बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

पुनर्निर्माणका लागि रोशीले गर्‍यो बजेट संशोधन

शनिबार, ०१ मङ्सिर २०८१, ०७ : ३२
शनिबार, ०१ मङ्सिर २०८१

मकवानपुर । काभ्रेको रोशी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेट कार्यक्रम संशोधन गरेको छ । असोज महिनाको विपदबाट अति प्रभावित रोशीको विशेष  गाउँसभाले  पुनर्निर्माण र पुनर्स्थापनाका बजेट कार्यक्रम संशोधन प्रस्ताव पारित गरेको हो ।

रोशीले चालू आर्थिक वर्ष २०८१–०८२ का लागि ६९ करोड २० लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेट कार्यान्वयनको चरणमा रहेको रोशीले विपद् पुनः निर्माणका लागि बजेट संशोधन गरेर ६५ करोड ७७ लाख ९८ हजार कायम गरेको हो ।

चालू आर्थिक वर्षको बजेट संशोधनका लागि गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबाले गाउँसभामा बजेट संशोधन प्रस्ताव पेस गरेका थिए । उनले पेस गरेको प्रस्ताव माथि कार्यपालिका सदस्यहरूले छलफल गरेका थिए। 

गत असोजमा आएको बाढी र पहिरोका कारण राजस्व सङ्कलन सङ्कुचित हुने र धेरै संरचनामा क्षति भएपछि बजेट संशोधन गरिएको हो । रोशीले संशोधित बजेटमा क्षति भएका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेको उपाध्यक्ष वाईबाले बताए । 

गत असोजमा आएको बाढी पहिरोका कारण रोशीमा १२ जनाको मृत्यु भएको थियो । ५०४ घरधुरीहरू पूर्ण रूपमा क्षति भएको थियो हुने ९११ घरधुरीहरू उच्च जोखिम तथा आंशिक क्षति भएको रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले जानकारी दिए । उनका अनुसार बाढी पहिरोले रोशीमा २ हजार ५४४ घरधुरीको खेत बारी बगाउनुका साथै पालिकाका विभिन्न गौरवका योजनाहरू पूर्ण रूपमा क्षति भएको छ । 

बाढीले रोशी–१ फलामे साँघुमा निर्माणाधीन १० शय्याको अस्पताल, औद्योगिक ग्राम, वडा नम्बर ११ कालढुंगास्थित बिपी राजमार्गको छेवैमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालय पूर्ण रूपमा क्षति भएको उनले बताए। रोशीमा निर्माण भएका ३ वटै खेल मैदानमा क्षति पुगेकाले यसले खेल क्षेत्रलाई समेत असर गरेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप