कल्पना चिलुवालका तीन कविता

१) चुल्ठो
एउटा
आदिम चुल्ठो छ मसँग
मानव सभ्यताले बाटिदिएको
रीतिरिवाजले कोरिदिएको
आफ्नै शिरमा लर्किरहने
नारी हुनुको परिचय बोकेको
गजबको केशपास
समयको तेलारीबाट
तेल घसेर
चुल्ठो फुकाई
युद्धमा होम्न
काली बनाइएको चुल्ठो
स्वार्थ पूजनमा
लक्ष्मी, सरस्वती बनाई
सोह्र शृङ्गारले सजाइएको चुल्ठो
एउटा इच्छाधारी चुल्ठो
कहिले साङ्लो बनाई
घरभित्रै दासी बनाइएको चुल्ठो
जो छ मसँग अझै
फरिया र चोलोसँग मिलाइने
शिरफूल र शिरबन्दीले सजाइने चुल्ठो
केश शृङ्गारका
आधुनिक साजसज्जाले नछोएको
एउटा पुरातन चुल्ठो
एउटा
आदिम चुल्ठो छ मसँग
इतिहासलाई
प्रत्येक केस्रा–केस्रामा कस्दै बाटेको
जीवनको गाथा बोल्ने चुल्ठो
हजुरआमाका भोगाइहरू
नातिनीमा नवीकरण गर्न
बाटिने चुल्ठो
कहिले
बादल र झरनाको उपमा दिएर
प्रेमीले प्रशंसा गरेको चुल्ठो
कहिले
बोक्सीको झाँक्रोमा
रूपान्तरित गरेर
दुत्कारिएको चुल्ठो
एउटा पुरानो शैलीको
चुल्ठो छ मसँग
आफैँले कोर्न नपाएको
आफैँले सम्याउन नपाएको
सदियौँपूर्व अरूले बाटिदिएको
कुसंस्कारको कुवामा पखाल्दा–पखाल्दा
मैलिएर लट्टिएको
आफ्नै शिरलाई भारी–भारी लाग्ने
एउटा
आदिम चुल्ठो छ मसँग
मबाटै मुक्ति खोजिरहेको ।
२) भान्छाघर
भान्छाघरबाट युगौँदेखि
आइरहेछ महिलाको गन्ध
भान्छाघरबाट उठ्ने धुवाँ
खानाको बाफ
सबैमा छ महिलाको गन्ध
अघाएपछि निस्कने ढ्याउमा
बस्, पुरुषको गन्ध छ
चामलमा पानी नापिरहेका आँखा
तरकारी केलाइरहेका हात
नुन–चिनी अड्कलिरहेका औँला
सानी बालिका वा जागिरे युवती
बुढी आमा वा दीर्घरोगी श्रीमतीका हुन्छन्
पिठ्युँमा नानी बोकेर
भाँडा माझ्ने हात पनि
महिलाकै हुन्
पुछिँदै गरेको डाइनिङ टेबल
ल्याइँदै गरेको पानीको गाग्री
माझिँदै गरेका जुठा भाँडाकुँडा
सबैमा नारी हात छन्
नारी हातबाट भरिएका खानाका थालहरू
एकोहोरो
पुरुष हातबाट रित्त्याइएका छन्
तन्मयपूर्वक खाना पकाइसकेपछि
नारीले पहिलो गाँस खाने पहिलो हक पनि
पुरुष थालमा पस्किएपछि
कामचोर पुरुष
सुँघिबस्छ आधापेट शरीरबाट निस्कने
आँसु र पसिनाले लछप्पै भिजेको
भान्छाघरबाट निस्कने
महिलाको गन्ध
नपत्याए सुँघ्नुहोस्
भान्छाघरको कुनाबाट
वर्षौंदेखि हेरिरहेको
प्रत्यक्षदर्शी कुचोले पनि
बढारेपिच्छे
उडाइरहेछ भान्छाघरबाट
एउटा साक्षीको बयानजस्तै
महिलाको गन्ध
यस बखत
भान्छाघरले खोजिरहेको छ
फरक हातको फरक स्पर्श
जहाँबाट निस्कियोस्
नारी–पुरुष दुवैको सन्तुलित गन्ध ।
३) सांस्कृतिक सत्ता
सांस्कृतिक सत्ताको विधानमा लेखिएको छ
पाप र धर्मका संहिताहरू
धार्मिक उन्मादका ताडनाहरू
के गरे खुल्छ स्वर्गको ढोका
केले पुर्याउँछ नर्कको द्वार
तर्जुमा गरिएका छन् सबैसबै
धर्मशास्त्रहरूमा
बडो दयापूर्वक
प्रबन्ध पनि गरिएको छ
अपवित्र ठहर गरिएका नारीहरूलाई
पवित्र पार्ने
तीज र स्वस्थानीका
धार्मिक अनुष्ठानहरू
पाप निवारणका
शनि, मंगल वा कुनै दिनका
निर्जला र निराहार
अनन्त उपवासहरू
यहाँबाट केही पर गएपछि
टाँगिएका देखिन्छन्
कला–साहित्यका खाँबोमा
चेलीका फाटेका चोलीहरू
सहरी मिनीस्कर्टहरू
लाग्छ—
नारी वस्त्रहरू
उसका राजकीय ध्वजा हुन्
नारी अङ्गहरू
उसका जङ्गी निसान हुन्
यस्तै झन्डा र विधान बोकेर
राज गरिरहेको छ
सांस्कृतिक सत्ता
सत्ता उल्टाउने
बागी योद्धाहरू
कहाँ–कहाँ निदाइरहेका छन् ?
राजनीतिक पार्टीहरूमा
सरकारी ओहोदाहरूमा
एनजीओका चिल्ला योजनाहरूमा
या ग्ल्यामर दुनियाँको भुलभुलैयामा
हरेक घरघरमा
या आफ्नै मनमनमा ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’