शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

लालझाडीमा एक महिनादेखि हात्तीको उपद्रो

शुक्रबार, ३० कात्तिक २०८१, २१ : ५१
शुक्रबार, ३० कात्तिक २०८१

कञ्चनपुर । लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ । साँझ नपर्दै हात्तीको बथान बस्तीमा छिरेर घर भत्काउने, घरभित्र राखेका अन्न, खेतमा लगाएको उखुबाली खाएर नोक्सानी पुर्याउन थालेकाले ज्यान जोगाउन समस्या भएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाको वडा नं ३ र ४ मा हात्तीको बथानले उखुबालीमा ठूलो क्षति पुर्याएको छ । एक महिनादेखि लालझाडी संरक्षण क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै समूहमा आउने हात्तीले क्षति पुर्याउन थालेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । “हात्तीको आक्रमणमा परेर एक जनाले ज्यान गुमाइसकेका छन् । स्थानीय बासिन्दाका आधा दर्जन बढी घर भत्काइदिएको छ, घरभित्र राखेको अन्न खाएर बिजोग बनाएको छ”, उनले भने ।

केही दिनअघि हात्तीले आक्रमणबाट स्थानीय रामदल रानाको ज्यान लिएपछि स्थानीय बासिन्दा भगाउनका लागि डराउने गरेका हुन् । एक महिनाको अवधिमा हात्तीको बथानले स्थानीय किसानको ८० बिघा बढी क्षेत्रफलमा लगाएको उखुबाली खाएर पूर्ण रूपमा क्षति पुर्याएको अध्यक्ष रानाको भनाइ छ ।

उनका अनुसार सिगलपट्टिमा तीन घर, दुई गोठ, पर्सियामा दुई घर, डुङ्गामा एक घर भत्काएर पूर्ण क्षतिग्रस्त बनाइदिएको छ । किसानले बैंकबाट कर्जा लिएर गरेको उखुबाली हात्ती सखाप पारेको उल्लेख गर्दै अध्यक्ष रानाले स्थानीयलाई जीउज्यान जोगाउन मुस्किल हुन थालेको बताए ।

गाउँपालिकाको वडा नं ३ का किसान खडक चौधरीले एक बिघा जग्गामा लगाएको पूरै उखुबाली हात्तीले नोक्सानी गरेपछि सहकारीबाट खेती गर्दा लिएको कर्जा तिर्न समस्या भएको बताए । 

हात्तीले लालझाडी संरक्षण क्षेत्रमा भर्खरै छावा (बच्चा) जन्माएकाले त्यो क्षेत्र छाडेर नजाने गरेको वडा नं ३ का अध्यक्ष टीकाराम चौधरीले बताए । उनका अनुसार दिउँसोपख बस्ती नजिकैको वनक्षेत्रमा रहने हात्ती साँझ नपर्दै उखुबारीमा पस्ने गरेका छन् । वडामा हालसम्म हात्तीको बथानले ३५ जना किसानको २० बिघा जग्गाको उखुबालीमा व्यापक नोक्सानी गरेको उनले बताए ।

वडा नं ४ का अध्यक्ष बहादुर राना स्थानीय बासिन्दाको घर, उखुबाली, तोरीबाली जोगाउन स्थानीय बासिन्दासँगै रातभर जाग्राम बसेर हात्ती भगाउने कार्यमा सङ्लग्न रहँदै आएको बताए । थप क्षति हुनबाट जोगाउन हात्ती नियन्त्रण गरी जीउधनको सुरक्षा गरिदिनका लागि उनले सुरक्षा निकायसँग अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप