शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझाव : ‘एक भिजिट, एक नेशनल गोल’

शनिबार, ०१ मङ्सिर २०८१, १५ : ०२
शनिबार, ०१ मङ्सिर २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमालाई लिएर विज्ञहरूले एक पटकको भ्रमणमा एउटा मात्रै नेशनल गोल (राष्ट्रिय एजेन्डा) बनाउनुपर्ने बताएका छन् । फ्रेण्ड्स अफ चाइनाद्वारा शनिवार काठमाडौँमा आयोजित आधुनिक चीनसँग नेपालको दुई पक्षीय सम्बन्धबारे छलफलमा बोल्दै विज्ञहरूले एक भ्रमण, एक राष्ट्रिय एजेन्डा बनाउनुपर्ने बताएका हुन् । 

उनीहरूले नेपालले विगतका प्रधानमन्त्रीहरूको भ्रमणमा पनि राष्ट्रिय प्राथमिकता र एजेन्डाहरूमा अलमलिएको भन्दै यस पटक त्यसो हुन दिन नहुनेतर्फ सचेत गराए । चीनको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न जोड दिए । चिनियाँ लगानी भित्र्याउने, चीनको शिक्षाको मोडेल र अनुभवबाट शिक्षाको हब नेपाललाई बनाउने विषय प्रमुख प्राथमिकतामा पर्नुपर्ने सुझाव दिए । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव सिग्देलले प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक सहयोगको पाटो पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए । उनले नवप्रवर्तनकारी कामहरू गर्नका लागि चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्न सके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरू विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताए । 

उनले भने, ‘म प्रधानमन्त्रीको भ्रमणलाई जोडेर के भन्न चाहन्छु भने हामी आयात त ठुलो मात्रामा गरि नै रहेका छौँ । हाम्रो इकोनोमीको ठुलो हिस्सा इम्पोर्टमै जान्छ । तर चीनसँग हामीले कस्तो किसिमको आर्थिक रूपमा सहयोग लिन सकिएला ? सामान्य नागरिक भएको कारणले मलाई के लाग्छ भने के आग्रह गर्न सक्छौँ भने तपाईँहरूले नवप्रवर्तनमा काम गर्दै हुनुहुन्छ । ई.भेइकलमा संसारको लार्जेस्ट प्रोड्युसर्स चाइना छ । ई.भेइकलको प्लान्टको एउटा सानो हिस्सा नेपालमा राखिदिनुस् भन्नुपर्छ । उहाँहरूकै प्रोडक्शन यहाँ हुन्छ र हाम्रो ठुलो जनसङ्ख्या रोजगारीको लागि बाहिरिएका युवाहरूले रोजगारी यहाँ नै पाउँछन् । उहाँहरूको लागि लेभर कस्ट पनि सस्तो पर्छ । सरकारले यसमा होमवर्क गर्नुपर्ने देखिन्छ । नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्ध एउटा आयाममा काम गरिरहेको छ । सधैँ स्मुथ बनाउन सकेका छैनौँ । त्यो हुन नसक्नुमा कल्चरल कन्सेप्ट पनि कारण छ । सांस्कृतिक आदानप्रदानहरू कति आदानप्रदान भएको छ, त्यसले पनि फरक पार्दछ । कल्चरल इन्भेष्टमेण्टका लागि पनि कुरा अघि बढाउनु पर्छ । जनतास्तरीय सम्पर्क बढाउने कुरा एजेन्डामा राख्नुपर्छ ।’ 

bikram timilsine

कार्यक्रममा बोल्दै अध्येता डा.विक्रम तिमल्सिनाले प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमण गर्दा सद्भाव र विश्वास लिएर जाने र फर्किने कुराले नै सम्बन्ध बलियो बनाउने बताए । विश्वास र सद्भावबाट नै दुई देशबिचको सम्बन्ध प्रगाढ र बलियो बन्ने तर्क गर्नुभयो । उहाँले कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्ने कुरा चीनबाट सिक्नुपर्ने उनको भनाई थियो। 

उनले भने, ‘हाम्रो प्रधानमन्त्री के लिएर जाने र के लिएर फर्किने ? सद्भाव र विश्वास प्रधानमन्त्रीले लिएर जाने हो । सद्भाव र विश्वास नै बोकेर आउने हो । त्यो सधैँ रही रहने खालको सद्भाव र विश्वास आर्जन गर्न सकियो भने दुई देशबिचको सम्बन्ध पनि मजबुत हुन्छ र फाइदा पनि लिन सक्छौँ । कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्ने कुरा चीनबाट सिक्नुपर्छ । नेपाल र चीन सम्बन्धको विषयलाई हामीले प्रधानमन्त्रीको चीन भ्रमणसँग जोडिरहेका छौँ । परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्र हामी बनाइएको छ रे । कोको भ्रमणमा जाने, कोको नजाने, केके एजेन्डा उठाउने र केके नउठाउने भन्नेबारे मैले त्यस्तो सुनिरहेको थिएँ । त्यो सुखद पक्ष होइन । नेपाल भनेको कुनै एउटा दल र दलका प्रतिनिधिहरुको संस्था होइन । हामीसँग भएका निकायहरूलाई बलियो बनाउनु पर्छ । प्रधानमन्त्री संस्थामा भन्दा प्रधानमन्त्री व्यक्तिमा हामीलाई विश्वास छ ।’

bipin dev

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विपिन देवले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा एउटा नेशनल गोल लिनुपर्ने बताए । उनले चिनियाँ अनुभव र मोडलबाट सिकेर नेपाललाई शिक्षाको हब बनाउने पहल गर्नुपर्ने कुरा एउटा राष्ट्रिय एजेन्डा बन्नसक्ने प्रस्ताव राखे । 

उनले भने, ‘प्रधानमन्त्रीले अहिले चीन भ्रमण गर्दा एउटा नेशनल गोल चाहिँ लिनुपर्छ । चाइनिज अनुभव र मोडलबाट नेपालमा एजुकेसन हब बनाउने, एक भिजिटमा एउटै प्लान बनाउनु पर्छ । रिटेल बिजनेस गरेर काम छैन । होलसेल बिजनेस गर्नुपर्छ । त्यो बनाइसकेपछि त्यो वल्र्ड लेभलको, जसले गर्दा हाम्रो इकोनोमीलाई टेवा दिन सक्छ । त्यस्तो गृहकार्य गरेर प्रधानमन्त्री जानुपर्छ । चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउनुपर्छ ।’

bhuwan pathak

कार्यक्रममा बोल्दै बागमती प्रदेश, प्रदेश सभाका सभामुख भुवन पाठकले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालीहरूले आस बढ्नु स्वाभाविक रहेको बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको ऋण मिनाहा प्राथमिकतामा पर्नुपर्ने कुरा सञ्चारमाध्यमहरूमा आए पनि सो विषय प्राथमिकतामा पर्न नहुने धारणा राखे । 

उनले भने, ‘प्रधानमन्त्री छिमेकी मुलुक चीन जाँदै गर्ने क्रममा स्वाभाविक रूपले हाम्रो आशा हुनु स्वाभाविक हो । अहिले बाहिर जुन मिडियामा आइरहेका कुराहरू छन्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लिएको ऋण मिनाहा गर्नुपर्छ भन्ने कुरा प्राथमिकतामा आउनुपर्छ, त्यो सरकारले प्राथमिकतामा राखेको छ भन्ने कुराको चर्चा पनि छ । तर यो प्राथमिकतामा पर्नु हुँदैन । हामी र हाम्रो डिप्लोमेसी र परराष्ट्र मन्त्रालय र हाम्रो के ल्याकिङ छ, अर्को प्रायोरिटीमा हामी कन्फ्युज छौँ । हाम्रो प्रायोरिटी जहिले पनि कन्फ्युज हुन्छ । यो दुई कुरामा तालमेल मिल्नुपर्ने हो, त्यो मिलिरहेको छैन । हामी जुन किसिमको फोकस र होमवर्क हुनुपर्ने हो, त्यो भइरहेको छैन जस्तो देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप