शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्यो : पूर्वसञ्चारमन्त्री गुरुङ

शनिबार, ०१ मङ्सिर २०८१, १६ : ५३
शनिबार, ०१ मङ्सिर २०८१

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिसनतन्त्र चलाइरहेको आरोप लगाएका छन् । पार्टीको गौरीशङ्कर गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई विकास विरोधी,अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले उसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गरेका हुन् । 

नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दाबी समेत गरे । विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उनको भनाई थियो । नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि काँग्रेससँग सत्ता सहकार्य गरेर अघि बढ्नु परेको पनि बताए। माओवादी केन्द्रले कहिले एमाले, कहिले काँग्रेससँग मिलेर आफ्नो अस्तित्व मात्रै जोगाइरहेको बताए ।

उनले भने- ‘हाम्रो पार्टीलाई जिताउन जरुरी छ । माओवादी केन्द्रलाई बाईबाई गर्न जरुरी छ । किन जरुरी छ ? माओवादी केन्द्र कुनै पनि राजनीतिक संस्कार बोकेको, विकासलाई अगुवाइ गर्ने पार्टी होइन । माओवादीले त २०७४ सालमा आएर पनि कुलबहादुर तामाङको हत्या गर्ने पार्टी हो । त्यसैले हामीले गौरीशंकरबाट कुलबहादुरको रगतको बदला लिन जरुरी छ । दिलबहादुर खत्री अहिले पनि अपाङ्ग हुनुहुन्छ । उहाँ घाइते हुनुहुन्छ । यस्तो अवस्थामा हामीले उनीहरूको हितको निम्ति पनि गौरीशङ्करमा एमालेले विजयको झण्डा गाड्नु छ । त्यसैले म सहिद कुलबहादुरलाई सम्झन चाहन्छु । बुद्धिमान पाख्रिनलाई सम्झिन चाहन्छु । स्वर्गीय पशुपति दाइलाई सम्झिन चाहन्छु । सम्मान व्यक्त गर्न चाहन्छु ।’

उनले भने- ‘हामीले सहिदहरूको रगतबाट सञ्चित दोलखाको भूमिलाई अब माओवादीबाट बाईबाई गर्नुपर्छ । माओवादी राजनीतिक पार्टी होइन, ऊ हत्या हिंसामा विश्वास गर्ने पार्टी हो । ऊ विकास होइन, कमिसनमा विश्वास गर्ने पार्टी हो । त्यसैले म दाबाका साथ भन्छु–प्रमाणका साथ भन्छु–हाम्रो प्रतिस्पर्धा कुनै नेपाली काँग्रेससँग होइन । हामी काँग्रेससँग मिलेर यो देशमा स्थायित्व दिन चाहन्छौँ । राजनीतिक स्थिरता दिन चाहन्छौँ । र बलियो राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ । आफ्नो अस्तित्व टिकाउने र बचाउने पार्टी माओवादीलाई बाईबाई गर्न चाहन्छौँ । र राष्ट्रिय राजनीतिमा माओवादी बाईबाई भइसक्यो, दोलखाले पनि बिदाइ गर्नुपर्छ ।’

एमालेले पार्टीको तर्फबाट गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षको रूपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ । पार्टीका स्थायी समिति सदस्य डा. राजन भट्टराईले उनलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट औपचारिक रूपमा वितरण गरेका थिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य सरस्वती बस्नेतलगायतका नेताहरूले गौरीशङ्कर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप