‘गुरु गन्थ साहेव’ पाठ गरी मनाइयो गुरुनानक जयन्ती
काठमाडौँ । गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘सुकमणि साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ ।
त्यस अवसरमा ‘गुरु ग्रन्थ साहेव’का बारेमा विशेष प्रकाश पारिएको थियो । कार्यक्रममा चार सय ५० जनालाई भण्डारा गराइएको स्वामी गोकुलानन्दले जानकारी दिए । गुरु ग्रन्थ साहिबको अखण्ड पाठ एवं भोगप्रसाद पनि सम्पन्न भएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।
यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाआराधना गरिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज कुपण्डोलस्थित गुरुद्वारामा पनि पाठ पारायण एवं पूजाआराधना गरी मनाइएको छ ।
गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’को रचना गरेको थियो भने जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गराएको बताइन्छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गरेको र निर्गुण उपासनाका पक्षपाती उनी ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो भन्ने शिख समुदायले बताउने गरेका छन् ।