फास्ट बलर रामोन सिमण्ड्स लुम्बिनी लायन्समा आबद्ध
काठमाडौँ । लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमण्ड्सलाई टिममा ल्याएको छ । सिमण्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौथो विदेशी खेलाडी हुन् ।
बायाँ हाते पेसरको रूपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेष गरी उनले आईसीसी यू–१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए । दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी लुम्बिनीका लागि महत्त्वपूर्ण खेलाडी हुनेछन् ।
लुम्बिनी लायन्समा सामेल हुन पाउँदा आफ्नो उत्साह व्यक्त गर्दै सिमण्ड्सले भने, ‘नेपाल प्रिमियर लिगको यो पहिलो सिजनमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करियरको एक रोमाञ्चक अध्याय हो । नेपालीहरूको क्रिकेटप्रतिको उत्साहको बारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो ऊर्जा हेर्न आतुर छु ।’
नेपाल प्रिमियर लिग २०२४ आगामी मङ्सिर १५ मा सुरु भई पुस ६ गतेसम्म चल्नेछ ।