सञ्जु र तिलकको शतकमा भारतको कीर्तिमानी जित
जोहानसबर्ग । चौथो तथा अन्तिम टी–२० मा भारतले दक्षिण अफ्रिकामाथि शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा भारत १ सय ३५ रनको विशाल अन्तरले विजयी बनेको हो । योसँगै भारतले ४ खेलको शृङ्खला ३–१ ले जितेको छ ।
भारतले प्रस्तुत गरेको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका १८.२ ओभरमा मात्र १ सय ४८ रनमा सीमित बन्यो । टोलीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रनको योगदान दिए । उनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, डेभिड मिलरले ३६ रन तथा मार्को यानसेनले नटआउट रहँदै २९ रन बनाए । जेराल्ड कोट्जीले १२ रन बनाउन बाहेक अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि अर्शदीप सिंहले ३ ओभर बलिङ गर्दै २० रन खर्चेर ३ विकेट लिए । वरुण चक्रवर्ती र अक्षर पटेलले २–२ विकेट तथा हार्दिक पाण्ड्या, रमनदीप सिंह र रवि विश्नोईले १–१ विकेट हात पारे ।
यसअघि, सञ्जु सामसन र तिलक वर्माको शतकको मद्दतले भारतले १ विकेटको क्षतिमा २ सय ८३ रन जोडेको थियो । पुरुष टी–२० अन्तर्राष्ट्रियमा यो पाँचौँ ठुलो स्कोर हो भने भारतले बनाएको सर्वाधिक दोस्रो ठुलो स्कोर पनि हो । गत महिना भारतले बंगलादेशविरुद्ध हैदराबादमा ६ विकेटको क्षतिमा २ सय ९७ रन बनाएको थियो ।
त्यस्तै, भारतले ३ पटक २ सय ५० वा सोभन्दा बढीको स्कोर बनाएको छ । पुरुष टी–२० अन्तर्राष्ट्रियमा यो पनि एउटा रेकर्ड हो ।
सञ्जुले मात्र ५६ बलमा १ सय ९ रन बनाए । उनले ६ चौका र ९ छक्का प्रहार गरे । उता, तिलकले ४७ बलमा १ सय २० रन बनाएका थिए । उनले ९ चौका र १० छक्का हिर्काए ।
दुवैले मिलेर दोस्रो विकेटका लागि २ सय १० रन जोडे । टी–२० अन्तर्राष्ट्रियमा भारतका लागि दोहोरो शतकको साझेदारी भएको पहिलो पटक हो । यसअघि, सबैभन्दा उच्च साझेदारी रोहित शर्मा र रिंकु सिंहबिच भएको थियो । दुवैले पाँचौँ विकेटका लागि १ सय ९० रन जोडेका थिए ।
अभिषेक शर्मा १८ बलमा ३६ रन बनाउँदै आउट भए । दक्षिण अफ्रिकाका लागि एक मात्र विकेट लुथो सिपाम्लाले लिए ।