कोप–२९ मा सांसद शाक्य: बढी मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले असरको क्षतिपूर्ति दिनुपर्छ
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले बढ्दो हरितगृह ग्याँसको उत्सर्जनलगायतका कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नु परेको भन्दै यसको क्षतिपूर्ति पाउनु पर्ने प्रस्ताव राखेकी छिन् ।
अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) ‘न्यायसङ्गत र समतामूलक ऊर्जा सङ्क्रमणका लागि रूपान्तरणात्मक विधायी’ बहसमा आफ्ना धारणा राख्दै डाक्टर शाक्यले यस्तो प्रस्ताव राखेकी हुन् ।
उनले जीवाश्म इन्धन निर्भरता घटाउने र जीवाश्म मुक्त भविष्यका लागि समतापूर्ण ऊर्जा पहुँच सुनिश्चित गर्नेतर्फ विश्व समुदायको ध्यान केन्द्रित हुनुपर्नेमा पनि जोड दिइन्। मानव सिर्जित समस्या प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणलगायतले जलवायु परिवर्तनमा भूमिका खेलेको र त्यसले प्राकृतिक प्रकोपका साथै जलवायुजन्य विपद्ले मानव जीवनमा गम्भीर असर गरिरहेको पनि उनले उल्लेख गरिन् ।
‘अधिक उत्पादन गर्ने देशहरूले औधाेगिक क्रान्ति कालदेखि नै वायुमण्डललाई प्रदूषण गर्दै आएका छन्,’ उनले भनिन्, ‘नेपालले हरित हाइड्रोजन र नवीकरणीय ऊर्जामा आफूलाई बढी केन्द्रित हुनुपर्ने मुद्दा नेपालले उठान गरेको छ । प्रदूषण गर्ने सुचीमा नेपाल धेरै तल रहे पनि नेपालले अरू मुलुकहरूभन्दा द्रुत गतिमा क्षति व्यहोर्नु परिरहेको छ ।’
डाक्टर शाक्यले चाँदी झैँ टलक्क टल्कने नेपालका सेता हिमाल काला पत्थरमा परिणत हुँदै गएको भन्दै जलवायु परिवर्तनको असरका कारण नेपालका हिमाल उराठलाग्दो बन्न थालेको र यसले समग्र र जलवायुजन्य विपद्का कारण बसाइसराइ बढ्दै गएकामा चिन्ता व्यक्त गरिन् । ‘चाँदी झैँ टलक्क टल्कने नेपालका सेता हिमाल काला पत्थरमा परिणत हुनुमा हाम्रो दोष छैन, यसमा धनी मुलुकहरू नै जिम्मेवार छन्,’ उनले प्रश्न गरिन्, ‘ठूलाठूला उद्योग भएका देशहरूले गरेको कार्बन उत्सर्जनका कारण हामी कहिले हिम पहिरोको सिकार हुनुपरेको छ भने कहिले भारी वर्षाले ल्याउने विपद्बाट तर्सिरहनु पर्ने अवस्था छ । सुख्खाका कारण उत्पादन घटिरहेको छ । हामीले नगरेको गल्ती कहिलेसम्म भोगिरहने ?’
नेपालले हरियाली प्रवर्द्धन गर्दै जाने अनि ठुला र सम्पन्न मुलुकहरूले उद्योग सञ्चालनका नाममा कार्बन उत्सर्जन गर्दै जाने हो भने न्यायसङ्गत र समतामूलक नहुनेमा पनि उनले जोड दिइन् । उनले केही महिना पहिला नेपालले जलवायु परिवर्तनका कारण हिम पहिरोको समस्या झेल्नु परेको र ठुलो विपद्को सामना गर्नुपरेको कुरालाई स्मरण गराउँदै जलवायु परिवर्तन गराउन मुख्य भूमिका खेल्ने मुलुकहरूबाट ‘जलवायु वित्त’ को माग पनि गरिन् । ‘नेपालले भोगिरहेको हानी नोक्सानीको क्षतिपूर्ति बढी मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले दिनुपर्छ,’ उनले भनिन् । बहसमा नेपालसँगै इजिप्ट, बोलिभिया, युगान्डा, कोलम्बिया, क्यानडा, केन्यालगायतका देशका सांसद र सो क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण छ : सभामुख घिमिरे
-
स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन
-
लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
-
विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो
-
सबैभन्दा बढी उमेरसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यी चार हस्ती
-
मणिपुर हिंसा : जिरिबाममा एक महिला र २ बालबालिकाको शव फेला