-Vladimir-Ilich-Lenin-desk

लेनिनका अनुसार वास्तविकतामा सौन्दर्यको उद्घाटन गर्नु, त्यसको सामान्यीकरण र आदर्शीकरण गर्नु, कलात्मक चरित्रहरूमा त्यसलाई प्रतिविम्बित गर्नु र मानिससम्म पुर्‍याउनु साहित्यको महत्त्वपूर्ण विशेषता हो । लेनिनले साहित्यले मानिसको सौन्दर्यात्मक आवश्यकताको पूर्तिका साथै मनुष्य समाजलाई बदल्न योगदान दिनुपर्छ भनेका छन् । 

लेनिनले साहित्यलाई अधिरचनाका रूपमा हेरे र सामाजिक चेतनाको एउटा रूप भनेर उल्लेख गरे । मानिसको विचार, दृष्टिकोण, सिद्धान्त, सामाजिक भावना, बानी–व्यहोरा र रीति–रिवाजहरूको समुच्चयलाई सामाजिक चेतनाका रूपमा अथ्र्याइन्छ । मानव समाज र प्रकृतिको प्रतिविम्ब उतार्ने कार्य यसले गर्छ । सामाजिक अस्तित्व प्रतिविम्बित हुने मुख्य वस्तुमा पर्छ । मनुष्यको चेतनामा प्रतिविम्बित वास्तविकतालाई कलात्मक चरित्र र उपकरणहरूमार्फत साहित्यमा अभिव्यक्ति दिइन्छ । यसै कारण साहित्यलाई सामाजिक चेतनाको एउटा रूप भनेर उल्लेख गरिएको हो । साहित्यको उद्भव र विकाससम्बन्धी सबै प्रत्ययवादी धारणाको लेनिनले गम्भीर आलोचना गरेका छन् । 

लेनिन साहित्य वर्गीय हुन्छ भन्छन् र वर्गीय पक्षधरतालाई महत्त्व प्रदान गर्छन् । वर्गभन्दा माथिको साहित्य, प्रतिबद्धतामुक्त साहित्य, विशुद्ध साहित्य, कलाका लागि कलाजस्ता विचारका उनी कटु आलोचक थिए । उनका विचारमा वर्गहरूले साहित्यलाई आ–आफ्ना राजनीतिक, नैतिक र अन्य विचारहरूको प्रवाहका माध्यमका रूपमा लिन्छन् र आ–आफ्ना वर्गीय हित एवं सौन्दर्यात्मक मागहरूको अनुमोदन गर्ने कलाको सिर्जना गर्छन् । 

सामान्यतया साहित्यले वर्गीय हितकै अनुमोदन र सौन्दर्यात्मक आवश्यकताको परिपूर्ति गर्छ । वर्गमा विभाजित समाजमा सामाजिक चेतनाको रूप वर्गीय हुने भएकाले साहित्य पनि वर्गीय र वर्गीय हित साधनको माध्यम हुने गरेको हो । गहिरो जनप्रतिबद्धता, इमानदारिता र संवेदनशीलताविना स्रष्टाले आफ्नो अभिजात वर्गीय सीमालाई अतिक्रमण गर्न सक्दैन । 

क्लारा जेटकिनसँगको संवादमा उनले साहित्य–कलाका सम्बन्धमा करोडौँ जनताका बिचमा सय–हजार मानिसले के भन्छन् भन्ने कुराको खास अर्थ हुँदैन भन्दै साहित्य जनप्रतिबद्धताबाट अलग हुन सक्दैन भन्ने कुरालाई महत्त्व दिएका छन् ।

साहित्यमा सक्रिय वा गतिशील यथार्थको प्रतिविम्बनलाई लेनिनले उच्च महत्त्व दिएका छन् । उनी यथार्थ स्थिर होइन, गतिशील हुन्छ भन्छन् र सामाजिक यथार्थको गतिशीलताको मुख्य कारकका रूपमा विपरीत वर्गहरूबिचको सङ्घर्षलाई लिन्छन् । यथार्थका मरणशील र जीवनशील, उज्याला र अँध्यारा पक्षहरू हुन्छन् । स्र्रष्टाले जीवनशील र उज्याला पक्षलाई महत्त्व दिनुपर्छ भन्ने उनको धारणा छ ।

टोल्सटोयसम्बन्धी उनको धारणा यसै आधारमा निर्माण भएको पाइन्छ । यथार्थको चित्रण, संवेदना र सामान्य जनताप्रतिको सरोकारका दृष्टिले उनले टोल्सटोयको उच्च प्रशंसा गरेका छन् । उनले टोल्सटोयका कृतिलाई ‘रुसी क्रान्तिको दर्पण’ भनेका छन् । रुसी समाजको यथार्थलाई टोल्सटोयका रचनामा जसरी चित्रण गरिएको छ, त्यसै आधारमा उनको साहित्यलाई रुसी क्रान्तिको दर्पणका रूपमा उल्लेख गरिएको हो । 

उनले आफ्ना रचनामा जमिनदार, निजी सम्पत्ति, राज्य, चर्च आदिको तिखो आलोचना गरेका छन् । खासगरी रुसी किसानको जीवन र तिनका समस्याहरूसम्बन्धी टोल्सटोयको बुझाइबाट लेनिन गहिरो गरी प्रभावित थिए । तत्कालीन रुसी समाजको यथार्थ एवं द्वन्द्वले उनको साहित्यमा सजीव अभिव्यक्ति पाएको छ । 

लेनिनले टोल्सटोयको गम्भीर आलोचना पनि गरेका छन् । टोल्सटोयको जीवनदर्शन प्रतिक्रियावादी रहेको छ भन्ने दृष्टिकोण लेनिनको थियो । उनले टोल्सटोयमा आत्मा र भगवानको भूत सवार भएको भनेर मात्र आलोचना गरेका छैनन्, उत्पीडित जनतालाई सङ्घर्षका निम्ति प्रेरित गर्नुभन्दा इसाई उपदेश दिन सक्रिय स्रष्टा भनेर पनि आलोचना गरेका छन् । आदर्शवादी टोल्सटोय ईश्वरको करुणा, अहिंसा, दया, मानवता आदिमा जोड दिन्थे । लेनिनबाट यसैको गम्भीर आलोचना भएको छ । टोल्सटोयसम्बन्धी लेनिनको मूल्याङ्कनले मार्क्सवादी आलोचनामा ठुलो महत्त्व राख्छ । व्यक्ति र उसको योगदानको मूल्याङ्कन कसरी गर्ने भन्ने सन्दर्भमा यसले उपयुक्त दृष्टि प्रदान गर्छ । 

लेनिन साहित्यलाई जनताको सम्पत्तिका रूपमा लिन्छन् र यसले श्रमजीवी जनतामा जरा गाडेको हुनुपर्छ भन्छन् । साहित्यले जनताको भावना, विचार एवं इच्छालाई उदात्त र एकताबद्ध बनाउन, उनीहरूभित्र कर्म गर्ने भावना जागृत गर्न र कलात्मक अभिरुचिको विकास गर्न योगदान दिनुपर्छ भन्ने कुरालाई उनले उच्च महत्त्व दिएका छन् । 

लेनिनका दृष्टिमा साहित्यको अभीष्ट मनुष्यलाई समस्त उत्पीडनबाट मुक्त गर्न सघाउनु र उनीहरूको सौन्दर्यात्मक आवश्यकतालाई पूरा गर्नु हो । उनले साहित्यलाई वर्गीय मुक्तिको कलात्मक हतियारका रूपमा लिएका छन् र परिवर्तनमा यसले सहयोग पुर्‍याउनुपर्छ भनेका छन् । ‘पार्टी सङ्गठन र साहित्य’ नामक उनको रचनालाई यसै सन्दर्भमा हेरिन्छ । कतिपयले उनको यस रचनामा व्यक्त विचारलाई सङ्कीर्ण भनेर आलोचना गरेका छन् तर उनका विचारलाई गहिराइमा गएर हेर्दा त्यस्तो देखिदैन । ‘पार्टी सङ्गठन र साहित्य’मा व्यक्त उनका विचार यान्त्रिक र सङ्कीर्ण छैनन् । 

Lenin

सर्वहारा वर्गको मुक्तिका निम्ति उक्त वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक सङ्गठन चाहिन्छ । सर्वहारा वर्गको पार्टीको सहयोगी बनेर नै साहित्यले सर्वहारा श्रमजीवी वर्गको हितका निम्ति भूमिका सम्पादन गर्न सक्छ भन्ने उनको दृष्टिकोण थियो । साहित्य पार्टीको दाँती र पेचकिला बन्नुपर्छ भन्नुको तात्पर्य साहित्यको सापेक्ष स्वतन्त्रताको अस्वीकृति थिएन । उनले साहित्य सिर्जनामा व्यक्तिगत प्रयास, रुचि, प्रयोग, वस्तु र रूपसम्बन्धी विषय आदिमा स्रष्टालाई चाहिने आवश्यक स्वतन्त्रतालाई महत्त्व दिएका छन् र यसलाई यान्त्रिक रूपमा नलिन भनेका छन् । तर उनी सर्वहारा वर्गको पार्टीसँग अभिन्नताका निम्ति यसले व्यवधान उत्पन्न गर्न हुन्न भन्छन् । सिर्जनासम्बन्धी सापेक्ष स्वतन्त्रतालाई उनले उच्च महत्त्व दिएको पाइन्छ । 

अभिव्यक्तिको स्वतन्त्रताको बुर्जुवा हो–हल्लालाई उनले बौद्धिक व्यक्तिवादबाहेक केही होइन भनेर टिप्पणी गरेका छन् । क्लारा जेटकिनसँगको संवादमा उनले साहित्य–कलाका सम्बन्धमा करोडौँ जनताका बिचमा सय–हजार मानिसले के भन्छन् भन्ने कुराको खास अर्थ हुँदैन भन्दै साहित्य जनप्रतिबद्धताबाट अलग हुन सक्दैन भन्ने कुरालाई महत्त्व दिएका छन् । 

परम्पराका जीवन्त तत्त्वलाई जोगाउँदै र अझ परिष्कार गर्दै जानुपर्छ एवं साहित्यमा त्यसलाई अभिव्यक्ति दिनुपर्छ भन्ने उनको दृष्टिकोण रहेको पाइन्छ । खासगरी क्रान्तिपछि कैयौँ मानिसमा समग्र परम्पराप्रति नै नकारात्मक धारणाको विकास हुन्छ भन्ने कुरादेखि उनी परिचित थिए । तर जीवन शून्यमा सम्भव हुन्न भन्ने उनको दृष्टिकोण थियो । उनले यसै यथार्थलाई दृष्टिगत गर्दै परम्पराका जीवन्त पक्षलाई जोगाउन र परिष्कार गर्दै अघि बढ्न जोड दिएका छन् । सबै पुराना कुराको निषेध मार्क्सवादी मान्यता विपरीत हुन्छ । संस्कृतिको निर्माण राम्रा र नराम्राको योगबाटै हुन्छ । 

संस्कृतिभित्र उज्याला मात्रै होइन, अँध्यारा पक्ष पनि हुन्छन् । लेनिन परम्पराप्रतिको मार्क्सवादी दृष्टिकोणलाई महत्त्व दिन्छन् र द्वन्द्वात्मक भौतिकवाद एवं ऐतिहासिक भौतिकवादका आधारमा यसलाई हेरिनुपर्छ भन्छन् । सिद्धान्तको प्रश्नलाई केन्द्रीय महत्त्व दिँदै उनले भावनात्मक अतिरेकको सिकार हुने प्रवृत्तिको आलोचना गरेका छन् । इतिहास, सभ्यता र संस्कृतिलाई सिद्धान्त आधारित भएर हेर्नुपर्छ भन्ने उनको दृष्टिकोणको रहेको छ । उनी सिद्धान्त बाहिर गएर कुनै कुरालाई हेर्न सकिन्न भन्छन् । 

लेनिनले साहित्य–कलाका सन्दर्भमा पुँजीवादको गम्भीर आलोचना गरेका छन् । पुँजीवादमा साहित्यकार र कलाकार निरीह हुन्छन्, पैसा र बजार निर्णायक हुन्छ र स्रष्टाको स्वतन्त्रता बाधित हुन्छ भन्ने उनको दृष्टिकोण थियो । क्लारा जेटकिनसँग कुरा गर्दै उनले निजी सम्पत्तिमा आधारित समाजमा कलाकारहरू बजारका निम्ति जन्मन्छन् र उनीहरूलाई ग्राहकको आवश्यकता हुन्छ भन्दै पुँजीवादको आलोचना गरेका छन् । 

पुँजीवादमा वैयक्तिक स्वतन्त्रता यथार्थ कम र बढी भ्रम हो भन्ने उनको धारणा थियो । उनले पैसाको शक्तिमा आधारित समाज व्यवस्थामा स्वतन्त्रताको कुरालाई पाखण्डका रूपमा उल्लेख गरेका छन् । यस्तो समाज व्यवस्थाभित्र रहेर मुक्त वा स्वाधीन हुन असम्भव हुन्छ भन्ने लेनिनको दृष्टिकोण थियो । पुँजीवादले स्रष्टा र साहित्य दुवैको वस्तुकरण गर्छ र साहित्यको समाजपरक एवं सौन्दर्यपरक भूमिकालाई नष्ट गर्छ भन्ने दृष्टिकोण उनले प्रस्तुत गरेका छन् । 

स्रष्टा र साहित्यको वस्तुकरणसम्बन्धी उनको धारणा आज अझ सटीक लाग्छ । आज साहित्यलाई अझ बढी बजारको अङ्ग बनाइएको छ र यसको चिरहरणको उत्सव चलिरहेको छ । वैयक्तिक र लेखकीय स्वतन्त्रताको कुरा अझ बढी भ्रम अनुभव हुन्छ । मुनाफा केन्द्रित पुँजीवादी विशाल संरचनाभित्र स्रष्टा अझ बढी निरीह लाग्छन् । पाखण्डको उत्सवका बिचमा मनुष्य छ र भ्रमलाई यथार्थ बनाइएको दृश्य हेर्न विवश छ । 

लेनिनले साहित्यसम्बन्धी प्रतिध्रुवीय विचारको पनि गम्भीर आलोचना गरेका छन् । अभिव्यञ्जनावाद, भविष्यवाद, घनवाद आदिजस्ता दृष्टिकोणहरूको आलोचना गर्दै उनले यस्ता विचारलाई महान् प्रतिभाहरूको उत्पादन ठान्ने कुरा मेरो शक्तिभन्दा बाहिर छ भनेका छन् । मैले यी विचारहरू बुझ्दिनँ, यीबाट मलाई कुनै आनन्द प्राप्त हुँदैन भन्दै उनले यी विचारप्रति तिखो व्यङ्ग्य गरेको पाइन्छ । भविष्यवादप्रति उनमा अझ गहिरो वितृष्णा थियो । आधुनिकतावादी विचारका उनी आलोचक थिए । 

मार्क्सवादी साहित्यिक आन्दोलनभित्र आज अनेकौँ कमजोरी छन् । यी कमजोरी साहित्यको जन्म र विकास, यसको वर्गीय चरित्र र प्रतिबद्धता, यसको उद्देश्य र भूमिका, साहित्यको प्रकृति, प्रतिध्रुवसँगको वैचारिक सङ्घर्ष आदिसँग सम्बन्धित रहेका छन् ।

म्यास्निकोभले लेनिनले सौन्दर्यशास्त्रका आधारभूत प्रश्नहरूलाई आत्मसात गरेका छन् भनेर उल्लेख गरेका छन् । यथार्थसँग साहित्य–कलाको सम्बन्ध, साहित्यमा चित्रण गर्नुपर्ने विषय, साहित्यको समाजमा प्रभाव, मानिसको आभ्यान्तरिक जीवनमा साहित्यको महत्त्व, सामाजिक चेतनाका अन्य रूपसँग यसको सम्बन्ध, व्यक्तिपरक तथा वस्तुपरक तत्त्वका बिच जटिल द्वन्द्वात्मक सम्बन्ध, सौन्दर्यशास्त्रीय यथार्थ र यसका आधारभूत नियमका विशिष्ट पक्ष आदिका बारेमा उनले महत्त्वपूर्ण विचार प्रस्तुत गरेका छन् र मार्क्सवादी सौन्दर्यशास्त्रको रूपरेखाका निम्ति आधार प्राप्त भएको छ भन्ने दृष्टिकोण म्यास्निकोभको रहेको छ । 

समग्रमा भन्दा लेनिनका साहित्य–कलासम्बन्धी विचारले मार्क्सवादी साहित्य सिद्धान्तलाई समृद्ध गर्न महत्त्वपूर्ण योगदान दिएका छन् । उनलाई पन्छाएर मार्क्सवादी साहित्य सिद्धान्तको चर्चा सम्भव छैन । मार्क्सवादी सिद्धान्तलाई अक्टोबर क्रान्तिमार्फत व्यावहारिक रूप प्रदान गर्ने महान् लेनिनको साहित्य चिन्तन पनि महत्त्वपूर्ण रहेको छ । समाजवादी यथार्थवादको निर्माणमा उनका विचारले आधारको काम गरेका छन् । साहित्यले समाजवादी आदर्शलाई पछ्याउनुपर्छ भन्ने उनको विचार थियो । उनका साहित्यसम्बन्धी विचार आज पनि सान्दर्भिक छन् । 

समकालीन पुँजीवादमा साहित्य–कलाको वस्तुकरण तीव्र छ । साहित्यलाई ‘कमोडिटी’ बनाइएको छ । यसको समाजपरक एवं सौन्दर्यपरक भूमिकामाथि गम्भीर प्रहार भएको छ । बजार र त्यसका हितहरू प्राथमिक बनेका छन् । बजार सबै कुरामा निर्णायक छ । यौन, निराशा, विसङ्गति र एक्लोपनलाई साहित्यको केन्द्र बनाउने र व्यक्तिवाद, अराजकता र शून्यतालाई मलजल गर्ने प्रवृत्ति हलक्क बढेका छन् । उत्तरआधुनिकवाद लगायत थरीथरीका जीवनविरोधी विचारहरू क्रियाशील छन् । पुँजीवाद साहित्य–कलाको प्रतिरोध चेतनालाई नष्ट गर्न सक्रिय छ । ऊ साहित्य–कलालाई आफ्नो रक्षाका निम्ति पनि प्रयोग गर्दै छ । महान् मानिने कैयौँ कृतिसँग मानवद्वेषी पुँजीवादको आलोचना र वैकल्पिक सुन्दर समाज निर्माणको स्वप्न छैन । आलोचनात्मक विवेकको क्षय आजको डरलाग्दो यथार्थ हो । लेनिनको साहित्य–कलासम्बन्धी विचारले यसविरुद्ध सङ्घर्षका निम्ति उपयुक्त वैचारिक आधार प्रदान गर्छ । 

मार्क्सवादी साहित्यिक आन्दोलनभित्र आज अनेकौँ कमजोरी छन् । यी कमजोरी साहित्यको जन्म र विकास, यसको वर्गीय चरित्र र प्रतिबद्धता, यसको उद्देश्य र भूमिका, साहित्यको प्रकृति, प्रतिध्रुवसँगको वैचारिक सङ्घर्ष आदिसँग सम्बन्धित रहेका छन् । आज आफूलाई मार्क्सवादी साहित्यकार भन्नेहरूमै समन्वयवादी दृष्टिकोणको विकास हुँदै गएको छ । उनीहरूमा सांस्कृतिक राष्ट्रवाद, अतीत मोह, आलोचनात्मक विवेकको क्षय आदिजस्ता कमजोरी पाइन्छन् । साहित्यको वर्गीय प्रतिबद्धता र उद्देश्यलाई बिर्सिदै छ, साहित्यको भूमिकाका सम्बन्धमा गैरमार्क्सवादी दृष्टिकोणहरू प्रस्तुत हुँदै छन् । साहित्यसम्बन्धी यस्ता दृष्टिकोणको प्रतिवाद यतिबेलाको महत्त्वपूर्ण दायित्व हो । 

लेनिनका साहित्यसम्बन्धी विचारले मार्क्सवादी साहित्यिक आन्दोलनमा पाइने गलत विचारका विरुद्ध सङ्घर्ष गर्नुपर्छ भन्छन् । लेनिनलाई सम्झनुको अर्थ लेनिनका विचारलाई आत्मसात गर्नु हो । 

लेनिनले स्वप्न देख्नुपर्छ भनेका छन् । स्वप्न देख्ने कुराको आज अझ बढी महत्त्व छ । साहित्यसम्बन्धी लेनिनका विचारहरूलाई आत्मसात गर्दै यसमार्फत समाजको आमूल रूपान्तरणमा योगदान दिनु प्रगतिवादी स्रष्टाहरूको दायित्व हो । आन्दोलन एवं आफैँभित्रका कमजोरीका विरुद्ध सङ्घर्ष नगरी यसो गर्न सम्भव छैन । 

साहित्य, कला, संस्कृतिसम्बन्धी लेनिनका विचार मात्रै सान्दर्भिक छैनन्, उनका राजनीतिक, अर्थशास्त्रीय एवंं दर्शनसम्बन्धी विचार पनि सान्दर्भिक छन् । मार्क्सवादको विकास र विस्तारमा उनको असाधारण योगदान छ । 

लेनिनका विचारलाई पन्छाएर समाजवादी क्रान्ति सम्भव छैन । समाजवादी क्रान्तिका देशज विशेषता हुनेछन् । तर त्यहाँ लेनिन पनि हुनेछन् । लेनिनको मृत्यु भएको सय वर्ष पुगेको सन्दर्भमा उनको सम्झना गरिरहँदा उनको योगदानलाई अझ गहिरो गरी बुझ्न र आत्मसात गर्न आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप