बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
जीवनशैली

बढ्दो सम्बन्धविच्छेदमा ध्यान एक उपाय

शनिबार, ०१ मङ्सिर २०८१, ११ : ३४
शनिबार, ०१ मङ्सिर २०८१

‘केटो बिग्रियो अब यसलाई सपार्ने एउटै मात्र उपाय हो, विवाह ।’ 

‘छोरीको घुमफिर बढ्यो । हुर्केकी छोरी, ज्वाइँको खोजी गर्नुपर्ला ।’ 

‘केटाकेटीको पढाइ पनि सकियो । समयमै बिहेवारी गरिदियो भने गरिखान्छन् । आफूहरूलाई पनि आनन्द ।’

यी भनाइ नेपाली समाजका सामान्य सोचका प्रतिविम्ब हुन् । हाम्रो समाजमा सबै समस्याको समाधानका रुपमा विवाहलाई लिए पनि पछिल्लो समय सम्बन्धविच्देछ बढेको बताइन्छ । हतारमा बिहे गर्ने, अरुकै दबाबमा सन्तान जन्माउने र विचार नमिलेपछि सम्बन्धविच्छेद गर्ने परिपाटी बढेकै छ । 

विश्वमा हरेक एक हजार मानिसमा १.९ जनाको पारिवारिक सम्बन्धविच्छेद हुने तथ्यांक छ । विश्वमा सबैभन्दा बढी सम्बन्धविच्छेद मालदिभ्समा हुन्छ । अस्ट्रेलियन फ्यामिली लयर्सको तथ्यांक अनुसार मालदिभ्समा हरेक हजार जनसंख्यामा ५.५२ जनाले सम्बन्धविच्छेद गर्छन् । त्यस्तै, दोस्रो र तेस्रोमा कजाखस्तान र रुस पर्छन् । त्यहाँ क्रमशः प्रति हजार व्यक्तिमा ४.६ र ४.४ जनाले सम्बन्धविच्छेद गर्छन् । 

हाम्रा छिमेकीमध्ये चीनमा हजारमा ३.२ ले र भारतमा अत्यन्त न्यून अथवा हजारमा ०.१ ले मात्र सम्बन्धविच्छेद गर्छन् । 

नेपालमा त्यस्तो विश्वस्तरकै तथ्यांकमा पर्ने गरी सम्बन्धविच्छेद त भएको छैन । तैपनि हाम्रो परिवेशमा ठुलै मानिन्छ । सर्वोच्च अदालतको तथ्यांक अनुसार गत वर्ष नेपालमा ४० हजार एक सय ८३ जोडीले पारिवारिक सम्बन्ध अन्त्य गरे । 

सामान्यतया नेपालमा सम्बन्धविच्छेदमा उति धेरै खर्च लाग्दैन, तर अंश दिनुपर्ने तथा सम्पत्ति बाँडफाँटको हिसाब राख्ने हो भने ठुलै धनराशि खर्च देखिन्छ । 

सम्बन्धविच्छेद व्यक्तिगत अधिकार हो, यसमा प्रश्न नै छैन तर सम्बन्धविच्छेदबाट सबैभन्दा बढी पिल्सिनेमा विच्छेदक जोडीका सन्तान पर्छन् । बाबुआमाको जुधाइमा यी कलिला बालबालिका बल मिच्याइँमा पर्छन् ।

विश्वको तथ्यांक अनुसार प्रतिजोडी प्रतिविच्छेद ११ हजार तीन सय अमेरिकी डलर खर्च देखिन्छ । यसमा अदालतको शुल्क तथा कानुन व्यवसायीले लिने सेवा शुल्क मात्र पर्छन् । सम्पत्ति बाँडफाँड र सन्तान भए तिनको लालनपालनको खर्च यसमा हिसाब गरिएको छैन । सामान्यतया अन्तर्राष्ट्रिय जगतमा सम्बन्धविच्छेद गराउने कानुन व्यवसायीको शुल्क दुई सय ७० डलर प्रतिघन्टा छ । सम्बन्धविच्छेद गर्नेहरूले एकापसमा सल्लाह गरेर वकिलको समय कम खर्चने तथा अन्य बाधा–व्यवधान खडा नगरी पाँच हजार डलरमा पनि काम सक्छन्, तर यसरी सस्तोमा सम्बन्ध समाप्त पार्नेको संख्या ४० प्रतिशत मात्र भएको तथ्यांक छ । परिवार मामिलाका कानुन व्यवसायीहरूको अध्ययन अनुसार बढी समय कुरा नमिल्दा सम्बन्धविच्छेद गर्नेहरूले २३ हजार डलरसम्म तिर्नुपरेको तथ्यांक छ । विश्वमा हाल सम्बन्धविच्छेदको अर्थतन्त्र ५० देखि सय अर्ब अमेरिकी डलर रहेको अनुमान छ । 

सम्बन्धविच्छेद व्यक्तिगत अधिकार हो, यसमा प्रश्न नै छैन तर सम्बन्धविच्छेदबाट सबैभन्दा बढी पिल्सिनेमा विच्छेदक जोडीका सन्तान पर्छन् । बाबुआमाको जुधाइमा यी कलिला बालबालिका बल मिच्याइँमा पर्छन् । 

यस्ता बालबालिका वयष्क भएपछि मानसिक समस्याबाट पीडित हुने अध्ययनले देखाएका छन् । अदालतले भरसक जिम्मेवारीपूर्ण ढंगले अघि बढ्न सहजकर्ताको भूमिका निर्वाह गर्दछ तर बाबुआमा सँगै हुनु र नहुनुमा फरक त परिहाल्छ ।

यस्ता बालबालिकामा अध्ययन गर्न मन नलाग्ने वा अध्ययनका लागि उपयुक्त आर्थिक स्रोतको कमी हुन्छ । अझ बिचबिचमा आइपर्ने कोभिडजस्ता महामारी, आर्थिक संकट आदिले यस्ता बालबालिकालाई असाध्यै सताउने अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयको समाजशास्त्र विभागकी प्राध्यापक डा. जेनी ई ब्रान्ड र उनका साथीले सन् २०१९ मा गरेको अध्ययनले देखाएको छ । 

यसैगरी यस्ता बालबालिकामा विश्वासको संकट रहने र पछि गएर उनीहरूको समेत पारिवारिक जीवन असफल हुने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । 

अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालयको जनस्वास्थ्य तथा चिकित्सा शिक्षा विभागका प्राध्यापक डा. उयोक ह्यान्सन र अन्य पाँच अध्येता मिलेर सन् २०२३ मा गरेको अर्को अध्ययनले सम्बन्धविच्छेद भएका बाबुआमाका सन्तानको पौष्टिक आहाराको कमी हुने हुनाले उनीहरूको सिक्ने तथा बुझ्ने क्षमतामै कमी आउने तथ्य पत्ता लागेको छ । 

यसैगरी डेनमार्कको आलबोर विश्वविद्यालयस्थित स्वास्थ्य विज्ञान तथा प्रविधि विभागकी प्राध्यापक डा.आमान्डा एन रासमुसेन र अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयस्थित मानसिक स्वास्थ्य विभागका प्राध्यापक डा. निकोला जे रिभलीको समूहका पाँच अध्येताले सन् २००१ देखि २०२१ बिच बाबुआमाको सम्बन्धविच्छेदका कारण बालबालिकामा परेको असरबारे अध्ययन गरेका थिए । यस अध्ययनले मनोवैज्ञानिक असरकै कारण यस्ता बालबालिका वयष्क भएपछि पनि समाजमा स्थापित हुन कठिन पर्ने देखाएको थियो । 

हाँसीखुसी मिलेर बस्नका लागि जोइपोईले छलफल गर्ने, काममा साझेदारी गर्ने, सहयोगी भावप्रकट गर्नुपर्ने, सम्बन्धमा इमानदार हुनुपर्ने, एकापसमा छलफल र अन्तक्र्रियाबाट समस्याको समाधान गरिनुपर्ने, सकारात्मक सोच विकास गर्नुपर्ने जस्ता उपाय अपनाइन्छ । हालसम्म खास महत्त्व नदिइएको तर निकै प्रभावकारी माध्यम ध्यान हुन सक्छ ।

  • ध्यानले कसरी सम्बन्धविच्छेद घटाउँछ ?

ध्यानले मानिसमा उत्पन्न गर्ने पहिलो गुण हो, सचेतना अथवा माइन्डफुलनेस । 

सचेतनाले हामीलाई आफ्नो बारेमा मात्र नभई परिवारका सदस्य खासगरी पति–पत्नी बिचमा समेत असल सम्बन्ध विकास गर्ने तथा एकापसमा मेलमिलापको वातावरण सिर्जना गर्ने तथ्य अमेरिकाको मियामी विश्व विद्यालयकी न्युरोसाइन्टिस्ट डा. अमिसी झाले बताएकी छन् । उनी आफैँ माइन्डफुलनेस सिकाउँछन् । 

न्युयोर्क विश्वविद्यालयको न्युरोसाइन्स विभागकी प्राध्यापक डा. युलिया सी बासो र उनका साथीहरूले मिलेर गरेको एक अध्ययनले ध्यानले संवेग व्यवस्थापनमा सहयोग गर्ने हुनाले परिवारमा द्वन्द्व सिर्जना हुँदैन भन्ने देखाएको छ । 

अर्का अध्येता डा. क्रिस्टेन नेफका विचारमा ध्यानले संवेग व्यवस्थापनमा सहयोग गर्ने हुनाले तनावपूर्ण अवस्थामा पनि मानिस झट्ट अप्रिय निर्णय गर्नबाट टाढा रहन्छ । 

ध्यानका कारण मानिसको शरीर शिथिल अवस्थामा जान्छ । यसले शरीरलाई गहिरो आराम दिन्छ र शरीरमा ‘कर्टिसल’ नामक ग्रन्थीको बहाव कम पार्छ । यही ग्रन्थीले मानिसमा चिन्ता पैदा गर्ने हो, त्यसैले ध्यान गर्नेहरू कम चिन्तित हुन्छन् । 

नर्थ क्यारोलिना विश्वविद्यालयकी प्राध्यापक डा. फ्रेड्रिक्सन बारबरा ‘लभिङ काइन्डनेस’ नामक ध्यानको अभ्यास गर्नाले परिवारमा एक किसिमको मिलन–गाँठो कसिने बताउँछिन् । उनी पनि ध्यान तथा सकारात्मक संवेगकी अध्येता हुन् । उनले प्रतिपादन गरेको ‘ब्रोडन एन्ड बिल्ड थ्यौरी अफ् इमोसन्स’लाई निकै महत्त्वका साथ हेरिन्छ । 

क्यालिफोर्निया विश्वविद्यालयको एसर सेन्टर फर इन्टिग्रेटिभ मेडिसिनका अध्येता डा. लारिसा जी डङ्कन तथा उनका साथीहरूले गरेको अर्को अध्ययनले माइन्डफुलनेस मेडिटेसन गर्ने जोडीहरू एकापसमा गहिरो सम्बन्धमा रहने देखाएको थियो । 

अर्का अध्येता डा. जोन्सन गटम्यानका अनुसार माइन्डफुलनेसका अभ्यासकर्ताले सम्भाव्य संकट समाधानका लागि मिलेर काम गर्छन् । उनीहरूको पारिवारिक सम्बन्ध असल हुन्छ । यस्तो परिवारमा सितिमिती सम्बन्धविच्छेद हुँदैन । 

माथि उल्लिखित अध्येताका अनुसार विभिन्न किसिमका ध्यानले मस्तिष्कमा विभिन्न किसिमको प्रभाव पार्छन् । ध्यान त्यसमा पनि खासगरी ‘लभिङ काइन्डनेस मेडिटेसन’ले मानिसको दिमागको ‘एन्टेरियर इन्सुला’ र ‘मेडियल प्रिफ्रन्टल कर्टेक्स’ भनिने भागमा प्रभाव पार्दछ । ती भागले सहानुभूति तथा संवेग व्यवस्थापनमा काम गर्छन् । त्यसैले यस्तो ध्यान अभ्यास गर्ने परिवारका सदस्य खासगरी जोडीहरू असल सम्बन्ध विकासमा पोख्त बन्छन् । 

यसैगरी ‘मेडियल प्रिफ्रन्टल कर्टेक्स’ले नै संवेग व्यवस्थापन, झ्वाँक नियन्त्रण तथा चुस्त निर्णय क्षमता विकासमा भूमिका खेल्छ । नियमित ध्यान गर्नाले यस किसिमको गुण पैदा हुन्छ । 

ध्यानका कारण मानिसको शरीर शिथिल अवस्थामा जान्छ । यसले शरीरलाई गहिरो आराम दिन्छ र शरीरमा ‘कर्टिसल’ नामक ग्रन्थीको बहाव कम पार्छ । यही ग्रन्थीले मानिसमा चिन्ता पैदा गर्ने हो, त्यसैले ध्यान गर्नेहरू कम चिन्तित हुन्छन् । 

नियमित ध्यान गर्नाले मानिसको चेतना विकास भई वस्तुगत तथा पूर्वाग्रह नराखी निर्णय गर्ने क्षमता विकास गर्छ । यसै गरी ध्यानले मानिसमा सन्कीपन घटाउँछ । झनक्क झन्किने क्रम घट्नासाथ परिवारमा शान्ति छाउँछ । अरूप्रति करुणाभाव विकास हुनाले मानिसलाई बढी सकारात्मक बनाउँछ । यसबाट अरुको कुरा सुन्ने बानी विकास गर्छ र यसबाट परिवारमा थप मिलनसार वातावरण तयार हुन्छ । 

एउटा कुरा बुझ्नुपर्र्छ, ध्यान धर्म होइन, अध्यात्म मात्र पनि होइन । हाल पश्चिमा देशहरूको ६० देखि ९० प्रतिशत चिकित्साशास्त्रको पाठ्यक्रममा ध्यानलाई समावेश गरिएको छ । अमेरिकामा ९० प्रतिशत, बेलायतमा ६० प्रतिशत र ब्राजिलका ४० प्रतिशत चिकित्सा पाठ्यक्रममा ध्यानलाई समावेश गरिएको अध्ययनहरूले देखाएका छन् । 

हाम्रोतिर जस्तो ध्यान गराएर गुरु बन्ने र खुट्टा ढोगाउने, आफूलाई अद्भुत व्यक्तित्वका रूपमा स्थापित गर्न खोज्ने जस्ता कुरा पश्चिममा महत्त्व पाउँदैनन् । 

ध्यान गर्नका लागि यस्तो खानुपर्छ, उस्तो पोसाक लगाउनुपर्छ भन्ने पनि उनीहरूका नजरमा हावादारी हुन् । त्यसैले नेदरल्यान्ड्सको कार्डिफ विश्वविद्यालय तथा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा त ध्यानलाई गैररहस्यको विषय बनाउने अथवा डिमिस्टिफाइङ मेडिटेसन भन्ने पाठ्यक्रम नै पढाइ हुन्छ । 

उता मासु खानेले पनि ध्यान गर्छ, रक्सी खानेले पनि गर्छ, खाँदै गर्नु मात्र भएन । ध्यानका लागि खास आसनमा बस्नुपर्छ भन्ने छैन । सोफामा बसेर पनि गर्न सकिन्छ तर ढाड भने सिधा राख्नुपर्छ, बस्दा होस् वा सुतेर ध्यान गर्दा होस् । गेरु वस्त्र नै लगाउनुपर्छ भन्ने छैन, सजिलो लुगामा गर्न सकिन्छ । खानपान तथा रहनसहनसँग ध्यानको कुनै सम्बन्ध हुँदैन । यसलाई अध्यात्मिक भन्दा पनि मानसिक अभ्यासका रूपमा लिइन्छ । कसैलाई आध्यात्मिक अभ्यासका रूपमा गर्नुपर्‍यो भने पनि कसैले विरोध गर्दैन । 

ध्यानका लागि खासै लामो समय लाग्दैन । दैनिक १३ देखि २१ मिनेट गरे पुग्छ भनिन्छ । सामान्यतया बढीमा आधा घन्टा अभ्यास गर्नु असल मानिन्छ । भरसक सधैँ उही समयमा गर्नु उचित मानिन्छ । समय आफूलाई फुर्सद भएअनुसार मिलाए पुग्छ । 

त्यसैले ध्यान एउटा सामान्य मानसिक करसत मात्र हो भन्ने बुझ्नुपर्छ । 

यति बुझेपछि आउनुहोस् हामी पनि परिवारमा सकारात्मक सन्देश दिने छोटो अभ्यास गरौँ ः 

१) परिवारका सबै सदस्य अट्ने शान्त ठाउँमा बसौँ ।

२) गोलाकारमा बस्न पनि सकिन्छ । ठाउँको कमी भएजस्तो बसाइ भए पनि हुन्छ ।

३) बिस्तारै आँखा बन्द गरौँ । आँखामा कुनै बल प्रयाग नगरौँ । हल्का रूपमा सहज रूपमा बन्द गरौँ । 

४) यो ध्यान अवधिभर आँखा बन्द रहनुपर्छ । यदि खोलिन्छ कि भन्ने आशंका भए पट्टी बाँध्न आवश्यक छ । 

५) लामो श्वास लिएर फोक्सो भर्नै र त्यस सासलाई एकछिन रोकेर राखौँ ।

६) त्यसपछि  बिस्तारै सास छाडौँ । सास नाकबाट लिने र मुखबाट छाड्नुपर्र्छ । छोड्दा पनि पूरै सास छाडौँ । यसबाट शरीरमा अक्सिजनको मात्रा बढ्छ र ध्यानमा जान सजिलो पर्दछ । 

७) हरेकपटक सास लिँदा साससँगै शान्ति र खुसीलाई आमन्त्रण गरौँ र सासबाहिर फाल्दा शरीरबाट कुण्ठा तथा तनाव बाहिर गएको कल्पना गरौँ । 

८) ध्यान गर्दा सासमै ध्यान केन्द्रित गर्न आवश्यक छ । यसका लागि सास भित्र आउँदा नाकका पोरामा परेको असर, सास फोक्सोमा गएको अवस्था आदिमा ध्यान केन्द्रित गर्नुपर्छ ।

९) याद गरौँ, ध्यान भनेको विचारमुक्ति होइन, बिनापूर्वाग्रह विचारको अवलोकन मात्र गर्नु हो । 

१०) मष्तिष्कमा अनेकन विचार आउँछन्, यसमा चिन्ता नलिउँ, भरसक ती विचारलाई हेर्ने प्रयास गरौँ ।

११) विचारको पछि लागेको जानकारी पाउना साथ फेरि सासमा ध्यान केन्द्रित गरौँ ।

१२) बिस्तारै परिवारका हरेक सदस्यलाई समेटेर प्रेमको इन्द्रेणी जस्तो सर्कल बन्दै गएको अनुभव गरौँ । 

१३) बिस्तारै त्यो प्रकाशपुञ्ज हाम्रो सासमा समाहित भएको महसुस गरौँ ।

१४) परिवारका सबै सदस्यको सासमा पनि प्रेमरूपी प्रकाश समाहित भएको महसुस गरौँ ।

१५) बिस्तारै सो प्रकाशपुञ्ज आफू तथा परिवारका हरेक सदस्यको हृदयमा प्रवेश गरेको अनुभव गरौँ । 

१६) हामीबिच अगाध प्रेम छ भन्ने वाक्यांश दोहोर्‍याउँ । यसलाई फुर्सद अनुसार कसमे कम तीनदेखि सय डेढ सय छोटी दोहोर्‍याउँ ।

१७) यदि मुखले बोल्दा संकोच लागे मनमनै भने पनि हुन्छ तर शब्दमै भन्दा बढी प्रभाव पार्दछ । आँखा बन्द भएकाले कसैले कसैलाई देख्दैन ।

१८) बिस्तारै परिवारका हरेक सदस्यको मुहारमा मुस्कान र प्रेमाभाव विस्तार भएको अनुभूत गरौँ । अर्को वाक्यांश दोहोर्‍याउँ ः हाम्रो परिवारमा प्रेमभाव विकास भएकामा म खुसी छु । हामी यस भावलाई एकापसमा मिलेर ग्रहण गर्दछौँ । यसलाई पनि फुर्सद अनुसार सय डेढ सय पटक दोहोर्याउँ । 

१९) ध्यान सासमै केन्द्रित राखौँ ।

२०) दुई–चारपटक लामो सास लिउँ ।

२१) ध्यान समाप्त गर्न मन लागे बिस्तारै आँखा खोलौँ ।

२२) आँखा खोलेपछि एकापसमा ध्यान गर्दा भएको अनुभव साटासाट गरौँ । अन्तक्र्र्रियाले हामीलाई थप ऊर्जा प्रदान गर्दछ । 

(यस गाइड लाइनलाई तपाईं आफ्नै बोलीमा मोबाइलमा रेकर्ड गरी बजाएर ध्यान गर्न सक्नुहुनेछ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप