मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल

शुक्रबार, ३० कात्तिक २०८१, २२ : ३८
शुक्रबार, ३० कात्तिक २०८१

-भीष्मराज ओझा

बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ ।

कोप–२९ सम्मेलनको पाँचौँ दिन आज कोपको अध्यक्ष मण्डलले आयोजना गरेको कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे ध्यानाकर्षण गराएको थियो ।

वन तथा वातवरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहभागी उक्त बैठकमा उनका तर्फबाट वन सचिव डा.दीपकुमार खरालले पर्वतीय क्षेत्रको महत्त्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामका बारेमा ध्यानाकर्षण गराएका थिए ।

सम्मेलनमा छलफलका लागि एजेन्डा तय गर्ने बारेमा कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दाबारे पहिलोपटक छलफल भएको हो । यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागिताका क्रममा हिमालमा परेको असरले तल्लो तटीय क्षेत्रमा पारेको असरबारे धारणा व्यक्त गरेका थिए ।

सो विषयलाई समेत आज विभिन्न देशहरूले उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गरेको बैठकमा सहभागी मन्त्री शाहीका जलवायु सल्लाहकार मन्जित ढकालले जानकारी दिए ।

नेपालले यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो । नेपालको उक्त प्रस्तावमा भुटान, तान्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए ।  यसैगरी वन मन्त्री शाही र संयुक्त अधिराज्य बेलायतका जलवायु परिवर्तनसम्बन्धी मन्त्री केरी एमसिक्याथ्रीबिच भेटवार्ता भएको छ ।

सम्मेलन स्थलमा कार्बन टेडसम्बन्धी कार्यक्रमपछि उनीहरूबिच भएको संक्षिप्त भेटवार्तामा मन्त्री शाहीले जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणमा सहयोगलगायत विषयमा धारणा राखेका थिए ।

मन्त्री शाहीले यसअघि उक्त कार्यक्रममा कार्बन व्यापार प्रवर्द्धनका लागि नेपाल सरकारले नीतिगत, कानुनी र संरचनागत सुधारको प्रयास गरिरहेको र वातावरण नियमावली संशोधन, ‘लिफ कोलिजन’ सम्झौता अन्तिम चरणमा रहेको बताउनुभएको नीतिविज्ञ प्रताप पौडेलले जानकारी गराए ।

कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बिच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गरेका थिए । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप