आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'चाइना कार्ड' भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति' देखि 'डिजेल र मट्टितेलको मूल्यवृद्धि' सम्म

शनिबार, ०१ मङ्सिर २०८१, ०० : ००
शनिबार, ०१ मङ्सिर २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. डिजेल र मट्टितेलको मूल्य बढ्यो
डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

२. राज्य व्यवस्था समितिको बैठक
प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ र उनकै दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबिच सवाल जवाफ भयो । लामो समय पश्चात् समिति बैठकमा पुगेका सांसद तथा महामन्त्री शर्माले आफ्नै पार्टीबाट प्रतिनिधित्व गर्दै मन्त्री बनेका तामाङलाई प्रश्न गरेका थिए । महामन्त्री शर्माले तामाङले सञ्चालन गरेको ‘कान्छाराम कन्स्ट्रक्सन’ कालो सूचीमा परेको विषयमा प्रश्न उठाएका थिए ।

३. समाजवादबारे प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नभई जगबाटै उमार्नु पर्ने विषय भएको बताएका छन् । सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद नक्कल गर्ने विषय पनि नभएको बताए ।

यसैगरी ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण ‘चाइना कार्ड’ का रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकारले नेपालका दुवै छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्न परिपक्वता देखाउन नसकेको आरोप लगाएका हुन् ।

४. राष्ट्रिय विकास समस्या समाधान समिति
प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सिंहदरबारमा आज सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट पारेका हुन् ।

५. सर्वोच्चको फैसला
२०७२ सालको भूकम्पका समयमा भागेकी एक कैदीले पुरानो मुद्दामा उच्च अदालतबाट सफाइ पाइसकेको अवस्थामा कैदबाट भागेबापतको सजाय भोग्नु नपर्ने गरी सर्वोच्च अदालतले फैसला गरेको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ की कविता घिमिरेको हकमा सर्वोच्च अदालतले २०८० चैत २८ गते यस्तो फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको सो फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

 

६. बैंक ब्याजदर
मंसिर महिनामा पनि ब्याजदर घट्ने भएको छ । मंसिरका लागि प्रकाशित नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने बैंकको संख्या शुन्य छ । नयाँ महिनाका लागि प्रकाशित ब्याजदर तालिका अनुसार साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् । संस्थागत मुद्दती खाताको ब्याजदर त ३ प्रतिशत भन्दा कम समेत कायम गरिएको छ ।

७. राष्ट्रपति स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२९० मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसमभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखकले स्वागत गरे ।


८. विजुली निर्यात
नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको छ । शुक्रबार नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो ।

९. खेलकुद
आईइसीसी यु–१९ महिला टि– २० विश्वकप क्रिकेट टोलीमा छनोट हुने महिला टोलीलाई नेपाल प्रिमियर लिगमा सहभागी ८ वटा क्लबले टोलीले नगद पुरस्कार दिने घोषणा गरेका छन् । शुक्रबार एनपीएल आयोजक क्रिकेट संघ –क्यान)ले आयोजना गरेको कार्यक्रममा ८ वटा क्लबले महिला टोलीलाई १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हुन् । 

१०. धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको सकस
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका तीन उम्मेदवारलाई मंसिर ९ गतेका लागि अन्तर्वार्तामा बोलाएको छ । यसअघि असोज १८ गते बोलाइए पनि सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि अन्तर्वार्ता स्थगित भएको थियो ।

११. उपनिर्वाचन
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ ।
देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरू उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा गरिएको आयोगका  प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

१२. मापदण्ड विपरीतका कलेजमाथि शिक्षाको पहल
लामो समयदेखि नियम कानुनको बर्खिलाप सञ्चालनमा रहेका कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमनको प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि आइतबार उच्चस्तरीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बोलाइएको छ । सो बैठकले आवश्यक निर्णय गरेपछि मन्त्रालयले मापदण्ड विपरीतका कलेजहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप