शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय
फोटो फिचर

जलवायु वित्तको माग गर्दै काठमाडौँमा र्‍याली (तस्बिरहरू)

शनिबार, ०१ मङ्सिर २०८१, १० : २५
शनिबार, ०१ मङ्सिर २०८१

काठमाडौँ । जलवायु वित्तको माग गर्दै काठमाडौँसहित नेपालका विभिन्न १६ सहरमा मानिसहरू सडकमा उत्रिएका छन् । जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति, साना किसान, आदिवासी र स्थानीय समुदायले विश्वव्यापी रूपमा अजरबैजानको बाकुमा जारी कोप–२९ को समर्थनमा सडकमा र्‍याली गरेका हुन् ।

यो र्‍यालीले वैश्विक उत्तर (ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ) प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ । शनिवार बिहान आयोजना गरिएको र्‍याली काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्क सम्म पुगेर समापन भएको छ । र्‍यालीको क्रममा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो । काठमाडौँका अलावा चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगन्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ । 

जलवायु अभियन्ता विख्यात खत्रीले भने–'आज, हामी नेपाल जस्तो जलवायु सङ्कटबाट सबैभन्दा प्रभावित हुने देशहरूको न्यायको माग गर्दै र ग्लोबल नर्थको दोहोरो चरित्रको विरोधमा उभिएका छौँ। हामीले ग्लोबल नर्थको अपराधको सजाय भोग्दै छौँ तसर्थ ग्लोबल नर्थले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई स्विकार्नुपर्छ र आफ्नो जलवायु वित्तको कर्तव्य पूरा गर्नुपर्छ। हामीले गम्भीर प्रभावहरूको सामना गरिरहेकाले अब खाली आश्वासनले चित्त बुझाउने समय छैन। आफूले खाँदै नखाएको विष लागेर हाम्रो भविष्य धरापमा जाँदै छ तसर्थ औद्योगिक राष्ट्रहरूले नै जलवायु वित्त मार्फत यसको क्षतिपूर्ति गर्ने दायित्व वहन गर्नुपर्छ। हाम्रो तात्कालिक क्रियाकलापमा नै हाम्रो भविष्य निर्भर गर्दछ, र हामी हाम्रो आवाज सुनाउने र न्यायपूर्ण जलवायु वित्तको लागि हाम्रो माग पूरा नभएसम्म विश्राम गर्ने छैनौँ।'

औद्योगिक देशले ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर छ त्यो चुकाउनु पर्ने माग र्‍यालीका सहभागीहरूले गरेका छन् । उनीहरुले अहिलेको यो अभियान भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता भएको र विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्यूनीकरण गर्ने दाबी गरेका छन् ।

cop birod (2)

जागरण नेपालका आभूषण खड्काले भने–'हाम्रो क्रियाकलाप जलवायु न्यायलाई प्राथमिकता दिने उद्देश्यमा केन्द्रित छ। जलवायु सङ्कटको सामना गर्नका लागि उचित, निष्पक्ष, र पारदर्शी ढङ्गले जलवायु वित्तको वितरण गर्नुपर्छ। हामी कोप २९ मा उपस्थित विश्व नेताहरूलाई स्पष्ट सन्देश दिन चाहन्छौँ– हामी उनीहरूको प्रत्येक कदमलाई हेरिरहेका छौँ, र हामी जलवायु परिवर्तनमा उनीहरूको प्रतिज्ञा र क्रियाकलापको जबाफदेहिता सुनिश्चित गर्न हरेक चरणमा आवाज उठाउने छौँ। विश्वको नजर उनीहरूमाथि छ, र हामी पारदर्शिता, सत्यनिष्ठा, र यो वैश्विक सङ्कटको समाधानमा निर्णायक कार्यको माग गर्दछौँ।'

र्‍यालीले निम्नलिखित प्रमुख मागहरू गरेको छ :

● जलवायु वित्तलाई ऋणको रूपमा होइन, अनुदानको रूपमा प्रदान गर्नुपर्छ।

● जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्छ। 

● औद्योगिक राष्ट्रहरूले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बनाउनुपर्छ।

● अनुदान समयमै र विश्वसनीय हुनु आवश्यक छ।

● कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्छ।

● जलवायु वित्तले समुदाय केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्छ, जसले पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्छ।

cop birod (3)cop birod (4)cop birod (5)cop birod (6)cop birod (7)cop birod (8)cop birod (9)cop birod (10)cop birod (11)cop birod (12)cop birod (13)cop birod (14)cop birod (15)cop birod (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप