शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

सेतेको संसार–१

शनिबार, ०१ मङ्सिर २०८१, १४ : ००
शनिबार, ०१ मङ्सिर २०८१

बाटुलो, गहिरो कचौराजस्तो फिका नीलो आकाशको बिचमा झुन्डिएको सूर्य आगो ओकलिरहेको थियो । र, सूर्यको तेजले धप्प बलेको पृथ्वी तात्तातो सास फेरिरहेको थियो । धर्तीको सारा जीवन जलाएर खाक तुल्याउने खालको गर्मीमा मानिसहरू पिल्सिएका थिए । फूल खेलिरहेको कटहरको रुखको मिठो बास्ना सुँघ्दै दुई फिटजति अग्लो बेतको टुलमा बसेको थियो कुलप्रसाद ।

‘सेते,’ हुँक्काको गुड्गुड् निमेषभर रोक्दै कुलप्रसादले रवाफिलो स्वरमा डाक्यो । 

‘हँ !’ सेतेले झस्केर उसलाई पुलुक्क हेर्‍यो । उसले दाहिने हातले कोदालाको बिँड समात्योे र घुँडामुनिको कापमा बिँडको टेको लगायो । पिठ्युँमा तीन चिरा परेको र सातपत्र मयल जमेको उसको कमिज पसिनाले छालामै टाँसिएको थियो । टुप्पीदेखि बग्दै आएका पसिनाका धारा पिँडुलाका हरिया नसाबाट तल झर्दै थिए । देबे्र हातका चोर औँलाको अङ्कुसे बनाएर उसले निधारका पसिना सोहोर्‍यो । पसिना उसको देब्रे आँखातिर झर्‍यो र आँखो नराम्ररी पोल्योे । 

‘के हेर्छस् लाटाले केरा हेरेझैँ ?’

‘उखुम् भो बाजे, ज्यान डढेर भस्म भो ।’

‘ए... तँलाई पनि गर्मी भो ?’ कुलप्रसाद मुसुमुुसु हाँस्यो । 

सेतेले उसलाई मनमनै सराप्यो । 

काणझैँ बेगिँदै आएको चिलले सेते भएकोे ठाउँभन्दा बिस हातजति परबाट एउटा कुखुराको चल्लो टपक्क टिपेर लग्यो । डरले हंस उडेको कुखुराको बथान पखेटा फिँजाउँदै र भुइण्ण्मा लतारिँदै कोठेबारीको झ्यासतिर दगुर्‍यो ।

‘सेते,’ कुखुराको कोलाहल सुनेर झस्किँदै कुलप्रसाद करायो ।

‘हाम्रो बिस्सेस्वर आज बेलाइतमा बोलेछ । त्यल्ले उताका राजको समेत बल लिएर यता पर्जातन्त्र खोल्ने कुरा झिकेछ । पन्ध्र सालमा हामीले चुनेको नेता क्या, हाम्रो पर्धानमन्त्री ।’

‘चिलले चल्लो टिप्यो, बाजे ।’ आवेगरहित स्वरमा सेतेले जवाफ दियो । 

‘ज्या है !’ कुलप्रसाद थकथकायो । ‘के हेर्दैथिस् तँ ?’ कुले कुल्र्यो । 

‘म ?’ सेतेका ओठ यन्त्रवत् चले र प्याक्क मुख बाएर उसले कुलेलाई पुलुक्क हेर्‍योे । 

कुलप्रसादले चिलका जस्ता लालची आँखाले आकाशको सेरोफेरो नियाल्यो । अनि ऊ सेतेतिर सोझियो । ‘चाँडो खन्,’ उसले भन्यो, ‘भुसतिघ्रे मोरा ।’ 

‘मोरा’ भन्ने शब्दमा उसको स्वर बटारियो । सेतेले कमेजको फेरमा हत्केलो दल्दै पसिना पुछ्यो, कोदालाको बिँड अँठ्यायो र कोदालो मच्चाएर चाम्रो माटोमा बजार्‍यो । उसको लगौँटीको फुर्को हल्लियो र उसको मुखबाट करुण चीत्कार निस्क्यो । कुलेका आँखा कोदालोसँगै माथि उठे, कोदालोसँगै तल झरे । सेतेले बडेमाको चप्परी उक्कायो र लामो सुस्केरा हाल्यो ।

‘स्याबास् !’ कुलप्रसाद रमायोे । 

उसको उक्साइबाट सेते फुर्कियो र भकाभक खन्न थाल्यो । सास बढेर उसको फोक्सो फुट्लाफुट्ला जस्तो भयो । ऊ रोकियो र थुतुनो पसार्दै लामो सुस्केरा हालेर वायुमण्डलको रापमा उसले छातीको ताप पोख्यो । 

‘थाक्यो बरा !’ कुलप्रसादले चेभ्य्राइँ पार्दै भन्यो, ‘मेरो बहर गोरु थाक्यो ।’

सेतेले कुनै प्रतिक्रिया गरेन ।

‘लु, बल गर् ।’ कुलप्रसादले फेरि हौस्यायो । सेते मूर्तिझैँ निस्तेज भएर उभिइरह्यो । 

‘थाकेकै हो त मेरो बहर ?’ पुच्छर निमोठ्न खोजेझैँ गरी कुलेले हात पसार्‍योे । उसको हात सेतेका लगौँटीको फुर्को समात्न पुग्यो । करेन्ट लागेझैँ उसले हात पछिल्तिर खिच्यो र सेतेको लगौँटी उसको हातमा झुन्डियो । मानौँ हातमा नर्क लागेझैँ गरी उसले हात टकटक्यायो । सेतेले सरमले कालो–निलो हुँदै हत्केलाले लाज छोप्यो । कुलप्रसादले खित्का छाडेर हाँस्दा कटहरको रुखका भँगेराका बथान भुर्र उडे । 

‘बेइजती बुढा !’ कौसीमा उभिएकी कुलप्रसादकी थैलीले भनी । 

‘तँ त्याँ नकरा त ।’ आँखा तर्दै कुलप्रसादले डाँट्यो । काँणझैँ वेगिँदै आएको चिलले कुखुराको अर्को चल्लो टिप्यो । कुलप्रसादका चिलका जस्ता लालची आँखा चिलको पछिपछि उडे । 

००

चकमन्न रातमा काठे भर्‍याङका खुट्किलाबाट आवाज आयो— ढक्ढक्, ढक्ढक् । झिलिक्क बिजुली बत्ती बल्यो । भुइँतलाको भर्‍याङमुनि चर्पीको ढोकाअगाडि उत्तानो परेर लमतन्न सुतेको सेतेको जिउबाट लामखुट्टेको गोलो उड्यो । सेतेले प्याक्क मुख बाएकोे थियो, उसका ओठैभरि लामखुट्टे थिए । उसको नाङ्गो छाती सास फेराइको तालमा तल–माथि, तल–माथि उठ्दै र दब्दै थियो । उसका पिँडुलामा निला सुम्ला बसेको थिए, गाला सुन्निएर भुक्क उठेका थिए र आँखामा कचेरा लागेका थिए । कुलप्रसादले निमेषभर उसलाई भावहीन आँखाले हेर्‍योे अनि उसको छातीमाथि हलुका चालले दाहिने खुट्टो राख्यो । सेते पल्टिरह्यो— निश्चल, निस्तेज । 

‘सेते,’ कुलप्रसादले बोलायो । 

सेते बगरको मुढोझैँ पल्टिरह्यो । 

दुई हत्केलाले भर्‍याङको आड लिँदै खुट्टाको बुढीऔँलोले कुलप्रसादले सेतेको करङ उठेको छाती कोट्यायो । सेते झस्क्यो । उसले लामो सास फेर्‍यो र उसको दाहिने हत्केलो सुस्तरी छातीतिर सर्‍यो । कुलप्रसादले कुर्कुच्चाले सेतेको छातीमाथि ढक्ढक्, ढक्ढक् हिर्कायो । सेते उत्तानोबाट दाहिने कोल्टो पल्ट्योे र मुटुमा पिलिएको पीडा करुण स्वरमा उसको मुखबाट पोखियो । अहिले ऊ कुलप्रसादका टाँगामुनि थियो ।

‘मेरो बहर,’ मुलायम स्वरमा कुलप्रसादले भन्यो र चिम्टाले मुसो चेपेझैँ खुट्टाले सेतेको भुँडी चेप्यो ।

निद्राले लट्ठिएका आँखा खोल्दा सेतेका आँखामा बिजुलीको मुस्लो पस्यो र आँखा टट्टाए । आँखाअगाडि कुलप्रसादलाई देखेर ऊ त्यसैत्यसै जिल् पर्‍यो ।

‘हिजो मालिकले के कारनले तिम्लाई पिट्या हो ?’ विद्यार्थीले सोध्यो, ‘मान्छेले मान्छेलाई त्यसरी पिट्न मिल्छ ? सेतेले विद्यार्थीलाई यसरी हेर्‍यो मानौँ उसका सुन्निएका र टट्टाएका आँखाले भनिरहेका थिए, ‘नोकरले आधारातमै किन उठ्नुपर्छ तिमीलाई अझै थाहा छैन ?

‘ज्युँदै छस् ?’ 

‘उज्यालो भो, बाजे ?’ 

‘दुनियाँ उठिसके, तँलाई खबर दिन बाजा बजाउँदै आउँछ उज्यालो, गोरु ?’

सेते उठ्यो । उसले तीन चिरा पेरेको कुलप्रसादको जडाउरी कमेज भिर्‍योे, लगौँटी सुक्र्र्यो र ऊ बाहिर निस्क्यो । हातमा खरेटो लिएर मङ्गलेकी आमा अघि नै आँगन बढार्दै रहिछे । 

‘रात कति छ, काकी ?’ 

‘तारा बाक्लै छन् त ।’ मङ्गलेकी आमाले आकाशतिर आँखा उठाउँदै भनी, ‘आधा रात त टर्‍यो होला, हगि ? खै, भाले बास्या छैन्त ।’ 

सेतेले पिँडुला छाम्यो, गाला सुमसुम्यायो, कचेरा पुछ्यो र छाती थिच्यो । 

‘जिउ कस्तो छ ? सारै दुख्या होला, होइन ?’

सेतेले उदास आँखाले मङ्गलेकी आमालाई हेर्‍योे । मङ्गलेकी आमाले खस्रा हत्केलाले सेतेका सुनिएका गाला छामी, सुमसुम्याई । सेतेका नसा–नसामा न्याना तरङ्ग दगुरे र उसको घाइते मन पग्ल्यो ।

‘जेमराज,’ निलो बिजुली बत्तीको सुन्दर प्रकाशमा चम्केको कुलप्रसादको अग्लो महलको सिरान तलातिर आँखा उठाउँदै मङ्गलेकी आमाले भनी, ‘यस्तै चाल हो भने मार्छ तँलाई यल्ले । हेर् सेते, तँ भाग् याँबाट । भागेर जा कतै । यल्ले कतिजनाको ज्यान चुस्यो, यस छातीलाई था’ छ ।’ 

सेते घोस्से मुन्टो लगाएर उभिइरह्यो ।

‘तँ त मर्द होस् नि, सेते । चढ्दो बैँसको मर्द ।’ मङ्गलेकी आमाले आँट दिई, ‘तेरा पखेटा छन्, तेरा गोडा चल्छन् । म बुढी, मेरो ज्यान त एक दिन यै जेमराजका पाउमुनि ढल्छ ।’

कुलप्रसादले ख्वाक्क खोक्यो र सिरान तलाको झ्यालबाट मुन्टो बाहिर निकाल्यो । मङ्गलेकी आमा तर्सिंदै बढार्न थाली र दुःखेका पिँडुला घिसार्दै सेते घरको तल्लो सुरबाट पछिल्तिर लाग्यो । कटहरको बोटमुनि कलधारामा पुगेर ऊ उभियो । उसको मन खल्लो र रित्तो भएको थियो । उसले बेसुरमै कलधाराको टुटी चलायो । घरको दोस्रो तलाको कटहरको बोटतिर फर्केको झ्याल घुरुक्क उघ्रिँदा बिजुुलीको मुस्लो कोठेबारीको पल्लो छेउको बारसम्म फैलियो । तरकारी बारीको उजाड दृश्यले सेतेलाई हिजो बिहानको घटना सम्झायो र उसका आङभारी काँडा उम्रे । अस्ति राति लिँडे गोरुले दाम्लो छिनाएर कुलप्रसादको सागपात सखाप पारेछ । बिहान ऊ रिसले भष्मासुर भयो । सेतेलाई उसले कटहरको फेदमा पाता फर्काएर बाँध्यो र बिचेत हुने गरी भकुर्‍यो । 

‘बलियो गरी गोरु बाँध्नुपर्दैन, गोरु !’ कुलेले सेतेका पिँडुलामा लिँडे गोरुले छिनाएको दाम्लोले हिर्काउँदै भन्यो । 

‘बाँध्या थेँ, बाजे !’ सेतेले करुण स्वरमा सफाइ दियो ।

‘तैँले मेरो हजार रुपियाँको सागपात नाश गरिस् ।’ कुलप्रसादले सिंहझैँ गर्जिंदै भन्यो, ‘यो चुक्त्याउन म तँलाई पाँच वर्ष नजोती काँ छाडुँला र गोरु ।’

‘बाजे !’ निर्दोष आँखाले सेतेले कुलप्रसादका चिलका जस्ता आँखा हेर्‍यो । 

‘तेरो घाँटी कुलेको गोरु बाँध्ने किलो हो र त्यसको गोरु फुकेको तँलाई थाहा होस् ?’ राति सुत्ने बेलामा पिँडुला सुमसुम्याइदिँदै मङ्गलेकी आमाले भनेका वचन सेतेका कानमा अहिले गुनगुनाए— ‘एक पहर रात पनि चैनले सुत्न नपाउनु, त्यसका जेमराज !’ 

प्याट्प्याट् चप्पल पड्काउँदै डेरावाल विद्यार्र्थी काँधमा तौलिया बोकेर दाँत मल्दै धारामा आयो । उसले ड्रमबाट पानी उघायो र मुख धोयो । 

‘कति बजो, दाइ ?’

‘चार बजो ।’

‘थला पर्‍या मान्छे यति चाँडै किन उठ्या हँ ?’ 

सेतेले वाल्ल परेर विद्यार्थीलाई हेर्‍यो । 

‘हिजो मालिकले के कारनले तिम्लाई पिट्या हो ?’ विद्यार्थीले सोध्यो, ‘मान्छेले मान्छेलाई त्यसरी पिट्न मिल्छ ?

सेतेले विद्यार्थीलाई यसरी हेर्‍यो मानौँ उसका सुन्निएका र टट्टाएका आँखाले भनिरहेका थिए, ‘नोकरले आधारातमै किन उठ्नुपर्छ तिमीलाई अझै थाहा छैन ? मालिकले नोकरलाई किन पिट्छ, तिमीलाई अझै थाहा छैन ? तिम्रा कितापमा कतै यसको जवाफ लेख्या छैन ?’

अलिबेरपछि विद्यार्थीका कोठामा झ्याप्प बत्ती निभ्यो । पहिले मधुरो कल्याङकुलुङ सुनियो अनि चर्को खल्बली । 

‘रातरातभर बत्ती बाल्न पाइन्न । सस्तो धन कस्को छ हँ ?’ सिरान तलाबाट कुलप्रसाद कड्क्यो ।

‘सित्तैमा भिख माग्या कल्ले छ ?’ एउटा विद्यार्थीको रिसाहा स्वर सुनियो । ‘एक–एक थोपा पानीको मोल समेत हामीले तिर्‍या छौँ ।’

‘घुर्की नलाओ । मन लागे बस, नलागे जाओ ।’

‘खुसी लागे बसिन्छ, नलागे गइन्छ ।’

‘स्विच खोल् ।’ अर्को विद्यार्थीको राँकिएको स्वर सेतेले सुन्यो । नत्र भत्काइदिन्छु तेरो घर ।’

त्यसपछि खल्बली यसरी बढ्योे, सेतेले कुरो केही बुझेन । 

‘नोकरलाई झैँ तह लाउन खोज्या होलास्, स्सिमा... ’ 

वातावरण अलि शान्त भयो र सेते कुरो खुट्याउन थाल्यो । 

‘मेरा घराँ डेरा बस्छ, अझ मालिकको जस्तो घमण्ड । ए रात्तै !’

सेतेले काठमा मुड्की ठोकेजस्तो आवाज सुन्यो । ढोकाझैँ केही चिज डङ्रङ्ग लड्योे अनि माटाको गाग्री फुटेजस्तो आवाज आयो । सेतेले सिरानतलातिर कान थाप्यो— लौ, त्यहाँ त अहिले सुनसान छ । कुलप्रसादको सासै त निभाइदिएन कतै ! भर्‍याङका खुट्किलाबाट गुड्दै केही चिज जोडले तल खस्यो— डङ्डङ्, डङ्डङ् । प्रहारको तोडले झ्याल उघिँ्रदा झ्यालको चुकुल भुइँमा ढुङ्गामाथि बजारियो— टिङ्रिङ्ग । 

बत्ती आयो र कोठेबारीको पल्लो छेउसम्म फेरि प्रकाश फैलियो । 

‘नोकरलाई झैँ हेप्ने, साला ।’ एउटा विद्यार्थीले दारा किट्दै रिस पोख्यो । 

आश्चार्यचकित आँखाले सिरान तलो ताक्दै सेतेले मनमनैै कुरा खेलायोे— लौ जिते, विद्यार्थीले पो जिते ! 

जितबाजीको भावनाबाट ऊ एकतमासले उत्तेजित भयो । उसको मनमा अनौठो उत्साह जाग्यो । यो लडाइँको अन्तरकुन्तरमा कतै आफ्नो जीवनको आशा लुकेको पो होला कि भनी ऊ कल्पियो । आगो जोरेर उसले भैँसीलाई कुँडो बसाल्यो र हातमा बालुवा लिएर मुन्टो हल्लाउँदै ऊ फूर्तिसाथ भाँडा मस्काउन थाल्यो । गोदाममुनि सुतेका चार–पाँचजना नोकर–चाकर उठे र कल्याङकुलुङ सुरु भयो । 

आकाश धुम्म परेको थियो र बेमौसमको जाडो थियो । बेलुका भात खाइसकेर कुलप्रसाद चुलामा हात सेक्दै, तमाखु तान्दै र रेडियोमा खबर सुन्दै पिरामा बस्योे । मकलमा हात सेक्दै थैली गलैँचामा गोडा पसारेर चुरोट टोड्क्याउन थाली । सेतेले भाँडा माझिसक्यो, चुलाको मुख रातो माटोले लिप्यो । र, अहिले ऊ जाडाले स्युस्यु काम्दै ढोकाबाहिर बसेको छ । 

‘जाडो भो, बाबु ?’ थैलीले चिप्लो स्वरमा भनी, ‘ला, ठुटो खा ।’ उसले सेतेतिर चुरोटको ठुटो फाली । ‘यो चुरोटलाई कति पर्छ था‘छ तँलाई ? पैँतिस पैसा । आध्धै बाँकी छ । खा, आँत तातो पार् ।’ 

थैली बोल्न थालेपछि उसको कुरो कहीँ टुङ्गिदैन । ऊ लेग्रो तान्न जान्दछे, चेभ्य्राइँ पार्न जान्दछे, फुक्र्याउन जान्दछे, खिसिट्युरी गर्न जान्दछे । ‘यस्तो घर, यस्ता मालिक–मालिक्नी तँ कहाँ पाउँछस्, सेते ? पाएँ भनेर मात्तिनु हुँदैन, बाबै । कुमतिमा लाग्नु हुँदैन । आफूले मासु खाए मासु, दुध खाए दुध, चुरोट खाए चुरोट, तँलाई क्यै कुरामा छुट्याको छैन । तँ भने मुखमुखै लाग्छस्, काम ठग्छस्, हामी बुढाबुढीलाई हेलाँ गर्छस् ।’

सेतेलाई थैलीको पुरान सुन्दासुन्दै वाक्क लाग्यो । उसले त्यही मुखबाट तिनै कुरा सयौँपल्ट सुनिसकेको थियो । फोक्सोभरि धुवाँ भरिने गरी उसले स्वाट्ट चुरोटको ठुटो तान्यो अनि असन्तोषको धुवाँ फुस्स उडायो । अर्को सर्को तान्न खोज्दा जिब्राको टुप्पो पोल्योे । 

‘सुनिस् बुढी ?’ कुलप्रसादले उत्साहित हुँदै भन्यो । 

‘के रे ?’ फतफताइरहेकी थैलीले सोधी । 

‘हाम्रो बिस्सेस्वर आज बेलाइतमा बोलेछ । त्यल्ले उताका राजको समेत बल लिएर यता पर्जातन्त्र खोल्ने कुरा झिकेछ ।’

‘को हो त्यो ?’

‘नेता क्या, हाम्रो नेता ।’ उसले मुख मिठ्याउँदै भन्यो, ‘पन्ध्र सालमा हामीले चुनेको नेता क्या, हाम्रो पर्धानमन्त्री ।’

थैलीले पोइका कुरामा एकरत्ति चाख लिइन । कुलप्रसाद भने एकोहोरो बोल्दै गयो, ‘बाहुनीका कोखाँ बिरै जन्मेछ त्यो । जेलनेल, फाँसी क्यैले मार्न सकेन त्यल्लाई । छोरो भनेको त त्यस्तो पो होस् । उसका एक्कै आँतका साथी कतिले गोली खाए, कति माटामा बिलाए । तर घाँटीमा बेरिइसकेको पासोबाट फुत्केर ऊ त्याँ पुगिसक्यो । कत्रो चालबाजी, कत्रो अक्किल ! त्यल्ले संसारै एकाहोर्‍याइसक्यो । ल्याउँछ एक्लै भए पनि त्यल्ले पर्जातन्त्र । हो, नल्याइ छाड्दैन । अनि फिर्छन् हाम्रा दिन ।’ 

कुलप्रसाद रेडियो कानैमा टाँसेर खबर सुन्दै तलामाथि गयो । 

‘सेते, यता आ बा, ‘थैलीले मिठो बोलीमा भनी । ‘याँ बस् । मकलमा यसो हात सेका । मेरा गोडामा चिल्लो पनि लाइदे । कर्करी खा’छ । हे हरि ! पापै रहेछ यो बुढेसकाल भनेको ।’

सेते अन्कनाउँदै गलैँचाको छेउमा पिरामा बस्योे । 

‘तेल छ बा त्याँ बटुकाँ । हातभरि ठेला उठ्या होलान्, बरा ! चिल्लो ला, मेरा गोडा पनि एकछिन मिचिदे ।’

मरेको मुख लाएर सेतेले हातमा तेल लगायो । थैलीले फरिया घुँडामाथि सोहोरी । 

‘अलि माथिसम्म मिच्न, मोरा ।’

सेतेले अटेर गर्‍यो । थैलीको थल्थले मासु छुँदा उसलाई दिगमिग लाग्यो । सिनो छोएजस्तो, सिनै मुसारेजस्तो । 

‘म तेरी बज्यै बराबर हुँ । राम्ररी मिचिदे, माथिसम्म ।’ 

सेतेको आङ सिरिङ भयो र उसको छाती लाज, कुतकुती र घृणाले भरियो । 

‘माथिसम्म मिच् भन्या अझ जान लागिस् ?’ थैलीको डाको छुट्यो । 

‘भो, सक्दिनँ । आफ्ना पिँडुला कल्ले मिचिदेओस् ?’

थैली गाली गर्दै कराउन थाली । सेते सुन्या नसुन्यै फटाफट बाहिर निस्क्यो । 

सेते अनेकथरी काम गर्छ । बडारकुँडार गर्छ, घाँसपात गर्छ, गोबर सोहोर्छ, सागपातका फेदमा कुखुराको सुली हाल्छ, पानी ओसार्छ, भाँडा माझ्छ । सबै काम गर्न, सबै बुहार्तन खप्न, उसलाई बानी परेको छ, तर थैलीका थल्थले गोडा मल्ने कुरा उठ्यो कि उसको जाँगर मरेर आउँछ र सारा थिचोमिचोको सागरबाट उठेको दुःखले उसलाई भाउन्न पार्छ । थैलीका गोडा छोयो कि उसलाई आफ्नो आत्माले मुन्टो टेकेजस्तो लाग्छ र ऊ छट्पटाउँदै, मुुटु चिराचिरा पार्ने गाली खाँदै बाहिरतिर दगुर्छ ।

‘ए गोरु ! गोडा मल्न आउँछस् कि म त्यहीँ आऊँ तेरो ढाड सेकाउन ।’ 

‘आउँदिनँ ।’ सेतेले ओठे जवाफ दियो । 

अनि सुरु भयो थैलीको गालीगलौजको अन्तहीन पुराण । 

(बाँकी पछि)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप