सबैभन्दा बढी उमेरसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यी चार हस्ती
काठमाडौँ । हरेक खेलमा खेलाडीको उमेर र शारीरिक तन्दुरुस्तीले ठुलो अर्थ राख्छ । त्यसमाथि पनि क्रिकेट खेलमा त खेलाडीको उमेर र शारीरिक अवस्थाले झनै ठुलो अर्थ राख्छ । अझ निरन्तर पाँच दिनसम्म टेस्ट क्रिकेट खेल्न त खेलाडी झनै तन्दुरुस्त हुन आवश्यक छ ।
त्यसैले उमेर बढ्दै गएपछि खेलाडीले सक्रिय खेल जीवनबाट सन्न्यास लिन्छन् र युवा खेलाडीलाई टोलीमा अवसर प्रदान गर्छन् । उदाहरणका लागि इङ्ल्यान्डका तीव्र गतिका प्रभावशाली बलर जेम्स एन्डर्सनले ४० वर्ष पार गर्नासाथ उनको सन्न्यासको चर्चा सुरु भएको थियो ।
त्यो उमेरमा पनि उनले गजबको प्रदर्शन गरिरहेका थिए । तर, सन्न्यासको चर्चा गर्ने अधिकांशले उनको प्रदर्शनभन्दा पनि उमेरलाई केन्द्रमा राखेका थिए । उनी अहिले उमेरले ४२ वर्ष पुगिसकेका छन् र गत जुलाईमा उनले वेस्ट इन्डिजविरुद्ध टेस्ट पनि खेलेका थिए ।
आखिर क्रिकेट खेलाडीले कुन उमेरसम्म खेल जीवनलाई निरन्तरता दिन सक्छन् त ? यसको सटिक जवाफ सायदै कसैसँग होला । न त अन्तर्राष्ट्रिय क्रिकेटमा यससम्बन्धी कुनै नियम नै बनेको छ । सामान्यतः अधिकांश खेलाडीले ५० वर्षअघि नै सक्रिय खेल जीवनबाट सन्न्यास लिने गरेको पाइन्छ ।
सक्रिय खेल जीवनबाट सन्न्यास लिने निर्णय सम्बन्धित खेलाडीमा भर पर्ने कुरा हो । केही हदसम्म सम्बन्धित राष्ट्रको क्रिकेट बोर्डको पनि यसमा अप्रत्यक्ष भूमिका रहन्छ । यहाँ ५० वर्षभन्दा बढी उमेरमा टेस्ट क्रिकेट खेल्ने केही खेलाडीको बारेमा चर्चा गरिएको छ ।
- विल्फ्रेड रोड्स (५२ वर्ष १६५ दिन)
आफ्नो समयका चर्चित क्रिकेट खेलाडी थिए, विल्फ्रेड रोड्स । इङ्ल्यान्डका यी खेलाडी आफ्नो समयका प्रभावशाली अलराउन्डर थिए । उनले इङ्ल्यान्डका लागि ५८ टेस्ट खेल्दै कुल दुई हजार तीन सय २५ रन बनाएका थिए ।
उनले टेस्ट क्रिकेटमा दुई शतक र ११ वटा अर्धशतक पनि प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा उनले बनाएको उच्च स्कोर एक सय ७९ रन हो । उनले टेस्ट क्रिकेटमा एक सय २७ विकेट पनि लिएका थिए । उनको समयमा टेस्ट क्रिकेट ६ दिनसम्म खेलिन्थ्यो ।
सबैभन्दा बढी उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने विश्व कीर्तिमान पनि विल्फ्रेड रोड्सै नाममा छ । उनको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । उनले ५२ वर्षको उमेरसम्म टेस्ट क्रिकेट खेलेका थिए ।
सन् १९३० को अप्रिल ३ देखि १२ तारिखसम्म किङ्सटनमा उनले वेस्ट इन्डिजविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । त्यो टेस्टको अन्तिम दिन उनको उमेर ५२ वर्ष एक सय ६५ दिन थियो । उनले आफ्नो खेल जीवनको पहिलो टेस्ट भने सन् १८९९ को जुनमा अस्ट्रेलियाविरुद्ध खेलेका थिए ।
उनी सबैभन्दा लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडी पनि हुन् । उनले ३० वर्ष तीन सय १५ दिनसम्म निरन्तर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन् १९७३ जुलाई ८ तारिखमा ९५ वर्षको उमेरमा उनको निधन भएको थियो ।
- बर्ट आयरनमोनगर (५० वर्ष ३२७ दिन)
उमेरले ५० वर्ष पुगिसक्दा पनि निरन्तर टेस्ट क्रिकेट खेल्ने अर्का खेलाडी बर्ट आयरनमोनगर हुन् । अस्ट्रेलियाका बर्ट आयरनमोनगर आफ्नो समयका प्रभावशाली बलिङ अलराउन्डर थिए । उनले अस्ट्रेलियाका लागि १४ टेस्ट खेलेका थिए ।
उनले टेस्ट क्रिकेटमा ७४ विकेट लिएका थिए । टेस्ट क्रिकेटको एक पालीमा उनले केवल २३ रन खर्चिएर सात विकेट लिएका थिए । यसका अतिरिक्त उनले प्रथम श्रेणीको क्रिकेटमा पनि ९६ खेल खेल्दै चार सय ६४ विकेट हात पारेका थिए ।
बर्ट आयरनमोनगरले सन् १९२८ को नोभेम्बरमा इङ्ल्यान्डविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो खेल जीवनको अन्तिम टेस्ट भने सन् १९३३ को फेब्रुअरी २३ देखि २८ तारिखसम्म सिड्नीमा इङ्ल्यान्डविरुद्ध खेलेका थिए ।
आफ्नो अन्तिम टेस्ट खेल्दा यी प्रभावशाली स्पिनरको उमेर ५० वर्ष तीन सय २७ दिन थियो । उनी सबैभन्दा बढी उमेरसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् । सन् १९७१ को मे ३१ तारिखमा ८९ वर्षको उमेरमा मेलबर्नमा उनको निधन भएको थियो ।
- विलियम गिल्बर्ट ग्रेस (५० वर्ष ३२० दिन)
विलियम गिल्बर्ट ग्रेस इङ्ल्यान्डका पूर्वक्रिकेटर हुन् । उनी आफ्नो समयका चर्चित ब्याटिङ अलराउन्डर थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा उनी ‘डक्टर डब्लूजी’ नामले पनि चर्चित थिए । उनले इङ्ल्यान्डका लागि टेस्ट क्रिकेट खेलेका थिए ।
विलियम गिल्बर्ट ग्रेसले २२ वटा टेस्टको ३६ पालीमा कुल एक हजार ९८ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनले दुई शतक र पाँचवटा अर्धशतक प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने एक सय ७० रन हो । उनले टेस्ट क्रिकेटमा नौ विकेट पनि लिएका थिए ।
यसका अतिरिक्त उनले आठ सय ७० प्रथम श्रेणीको क्रिकेटमा कुल ५४ हजार दुई सय ११ रन बनाएका थिए । प्रथम श्रेणीको क्रिकेटमा उनको उच्च स्कोर तीन सय ४४ रन हो । उनले प्रथम श्रेणीको क्रिकेटमा दुई हजार आठ सय नौ विकेट पनि लिएका थिए ।
विलियम गिल्बर्ट ग्रेसले सन् १८८० को सेप्टेम्बरमा दी ओभलमा अस्ट्रेलियाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले सन् १८९९ को जुनमा नटिङ्मघमा अस्ट्रेलियाविरुद्ध आफ्नो अन्तिम टेस्ट खेलेका थिए । त्यो टेस्टको अन्तिम दिन उनको उमेर ५० वर्ष तीन सय २० दिन पुगेको थियो ।
उनी सबैभन्दा बढी उमेरसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् । यसका अतिरिक्त उनी विश्व क्रिकेटको इतिहासमा सबैभन्दा बढी उमेरका कप्तान पनि हुन् । उनले ५० वर्ष तीन सय २० दिन उमेर हुँदा इङ्ल्यान्डको कप्तानको भूमिका निर्वाह गरेका थिए ।
विलियम गिल्बर्ट ग्रेस आफ्नो ‘डेब्यू’ टेस्टमै शतक बनाउने खेलाडी पनि हुन् । उनले अस्ट्रेलियाविरुद्धको ‘डेब्यू’ टेस्टमा एक सय ५२ रन बनाएका थिए । सन् १९१५ को अक्टोबर २३ तारिखमा ६७ वर्षको उमेरमा उनको निधन भएको थियो ।
- जर्ज गन (५० वर्ष ३०३ दिन)
जर्ज गन पनि इङ्ल्यान्डका पूर्वक्रिकेटर हुन् । उनी आफ्नो समयका निकै चर्चित आक्रामक ब्याट्सम्यान थिए । उनले इङ्ल्यान्डका लागि १५ वटा टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटको २९ पालीमा उनले कुल एक हजार एक सय २० रन बनाएका थिए ।
टेस्ट क्रिकेटमा उनले दुई शतक र सातवटा अर्धशतक प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने अविजित एक सय २२ रन हो । यसका अतिरिक्त उनले ६ सय ४२ वटा प्रथम श्रेणीको क्रिकेट पनि खेलेका थिए ।
प्रथम श्रेणीको क्रिकेटमा भने उनले ३५ हजार दुई सय आठ रन बनाएका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा ६६ विकेट पनि लिएका थिए । उनले सन् १९०७ को डिसेम्बरमा अस्ट्रेलियाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
यसैगरी, उनले सन् १९३० को अप्रिलमा वेस्ट इन्डिजविरुद्ध उनले अन्तिम टेस्ट खेलेका थिए । त्यो टेस्टको अन्तिम दिन उनको उमेर ५० वर्ष तीन सय तीन दिन पुगेको थियो । त्यसैले उनी सबैभन्दा बढी उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीको सूचिमा चौथो स्थानमा आसीन छन् ।
जर्ज गन आफ्नो टेस्ट क्रिकेटको आफ्नो ‘डेब्यू’ खेलमै शतक बनाउने निकै कम खेलाडीको सूचिभित्र पनि पर्छन् । उनले आफ्नो ‘डेब्यू’ खेलमा एक सय १९ रन बनाएका थिए । यसका अतिरिक्त उनी दुई टेस्टको बिचमा सबैभन्दा लामो समयसम्म अनुपस्थित रहने विश्वकै दोस्रो खेलाडी पनि हुन् ।
उनले सन् १९१२ को मार्च १ तारिखमा टेस्ट खेलेपछि एकैपटक सन् १९३० को जनवरी ११ तारिखमा अर्को टेस्ट खेलेका थिए । त्यसबिचमा उनले १७ वर्ष तीन सय १६ दिनसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । सन् १९५८ को जुन २९ तारिखमा ७९ वर्षको उमेरमा उनको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा
-
नेपाली र दक्षिण कोरियाली कविता वाचन
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उमाविका शिक्षक पक्राउ
-
१० बजे १० समाचार : देउवालाई ८० सांसद देखाएर फकाउने प्रचण्डको दाउ, सुदूरपश्चिममा एमालेलाई धक्का