अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन् ।
कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गरेका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिए । गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो ।
मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई हाल बेलायतमा रहेका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी सहयोग गरेका छन् ।
“पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको थियो”, उनले भने, “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौँ ।” रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको गुरुङले जानकारी दिए ।
यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लबको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको अगुवाइमा कात्तिक पहिलो हप्ता सरसफाइ गरिएको थियो ।
अष्टेलियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यस शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।
अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधिमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजा, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा