बढदो अर्थतन्त्रको आकार अनुपातमा राजस्व संकलन हुन सकेन– अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन् । शनिवार राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर सङ्कलनका लागि कर प्रशासनलाई निर्देशन दिए।
कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ । करको दायरा विस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताए ।
उनले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यावसायिक सङ्गठन तथा कार्य विशिष्टीकरणको लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिए । यसैगरी सूचना प्रविधिको प्रयोगमा विस्तार एवं सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन निर्देशन समेत दिए ।
सङ्घीयताले आर्थिक केन्द्रहरू बिस्तार, खर्चका युनिटहरू एवं आर्थिक गतिविधिहरू विस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गएको उनको भनाइ छ । ‘तर सो अनुपातमा जसरी राजस्व सङ्कलन बढ्नुपर्ने हो सो अनुरूप बढ्न सकेको छैन,’ अर्थमन्त्री पौडेलले भने, ‘जिम्मेवार र जवाफदेही हिसाबले राजस्व सङ्कलनमा केन्द्रित हुन आग्रह गर्न चाहन्छु ।’
जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरूको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन नसकेको उल्लेख गरे । बक्यौता असुली, बेरुजु फर्छ्यौट, आन्तरिक तथा प्रशासकीय पुनरावलोकनको प्रगति लगायतमा लक्ष्य अनुरूप नभएकाले कार्य सम्पादन स्तरमा थप सुधार ल्याउन समेत उनले निर्देशन दिए ।
स्रोत व्यवस्थापनको हिसाबले अहिले असामान्य अवस्थामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस्तो अवस्थामा सामान्य हिसाबले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सक्ने अवस्था नरहेको बताए । उनले राजस्व लक्ष्य हासिल गर्न, कार्यसम्पादन सूचक अनुरूपको प्रगति हासिल गरी विभागीय जिम्मेवारी पूरा गर्न समान लक्ष्य लिएर कार्य सम्पादनमा लाग्न जरुरी रहेको बताए ।
‘सरकारप्रति नागरिकको अपेक्षा बढ्दो छ। सामाजिक सुरक्षा, विकास निर्माण, सङ्घीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका खर्चहरूले स्रोतमाथिको दबाब बढेको छ । विश्व अर्थतन्त्र पनि पछिल्लो समय दबाबमै रहेको हुँदा बाह्य सहायता परिचालनमा उल्लेख्य सुधार हुन सकेको छैन । सार्वजनिक ऋण सेवा खर्च बढ्दो छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यस्तो अवस्थामा आन्तरिक स्रोत परिचालन प्रभावकारी बनाउनु हाम्रा लागि अनिवार्य रहेकोतर्फ विशेष ध्यानाकर्षण गरी जिम्मेवार ढङ्गले कार्य सम्पादनमा लाग्न आग्रह गर्न चाहन्छु।’
साथै उनले निजी क्षेत्रलाई कर सहभागिता बढाई विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्ने सरकारको अभियानमा अपेक्षित भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।
‘पहिलो कर अधिकृत करदाता स्वयं आफैँ हो । तसर्थ कानुन बमोजिम लाग्ने कर आफैँ गणना गरी दाखिला गर्ने स्वयंकर निर्धारण प्रणालीको प्रभावकारिता बढाउन योगदान गर्नोस्,’ अर्थमन्त्रीले भने, ‘यसले कर प्रशासनको मात्र होइन करदाता स्वयंको समेत लागतमा कमी आउँछ । आर्थिक र व्यवसायिक गतिविधिमा पारदर्शिता ल्याई प्रतिस्पर्धालाई समेत प्रवर्धन गर्दछ।’
उत्साहजनक र स्वेच्छिक रूपमा कर सहभागिता बढाउन करदाता र कर प्रशासन दुवै उत्तिकै जिम्मेवार हिसाबले लाग्न जरुरी रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीको एक मोबाइल पसलमा आगलागी
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था कमजोर, कालोसूचीमा पर्ने सम्भावना
-
अनमोल र आँचल उत्कृष्ट अभिनेता अभिनेत्री, फिल्ममा ‘पुजार सार्की’
-
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण
-
उपकुलपतिको ढोका अगाडि ३५ बुँदे मागसहित १२ दिनदेखि धर्ना
-
अघि बढ्यो विद्युत् विधेयक, संसदीय समितिमा आइतबारदेखि छलफल